प्रधानन्यायाधीशविरुद्धको महाभियोग अब अघि बढ्छ : उपसभामुख भुसाल

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिधिसभाकी उपसभामुख पुष्पा भुसालले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव संसद्‌को यही अधिवेशनमा अघि बढ्ने बताएकी छन् । बिहीबार नै सरकारले प्रतिनिधिसभा विघटन नगरी आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मिति घोषणा गरेको छ ।

प्रधानन्यायाधीशविरुद्धको महाभियोग अब अघि बढ्छ : उपसभामुख भुसाल

उपसभामुख भुसालले प्रतिनिधिसभाको आगामी बैठकमा महाभियोगबारे कार्यसूची राख्ने र संसद्‌मा छलफल गरी सुझाव लिने बताइन् । त्यसरी प्राप्त सुझावहरूलाई महाअभियोग समितिमा पठाइने उनको भनाइ छ ।

जबराविरुद्धको महाअभियोगका लागि समिति गठन भइसकेको छ । तर, उपसभामुख भुसालले भने समितिले आफ्नो काम सुरु गर्नुअघि नै संसद्‌मा त्यसबारे छलफल गर्न आवश्यक रहेको बताइन् । संसद्‌मा प्राप्त सुझावलाई समितिमा पठाउनका लागि पनि महाअभियोगलाई कार्यसूचीमा राखेर छलफल गर्न आवश्यक रहेको उनको जोड छ ।

‘अहिले चुनावको मिति घोषणा भयो तर संसद् विघटन हुँदैन । संविधानले त्यसबारे परिकल्पना गरेको छैन,’ उनले भनिन्, ‘महाअभियोगको जुन प्रस्ताव दर्ता भएको छ, यसलाई संसद्‌बाट नै घनिभूत ढंगबाट छलफल गरेर सुझावसहित जानुपर्छ । महाअभियोग विशेष समिति पनि गठन भइसकेको छ । त्यो समितिले आफ्नो काम सुरु गर्नुभन्दा अगाडि नै संसद्‌भित्र नै यो विषयलाई छलफलको विषय बनाउनुपर्छ ।’

संसद्‌मा छलफलको विषय बनाएर विषयगत समितिमा यसको सुझावहरू पठाउनका लागि कार्यसूचीमा ल्याएर यसलाई अघि बढाउनुपर्ने बताउँदै अनि मात्र संसद्ले आफ्नो दायित्वबाट यो विषयलाई अघि बढाउन सक्ने उनले बताइन् । उनले आगामी निर्वाचनको लागि मनोनयन दर्ता गर्ने दिनसम्म प्रतिनिधिसभा कायम रहने बताइन् ।

प्रकाशित : श्रावण १९, २०७९ १४:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?