कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

ताइवानमा बस्ने नेपाली भन्छन्- यहाँको अवस्था सामान्य छ, बाहिर हल्ला चलेजस्तो केही छैन

गोविन्द पोखरेल

काठमाडौँ — अमेरिकी सभामुख नान्सी पेलोसीको ताइवान भ्रमणपछि रुष्ट बनेको चीनले ताइवान सीमा नजिकैको समुद्रमा मिसाइल आक्रमण गरिरहेको छ । अन्तर्राष्ट्रिय मिडियाहरूले पनि यसबारे निरन्तर खबर प्रकाशन/प्रसारण गरिरहेका छन् । चीनले आक्रमण गर्ने शैलीमा ताइवान नजिकैको समुद्रमा मिसाइल आक्रमण लगातार गरिरहेको खबर आइरहँदा त्यहाँको जनजीवन भने सामान्य रहेको त्यहाँ बसिरहेका नेपालीहरूले बताएका छन् ।

ताइवानमा बस्ने नेपाली भन्छन्- यहाँको अवस्था सामान्य छ, बाहिर हल्ला चलेजस्तो केही छैन

ताइवानको ताइचोङ सहरस्थित चायोयाङ युनिर्भसिटी अफ टेक्नोलोजीमा पोस्टडक्टरल गरिरहेका सरोज अधिकारीले त्यहाँ जनजीवन सामान्य रहेको बताएका छन् । राजधानी ताइपेइदेखि ३ घन्टा टाढा रहेको यो सहर ताइवानको मध्यभागमा पर्छ । यो सहरमा करिब २ सय जना नेपालीहरू रहेको उनले जानकारी दिए ।

कान्तिपुरसँगको फोन कुराकानीमा अधिकारीले त्यहाँको जनजीवन बाहिर हल्ला चलेजस्तो नभई सामान्य रहेको बताएका हुन् । ‘यहाँको अवस्था एकदमै सामान्य छ । कसैलाई केही चासो छैन,’ अधिकारीले भने,‘ चीनले के गर्ला‚ के होला भनेर यहाँका स्थानीयहरूमा कुनै डरत्रास नै छैन । जनजीवन एकदमै सामान्य छ । बाहिर आएजस्तो छैन ।’

उनले आफूले स्थानीय र अन्तर्राष्ट्रिय मिडियामा आएका समाचार हेरे पनि त्यसको प्रभाव केही पनि नदेखिएको बताए । ‘मिडियालाई फलो गर्दा यस्तो भइरहेको छ भन्ने थाहा हुन्छ । ताइवानी साथीहरुलाई योबारे जानकारी छ तर उनीहरुमा चाइनाले के गर्ला‚ के भन्ला भन्ने डरत्रास, कौतहलता केही नै छैन,’ अधिकारीले भने, ‘मलाई नि डरचाहीँ लागेको छैन । बाहिर आए जसरी हो भने डर हुनुपर्ने हो । मेरा ताइवानी साथीहरू पनि यो विषयमा खासै चर्चा नै गर्दैनन् । उनीहरूलाई चासो पनि छैन अनि वास्ता पनि गर्दैनन् । अवस्था सामान्य छ ।’

उक्त सहरमा इन्डोनेसिया, फिलिपिन्स, मलेसियालगायत अन्य एसियाली मुलुकका विद्यार्थीहरू बस्ने गरेको र उनीहरू पनि सामान्य अवस्थामै रहेको अधिकारीले जानकारी दिए ।


सरोज अधिकारी

ताइवानका सञ्चारमाध्यमहरुमा यो विषयबारे सूचना दिने खालका समाचार मात्रै आउने गरेको उनले बताए । ‘यहाँको स्थानीय मिडियाहरुले पनि सूचना दिने खालका समाचार मात्रै सम्प्रेषण गरेका छन् । सबै अवस्था ठिकठाक छ,’ उनले भने ।

व्यापार र जनजीवन पनि सामान्य रहेको उनले जानकारी दिए । बेलाबेला ताइवानी आकासमा चिनियाँ जेटहरू उडेको देखे पनि स्थानीयले सामान्य रुपमा नै लिने गरेको उनले सुनाए ।

‘बाहिर मिडियामा धेरै नै सेन्सेसनल तरिकाले हाइप हुने खालका समाचार आउँछन् । तर‚ यहाँको अवस्था एकदमै सामान्य छ; सबै ठिकठाक छ,’ अधिकारीले भने ।

चीनले ताइवानको हवाई र समुद्री मार्गमा नै असर पर्ने गरी बिहीबारदेखि सैन्य अभ्यास गरिरहेको छ । पेलोसीको भ्रमणलाई लिएर आपत्ति जनाउँदै चीनले एक चीन नीतिको गम्भीर रुपमा उल्लंघन भएको भन्दै अमेरिकासँगको सम्बन्धमा असर पर्ने चेतावनी दिएको छ । ताइवानले चीनको चेतावनीका बाबजुद पेलोसीलाई भव्य स्वागत गर्दै ‘उच्च नागरिक सम्मान’ दिएको थियो । पेलोसी २५ वर्षपछि ताइवान भ्रमण गर्ने उच्च अहोदाकी अमेरिकी नागरिक हुन् ।

प्रकाशित : श्रावण १९, २०७९ १८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?