कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सवारी साधनको नम्बर प्लेटमा नेपाली भाषा अनिवार्य गर्न माग

'सवारी साधनको नम्बर प्लेटमा अंग्रेजी भाषाको प्रयोग गरिनु संवैधानिक व्यवस्थाको भावना र मर्म प्रतिकूल छ'
कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल बार एसोसिएसनले सवारी साधनको नम्बर प्लेटमा नेपाली भाषा (देवनागरी लिपि) अनिवार्य गर्नुपर्ने बताएको छ ।

सवारी साधनको नम्बर प्लेटमा नेपाली भाषा अनिवार्य गर्न माग

बिहीबार एक विज्ञप्ति जारी गर्दै एसोसिएसनले नेपाली नागरिकले प्रयोग गरी आएको भाषाको संरक्षण, सम्बर्द्धन हुने भन्दै सवारी तथा यातायात व्यवस्था विभागबाट प्रदान गरिने सवारी साधनको नम्बर प्लेटमा नेपाली भाषा (देवनागरी लिपि) को अनिवार्य व्यवस्था गरिनु पर्ने माग गरेको हो ।

एसोसिएसनको विज्ञप्तिमा भनिएको छ–'नेपाल एक बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विशिष्टतायुक्त एकताबद्ध राष्ट्र हो । भाषा जुनसुकै मुलुकको पहिचान र राष्ट्रिय गौरवको विषय हुने भएकोले हरेक राज्यले आफ्नो भाषा संस्कृति, भेष-भुषाको संरक्षण गर्नु प्रमुख दायित्व बन्दछ । भाषाका माध्यमबाट मानवीय अभिव्यक्ति वा विचारलाई सम्प्रेषण गर्ने वा सञ्चार गर्ने गरिन्छ । तदनुरूप नेपालको संविधानको धारा ६ मा "नेपालमा बोलिने सबै मातृभाषाहरु राष्ट्रभाषा हुन् ।" भन्ने र ऐ. धारा ७ मा "देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुनेछ ।" भन्ने र त्यस्तै ऐ. ७(२) "नेपाली भाषाका अतिरिक्त प्रदेशले आफ्नो प्रदेशभित्र बहुसंख्यक जनताले बोल्ने एक वा एकभन्दा बढी अन्य राष्ट्रभाषालाई प्रदेश कानून बमोजिम प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्न सक्नेछ ।" भन्ने संवैधानिक व्यवस्था गरी भाषालाई संवैधानिक संरक्षकत्व प्रदान गरिएको छ ।'

संवैधानिक व्यवस्थाको प्रतिकूल हुने गरी अन्य भाषा नेपालको सरकारी कामकाजको भाषाको रुपमा सरकारी कार्यालय / निकायले प्रयोग गर्न नसकिने एसोसिएसनले बताएको छ । विज्ञप्तिमा अगाडि भनिएको छ –'सवारी साधनको नम्बर प्लेटमा अंग्रेजी भाषाको प्रयोग गरिनु संवैधानिक व्यवस्थाको भावना र मर्म प्रतिकूल छ । जुनसुकै तर्क वा आधार र कारणमा पनि संविधानले आत्मसाथ गरेको भाषालाई प्रतिस्थापन गर्ने गरी प्रत्यक्ष वा परोक्ष रुपमा कुनै पनि कार्य गर्न मिल्दैन ।'

एसोसिएसनको साउन १४ मा बसेको कार्यसमिति बैठकले नेपाली नागरिकले सदियौंदेखि प्रयोग गरी आएको भाषा प्रयोग नगरी अन्य भाषा प्रयोग गरिनु भनेको नेपाली नागरिकको भाषा सम्बन्धी संविधानले प्रत्याभूत गरेको संवैधानिक हकको हनन भएको ठहर निस्किएको महासिचव अधिवक्ता अन्जिता खनालले जनाएकी छन् ।

प्रकाशित : श्रावण १९, २०७९ १३:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?