२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

३४ वर्षपछि कोसीले धार बदल्दा बस्ती जोखिममा

२०४५ सालको भूकम्पपछि धार परिवर्तन गर्दै कोसी पूर्व लागेपछि त्यहाँ बस्ती बस्न थाल्यो, अहिले कोसी पुरानै बाटोमा फर्कंदा तिनै बस्ती उच्च जोखिममा परे ।
उदयपुरमा २ हजार ५ सय परिवार विस्थापित । सप्तरीको गोबरगाढामा एक सय परिवार थुनिए । कोसी ब्यारेजका ५६ मध्ये ४६ ढोका खोलिए ।

उदयपुर, सप्तरी (हनुमाननगर) — दुई महिनायता पश्चिम धार कटान गर्दै आएको सप्तकोसी बुधबार उदयपुरको बेलका नगरपालिका–८ डुम्रिबोटेबाट तल्लो तटीय क्षेत्र पसेको छ । पहाडी क्षेत्रमा लगातारको वर्षासँगै कोसीमा आएको बाढीले कटान तीव्र भइरहेको हो । डुम्रिबोटेमा झन्डै ३ सय मिटर जमिन कटान गरी कोसी बस्ती पसेको छ । नगरपालिकाको १, २, ३, ८ र ९ तथा सुनसरी बराह क्षेत्रका ६ र ९ वडाका धौरीटापु, श्रीलंका टापु, भागलपुर, करैया, तपेश्वरीलगायत बस्ती जोखिममा परेका छन् । 

३४ वर्षपछि कोसीले धार बदल्दा बस्ती जोखिममा

डुम्रिबोटेमा कटान गरेर कोसी पुरानै धारमा बग्न थालेपछि सर्वसाधारण त्रासमा छन् । अहिले जहाँबाट कोसीको बाढी पसेको छ, २०४५ सालअघि सोही ठाउँबाट कोसी बग्थ्यो । २०४५ सालको भूकम्पपछि कोसी बिस्तारै धार परिवर्तन गर्दै पूर्वतर्फ लाग्यो । कोसी पूर्व फर्केपछि त्यहाँ २०५१ सालपछि बस्ती बस्न थाल्यो । अहिले कोसीले धार बदलेर पुरानै ठाउँमा आउँदा बस्ती प्रभावित भएका हुन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अस्थायी बाँध बाँधे पनि बाढीले कटान गरिरहेको छ ।

संघीय, प्रदेश र स्थानीय सरकारले कटान नियन्त्रणका लागि दुई महिनायता गरेको प्रयास सफल नहुँदा कोसी बस्तीतर्फ बढेको बेलका नगर प्रमुख अशोक कार्कीले बताए । कटान जारी रहेको र कोसीको मूल प्रभाव पनि पश्चिम (उदयपुरतर्फ) मोडिएकाले धेरै ठूलो जोखिम देखिएको उनको भनाइ छ । ‘अहिलेकै अवस्थामा कटान भइरहने र बहाव पूर्व मोडिएन भने पुरै कोसी नगरपालिकाको तल्लो क्षेत्र भएर बग्ने निश्चित छ,’ उनले भने, ‘नगरको तल्लो क्षेत्र कोसी बहाव क्षेत्रभन्दा होचो भएकाले उच्च जोखिम छ ।’

कार्कीका अनुसार बेलकामा २ हजार ५ सय घरपरिवारका २० हजारभन्दा बढी जनसंख्या विस्थापित भएका छन् । तीमध्ये १ हजार ८ सयको उद्धार गरिएको छ । श्रीलंका ३, ८ र ९ तथा सुनसरीको बराह क्षेत्र नगरपालिका ६ र ९ का परिवार विस्थापित भएका उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले बताए । ‘बुधबार रातिसम्म उद्धार कार्य जारी छ,’ उनले भने । उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीय खटिएका छन् । उद्धार गरिएकालाई उच्च स्थानमा रहेका विद्यालय, सामुदायिक भवन, मन्दिर तथा चर्चमा राख्ने तयारी छ । ‘अहिले नगरको ८ र ९ वडाको केही भाग साथै ३ नम्बर वडाको अधिकांश भाग डुबान भइसक्यो,’ नगर प्रमुख कार्कीले भने, ‘डुबान बढ्दै गएकाले प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा लगिरहेका छौं ।’ प्रभावित क्षेत्रका स्थानीय घरमा भएको खाद्यान्न, लत्ताकपडा र बस्तुभाउ लिएर सुरक्षित स्थानतर्फ गइरहेको वडा ३ का सदस्य फागुनी कार्कीले बताए । अहिलेकै अवस्थामा कोसी बहाव बढ्दै गए सप्तरीको सप्तकोसी नगरपालिकाका ६ र ७ वडामा समेत असर गर्ने सम्भावना रहेको नगरप्रमुख कृष्णप्रसाद ढकालको भनाइ छ ।

यसैबीच, प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले कोसीपीडितलाई राहत व्यवस्थापन गरिने बताए । ‘तत्काल जोखिममा परेका सर्वसाधारणको ज्यान बचाउने काम हुन्छ,’ स्थलगत अनुगमनमा आएका उनले भने, ‘बढी जोखिममा रहेका बस्तीलाई स्थानीय सरकार र प्रदेश सरकारको विपत् व्यवस्थापन समितिको संयुक्त प्रयासमा सुरक्षित स्थानमा सार्नेछौं ।’

गोबरगाढा बस्तीमा कटान

सप्तकोसीको बाढीले बुधबार हनुमाननगर कंकालिनी नगरपालिका–१३ स्थित गोबरगाढा बस्ती कटान गरेको छ । गोबरगाढाको सामुदायिक भवन बगाइसकेको छ भने स्थानीय अग्लो स्थानमा टहरा हालेर बसिरहेका छन् । बाढीले कोसीको मध्य भागमा रहेको यो बस्ती बर्सेनि डुबानमा पर्दै आएको छ । बुधबार गोबरगाढास्थित शारदा आधारभूत विद्यालय र स्वास्थ्य चौकी भवन कटान गरिरहेको वडाध्यक्ष कुशेश्वर यादवले बताए ।

बस्तीमा कटान सुरु भएपछि केही दिनअघिदेखि नै स्थानीयले थातथलो छाड्न सुरु गरेका थिए । वडाध्यक्ष कुशेश्वरका अनुसार गोबरगाढामा एक सय परिवारका ३ सय जनाभन्दा बढी छन् । कटानबाट जोगाउन स्थानीयले विद्यालय र स्वास्थ्य चौकीको छाना, झ्याल–ढोकालगायतका संरचना निकालेर थन्क्याएका छन् । ‘विद्यालय र स्वास्थ्य चौकी बग्ने निश्चित जस्तै भयो,’ वडाध्यक्ष यादवले भने, ‘छाना, झ्याल–ढोकालगायत खुल्ने सामान सुरक्षित स्थानमा सारेका छौं ।’ उनका अनुसार अहिले डुंगाको सहारामा पनि गोबरगाढा पुग्न सकिने स्थिति छैन । सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले गोबरगाढाको अवस्थाबारे निरन्तर जानकारी लिइरहेको बताए । ‘गोबरगाढामा कति मानिस छन् त्यसको यकिन भइरहेको छैन,’ उनले भने, ‘टापुबाट सार्नैपर्ने भए सुरक्षा निकायलाई तयार अवस्थामा राखेका छौं ।’

हनुमाननगर कंकालिनी नगरपालिकाका विपद् व्यवस्थापन अधिकृत अमितकुमार पाठकले गोबरगाढामा अवस्था असहज रहेकाले स्थानीयलाई सुरक्षित गर्नेतर्फ पहल सुरु गरिएको बताए ।

यसैबीच, पानीको बहाब बढेपछि कोसी ब्यारेजका ५६ मध्ये ४६ ढोका खोलिएका छन् । नदी बेलका नगरपालिकाको डुम्रिबोटेतर्फ सोझिए पनि ब्यारेजबाट पानीको बहाब कम भएको छैन । बुधबार राति ८ बजेको मापनअनुसार ब्यारेज भएर २ लाख ४३ हजार १ सय ८० क्युसेक प्रति सेकेन्डका दरले पानीको बहाब भइरहेको सप्तरीका प्रहरी प्रमुख एसपी अभिनारायण काफ्लेले बताए । उनका अनुसार जोखिम बढेपछि सप्तरीको सप्तकोसी र कञ्चनरूप नगरपालिकामा कोसी तटबन्ध छेउछाउ नजान र तटीय क्षेत्रमा बसोबास गरिरहेकालाई सतर्क रहन आग्रह गरिएको छ । ती क्षेत्रका प्रहरी युनिटलाई परिचालन गरी सूचना लिने काम भइरहेको उनले बताए ।

प्रकाशित : श्रावण १९, २०७९ ०७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?