१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

कांग्रेस नेता निधि र भारतका सडकमन्त्रीबीच भेटवार्ता

कान्तिपुर संवाददाता

काठमाडौँ — पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र भारतका सडक परिवहन एवं राजमार्गमन्त्री नितिन गडकरीबीच भेटवार्ता भएको छ । भारत भ्रमणमा रहेका नेता निधिले बुधबार राति सडक परिवहनमन्त्री गडकरीलाई उनकै निवासमा पुगेर भेटवार्ता गरेका हुन् ।

कांग्रेस नेता निधि र भारतका सडकमन्त्रीबीच भेटवार्ता

निधिका प्रेस सहयोगी रामजी दाहालले भेटमा दुई देशबीचको सम्बन्ध र सडक पूर्वाधार निर्माणका विषयमा छलफल भएको जानकारी दिए । नेता निधिले भारत सरकारले निर्माण कार्य अघि बढाएको अयोध्या-भिठ्ठाभोड चार लेन सडक भारतको मधुवनी जिल्लाको गिरिजास्थान (पुलहर) हुँदै नेपालको जटही सीमासम्म थपेर निर्माण गर्न आग्रह गरेका छन् ।

निधिको आग्रहपछि मन्त्री गडकरीले तत्कालै मन्त्रालय र सडक विभागका अधिकारीहरुलाई टेलिफोन गरेर जटही सीमासम्म थप सडक निर्माणलाई मन्त्रालयको कार्यक्रममा राख्न निर्देशन दिएका थिए । यसअघि जटही-जनकपुर-ढल्केवर ६ लेनको सडक नेता निधि भौतिक पूर्वाधार मन्त्री भएकै बेला सम्पन्न भएको थियो।

भेटमा नेता निधिले कोलकाता बन्दरगाहदेखि दरभंगा हुँदै नेपालको जटही सीमासम्म वैकल्पिक अन्तर्राष्ट्रिय व्यापारिक मार्ग निर्माण गर्न समेत आग्रह गरेका छन् । भेटमा भारतका जलशक्तिमन्त्री गजेन्द्र सिंह सेखावत समेत सहभागी थिए । भेटमा दुवै देशको सडक, जलस्रोत, ऊर्जा विकास तथा बाढी नियन्त्रणलगायत विषयमा छलफल भएको थियो ।

भेटमा भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मा पनि सहभागी थिए । उक्त अवसरमा राजदूत शर्माले ‘लाइन अफ क्रेडिट’ र नेपालको भौतिक पूर्वाधार निर्माणमा प्राविधिक सहयोग उपलब्ध गराउने विषय अगाडि सारेका थिए ।

प्रकाशित : श्रावण १९, २०७९ १४:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?