प्रतिनिधिसभा निर्वाचनका लागि १ करोड ८६ लाख मतदाता हुने आयोगको आकलन

कान्तिपुर संवाददाता

काठमाडौँ — निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा १ करोड ८६ लाख मतदाता हुने सम्भावना रहेको आकलन गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले २०७४ सालको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा सहभागी मतदाताभन्दा १० लाख मतदाता बढ्ने अनुमान गरेका हुन् । 

प्रतिनिधिसभा निर्वाचनका लागि १ करोड ८६ लाख मतदाता हुने आयोगको आकलन

प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन आगामी मंसिर ४ गते तोकिएको बारेमा आयोगले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा कति मतदाता सहभागी होलान् भन्नेबारे प्रमुख निर्वाचन आयुक्तले बोलेका हुन् । 'हिजोसम्म प्राप्त तथ्यांकअनुसार अघिल्लो निर्वाचनामा १ करोड ७७ लाख मतदाता रहेकोमा आगामी निर्वाचनमा १ करोड ८६ लाखसम्म हुने प्रारम्भिक अनुमान छ । करिब १० लाख मतदाता बढ्ने आ‍कलन छ,' उनले भने ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले मंसिर ४ गतेलाई अर्जुनदृष्टिमा राखेर आयोगले काम गर्ने बताएका छन् । उनले स्थानीय तह निर्वाचनमा देखिएका कमजोरी सच्याएर अगाडि बढ्ने पनि बताए । '१ सय ७ दिनको अवधि भएपनि हामीले अब आगामी मंसिर ४ गतेको दिनलाई अर्जुन दृष्टि लगाएर काम गर्नेछौं । निर्वाचन स्वच्छ, निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गर्नका लागि तयारी गरिसकेका छौं,' उनले भने ।

समयका कारण निर्वाचन गर्नमा कुनै अप्ठ्यारो नपर्ने भन्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन मिति आकस्मिक नभएर अपेक्षित र नियमित भएको बताए ।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन एकै चरणमा गर्ने निर्णय गरेको थियो ।

प्रकाशित : श्रावण १९, २०७९ १७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?