कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

छुटेन मिटरब्याजको पासो

गाउँघरमा नगदको खनखाँचो टार्न लिएको ऋणलाई दोब्बर–तेब्बरको कागज गराउँदै ठगी
भरत जर्घामगर

सिरहा — रकमको लेनदेन बैंकिङ माध्यमबाट भए रेकर्ड हेर्न सजिलो हुन्छ । लेनदेनको मागदाबीमा को सक्कली र को नक्कली तुरुन्तै पत्ता लाग्छ । तर, नगदमा व्यवहार, तमसुकमा मनलाग्दी रकम उल्लेख गरेर हुने ठगीले सिरहाको ग्रामीण क्षेत्रका दलित र विपन्न परिवार आजित छन् ।

छुटेन मिटरब्याजको पासो

लेखपढ नजानेकाहरूको औंठाछाप लिएर गरिने कागज अदालतमा पेस गरेर साहु/महाजनले आफ्नै पक्ष बलियो बनाउँदा निमुखाको ओठमुख सुकेको छ । पूर्वपश्चिम राजमार्गमा पर्ने सिरहाको गोलबजारमा एक हूल मानिसहरूले प्रदर्शन गरे । गत आइतबार प्रदर्शन गर्नेहरू थिए मिटरब्याजबाट पीडितहरू । खनखाँचो टार्न वा व्यवहार मिलाउन स्थानीय साहु/महाजन वा मिटर ब्याजमा पैसा दिनेहरूको पासोमा परेकाहरूले सडकमै उत्रिएर प्रदर्शन गरेको यो पहिलो पटक भने होइन । गोलबजार क्षेत्रका पीडितहरूले मिटरब्याजीमाथि कारबाही गर्नुपर्ने भन्दै पटक–पटक प्रदर्शन गर्दै आएका छन् । उनीहरूले मिटरब्याजीलाई कारबाही, जफत सम्पत्ति फिर्ता, गरिबहरूलाई सहुलित दरमा बैंकबाट ऋणको व्यवस्था र न्यायको माग राख्दै आएका छन् ।

प्रदर्शनपछिको कोणसभामा सामाजिक अभियानकर्मी संघर्ष दाहालले मिटरब्याजबाट गरिब, निम्नमध्यम वर्गका सर्वसाधारण बढी पीडित भएको बताए । उनका अनुसार सामान्य घरव्यवहारका लागि लिएको ऋणको तीन दोब्बरको तमसुक बनाउँदा कयौं गरिब घरपरिवारको उठिबास भएको छ । प्रधानमन्त्रीले कारबाही गर्न निर्देशन दिँदासमेत स्थानीय प्रहरी–प्रशासनले मिटरब्याजीहरूकै पक्षमा नै वकालत गरेको आरोप पीडितहरूको छ । गोलबजारका सामाजिक अगुवा कर्मलाल महतोले एक लाख रुपैयाँ लिँदा १२ लाख रुपैयाँसम्मको कपली तमसुक बनाउने काम भइरहेको बताउँदै दलहरूले मिटरब्याजबाट पीडितहरूलाई राहत दिनुपर्ने बताए ।

कल्याणपुर–१० बङ्ठियाका सोएव मियाँले गर्जो टार्न २०७० तिर स्थानीय साहु रामकृपाल साहसँग ३० हजार रुपैयाँ ऋण लिए । २ वर्षसम्ममा ऋण चुक्ता गर्न सकेनन् । रामकृपालले ताकेता गरेर तनाव दिन थालेपछि उनले २०७२ साउन ५ मा भने अनुसार साँवाब्याज जोडेर २ लाख ५७ हजार ६ सय ८१ रुपैयाँ भएको भन्दै त्यसको तेब्बरको ७ लाख ७३ हजार ४३ रुपैयाँको नयाँ तमसुक बनाइदिए । त्यसको डेढ वर्षपछि २०७३ माघतिर सोएवले साहु रामकृपालले कर्जा चुक्ता हुन्छ भनेर मागेअनुसार ४ लाख रुपैयाँ दिए । तर, रामकृपालले तमसुक भने दिएनन् । मिर्चैयाका रामकृपालले फिर्ता नगरेको यही तमसुकलाई आधार मानेर उनीमाथि जिल्ला अदालतमा मुद्दा दायर गरे । जसमा उनले ७ लाख ७३ हजार ४३ रुपैयाँको ब्याजसहित १२ लाख ८१ हजार ७ सय ४८ रुपैयाँ तिर्नुपर्ने कुरा उल्लेख छ ।

सिरहामा मिटर ब्याजको पासोमा पर्ने सोएव जस्ता दर्जनौं छन् । विपन्न र निरक्षर समुदायका धेरैजसोलाई स्थानीय साहु/महाजनले कर्जा दिएको भन्दा दोब्बर र तेब्बर रकम लिएको तमसुक बनाइएको देखिन्छ । कर्जन्हा–३ की कुसुमदेवी साहले २०७४ फागुन–चैततिर घर बनाउँदा पैसा खाँचो परेर स्थानीय मिटरब्याजी हिना यादवसँग तीन महिनासम्म पटकपटक गरी ६ लाख रुपैयाँ सापटी लिइन् । तीन महिनापछि मिटरब्याजी हिनाले दबाब दिएपछि कुसुम तमसुक बनाउन बाध्य भइन् । जसमा ६ लाख रकमको हप्ताब्याज जोडेर २० लाख लिएको लेखियो । मिटर ब्याजको पासोमा परेकी कुसुमको दुःख यतिमै सकिएन । हिनाले २०७५ जेठमा आफ्नो नाममा दुईवटा, ससुरा पल्टु यादवको नाममा एउटा र हाल विदेशमा रहेका श्रीमान् दीपेन्द्र यादवको नाममा एउटा गरी जम्मा ४ वटा तमसुक बनाएको कुसुमले बताइन् । जसमा एउटा ६ लाख, एउटा २१ लाख, एउटा १८ लाख र एउटा १५ लाखको कागज गराइएको छ । कुसुमले हालसम्म ऋणबापत ७ लाख नगद र ३ लाख बढीको गरगहना दिए पनि अहिले हिनाले आफ्नो ससुरा पल्टु यादवको नाममा रहेको २१ लाखको तमसुक सिरहा जिल्ला अदालतमा दायर गरी मुद्दासमेत जितेकी छन् । अदालतले २०७६ पुस २९ मा कुसुमले हिनाका ससुरा पल्टुलाई २९ लाख २७ हजार ७ सय ५० रुपैयाँ ८२ रुपैयाँ तिनुपर्ने आदेश जारी गरेको छ ।

‘रकम तिर्न नसकेपछि अदालतले मेरो नाममा घर रहेको १२ धुर जग्गा, घर, चर्पी, पाइपसहित भएभरको सबै सम्पत्ति डाक लिलाम गरिदिएको छ,’ कुसुमले भनिन् ‘अदालतले आदेश जारी गरेपछि अहिले हिनासहित उनको परिवारले घर खाली गर्न र बाँकी तीन वटा कागजको पैसा छिटो तिर्न धम्की दिइरहेका छन् ।’ कुसुमले पटकपटक घर खाली नगराउन अनुनय गर्दा साहुकारको परिवारले कुटपिटसमेत गर्दै आएको उनले सुनाइन । एक मात्र छोरा रहेको कुसुमको श्रीमान्को मृत्यु भइसकेको छ ।

सोएव र कुसुम त उदाहरण मात्र हुन्, मधेसमा मिटरब्याजीहरूको फन्दामा अधिकांश निमुखा, दलित परिवार, गाउँका सर्वसाधारण पर्ने गरेका छन् । मिटरब्याजको पासोमा परेका कैयन घटना भने बाहिर आएका छैनन् । ब्याजमा रकम लगाउँदै आएका रामकृपाल साहले भने गर्जो पर्दा सहयोग गरेको तर साँवा रकम माग्दा समेत मिटरब्याजीको बिल्ला भिराएको बताए । ‘गर्जो पर्दा छरछिमेकमा सहयोग गरेका हौं,’ उनले भने, ‘सापटी रकम माग्दा मिटरब्याजी बनाउँछन् ।’

औरही–४ का अगुवा मनोजकुमार पासवानले दलित, विपन्न, निमुखाहरूको जीवनमाथि खेलबाड भइरहेको भन्दै मिटरब्याजीविरुद्ध सामाजिक आन्दोलन गर्नुपर्नेमा जोड दिए । गाउँघरमा विपन्न दलित बस्तीमा मिटरब्याजीले आतंक मच्चाइरहेको चर्चा गर्दै पासवानले भने, ‘घरव्यवहार

चलाउन लिएको ऋणको तीन दोब्बर कपाली तमसुक बनाउनुका साथै जग्गासमेत आफ्नो नाममा पास गराएर सुद्खोरहरूले त्यही तमसुकको आधारमा लेनदेन मुद्दा चलाई गरिब विपन्नको उठिबास गराउन थालेपछि गाउँघर आतंकित बनेको छ ।’

यसैबीच जिल्ला प्रशासन कार्यालय सिरहाले आर्थिक लेनदेनसम्बन्धी कपाली तमसुकलाई वडा र स्थानीय तहले आवश्यक छानबिन गरेर मात्र प्रमाणीकरण गर्न अपिल गरेको छ । प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले विज्ञप्तिमार्फत तीन दोब्बरको कागज बनाएर घरजग्गा पास गर्ने, सोझा जनताको अप्ठ्यारोको फाइदा उठाउँदै घरजग्गा फिर्ता नगर्ने, अदालतबाट कपाली तमसुक बराबर रकमको मुद्दा दायर गरी सम्पत्ति लिलाम गरी उठिबास गराएका घटनाहरू देखिएकाले प्रमाणीकरण गर्दा छानबिन गर्न आग्रह गरेका हुन ।

मिटरब्याजजस्ता गैरकानुनी तथा सर्वसाधारणको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा सबै तह र तप्काका व्यक्ति, संस्थाहरू सचेत रहनुपर्ने जिल्ला प्रशासनबाट जारी सन्देशमा उल्लेख छ । चर्को ब्याजमा रकम लेनदेनले करोडौं रकमको करछली तथा कालोधन जम्मा गर्ने प्रवृत्तिसमेत बढेको प्रशासनको ठहर छ । कैयौं सोझा जनता बाध्यतावश मिटरब्याजमा फसेर आफ्नो घरखेत सर्वस्व गुमाएको अपिलमा उल्लेख छ ।

प्रकाशित : श्रावण १९, २०७९ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?