कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

बाढीपहिरोले देशभरका पाँच सडक पूर्ण अवरुद्ध

रासस

काठमाडौँ — वर्षाका कारण बाढीपहिराले गर्दा देशभरका पाँच सडक पूर्ण र १३ सडक आंसिकरुपमा अवरुद्ध भएका छन् ।

बाढीपहिरोले देशभरका पाँच सडक पूर्ण अवरुद्ध

वर्षाका कारण हाल पूर्णरुपमा अवरुद्ध भएका सडकमा मुस्ताङको काभ्रेभिर, रारा राजमार्गको नुवाकोट–तोप्ला सडक, साँफेबगर–मार्तडी–कोल्टी सडकको अम्कोट–बल्दे सडक, रोल्पाको कोइलावास–लमही, अर्जुनखोला–घोराही–होलेरी–घर्तीगाउँ–थवाङ–लुकुम सडक र चितवनको मौरी पुल रहेका छन् ।

मुस्ताङको काभ्रेभिर सडक पहिरो तथा ठूलो ढुङ्गा बाटोमा खस्दा सवारीसाधन आवागमन अवरुद्ध भएको छ । उपकरण प्रयोग गरी पहिरो हटाउने काम भइरहेको सडक विभागले जनाएको छ । रारा राजमार्गमा निरन्तर पहिराका कारण अवरुद्ध भएकामा अहिले एउटा निजी स्काभेटर भाडामा लिएर सडक खुलाउने प्रयास भइरहेको छ ।

साँफेबगर–मार्तडी–कोल्टे सडकमा वर्षा र लेदो आउने क्रम रोकिएपछि यातायात खुलाउन सकिने र अहिलेका लागि वैकल्पिक बाटोका लागि सहमति जुटाउने प्रयास भइरहेको विभागले जनाएको छ । सहिद मार्ग खुलाउनका लागि स्काभेटर परिचालनको तयारी भइरहे पनि अरु स्थानमा पहिरो गएकाले सो खण्डमा पुग्न कठिन भएको छ । मौरी पुलमा वर्षाका कारण अझै धेरै टुक्राटुक्री जम्मा भए पनि हटाउनका लागि सो स्थानमा उपकरण परिचालन गरिएको छ ।

हाल १३ सडक एकातर्फी रुपमा मात्रै सञ्चालनमा रहेका छन् । कोसी राजमार्गको सम्माटार, पृथ्वी राजमार्गको बाँसबारी, त्रिभुवन राजपथको छत्तीस खोला, डुम्रे–बेंसीसहर–चामे सडकको उदिपुर, म्यार्दी भीरमा सडक अवरुद्ध रहेको छ । कोसी राजमार्गको फक्सिन्डा दोभानबाट बरुण खोलासम्मको सडक, अरनिको राजमार्गको कोदारी र बसेरी, पुष्पलाल राजमार्गको खहरे र दोबिल्ला, कर्णाली राजमार्गको जारकोटको सडक पनि एकातर्फबाट मात्रै खुलाइएको छ । विसं २०७९ यता हालसम्म १९ राजमार्गको १०९ स्थानमा अवरुद्ध भएको छ । अवरुद्ध भएका स्थानमध्ये ८९ सडक खुलिसकेको छ ।

प्रकाशित : श्रावण १९, २०७९ १४:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?