कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४
मन्त्रिपरिषद् बैठक

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबारे अध्ययन गर्न १० सदस्यीय विज्ञ टोली गठन

सुरज कुँवर

काठमाडौँ — सरकारले निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउन नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक वीरेन्द्रबहादुर देउजाको संयोजकत्वमा १० सदस्यीय विज्ञ समूह गठन गरेको छ । 

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबारे अध्ययन गर्न १० सदस्यीय विज्ञ टोली गठन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठका अनुसार, उक्त टोलीमा पूर्वसचिव रामेश्वर खनाल, सूर्यराज आचार्यसहित वन तथा वातावरणविज्ञ, समाजशास्त्रीलगायत छन् । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार, विज्ञ समूहलाई ३० दिनभित्र अध्ययन सकेर प्रतिवेदन बुझाउन भनिएको छ ।

विमानस्थल निर्माणका क्रममा काटिने रूख र वातावरणीय प्रभाव मूल्यांकन (इआईए) सतही भएको भन्दै २०७६ भदौमा सर्वोच्च अदालतमा दर्ता भएको रिटमाथि हालै जारी भएको परमादेशले ‘वस्तुगत र तार्किकरुपमा यकिन गर्न’ विज्ञ समूह गठन गर्न भनेको थियो ।

त्यसैमा टेक्दै प्राधिकरणको संचालक समितिले सिफारिश गरेको आधारमा मन्त्रिपरिषद्ले देउजाको नेतृत्वमा विज्ञ समूह गठन गरेको हो ।

सर्वोच्चले निजगढमा विमानस्थल बनाउनुअघि ‘हवाइ उडानको आर्थिक तथा प्राविधिक सम्भाव्यताबारेमा वातावरण, वन, वन्यजन्तु, हवाइ उडान व्यवस्थापन, अर्थशास्त्री, समाजशास्त्री, प्रशासनविद्‌लगायत विषयगत विज्ञता भएका तटस्थ, निष्पक्ष, तथा दक्ष विषय–विज्ञहरूको समूहबाट उपलब्ध विकल्पहरूसहित वातावरणीय क्षतिलाई हरसम्भव न्यूनीकरण गर्ने उपाय पहिल्याउन’ भनेको थियो ।

प्रकाशित : श्रावण १९, २०७९ २२:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?