कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राजस्व छली गरेका सुर्तीजन्य पदार्थसहित ४ पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतबाट राजस्व छली ल्याएका तयारी सुर्ती १९५ बोरा (८ हजार केजी) र कच्चा सुर्ती (२० हजार २ सय केजी) सहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

राजस्व छली गरेका सुर्तीजन्य पदार्थसहित ४ पक्राउ

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा सिन्धुली तीनपाटन गाउँपालिका-६ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-११ बस्ने ५६ वर्षीय पोष्टराज गौतम, मोरङको विराटनगर महानगरपालिका-१२ घर भई ललितपुर महानगर-३ धोबीघाट बस्ने ५३ वर्षीय सुरेश पोख्रेल, सर्लाही विष्णु गाउँपालिका-३ घर भई काठमाडौं कुलेश्वर बस्ने ४४ वर्षीय दिनेश चौधरी र सिनामंगलमा बस्ने ३८ वर्षीय अरबिन्द अग्रवाल छन् ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गैरकानुनी रूपमा भारतबाट कच्चा सुर्ती राजस्व छली गरेर ल्याई भण्डारण गरी कारोबार गर्ने गरेको सूचनाको आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले बुधबार गौतमलाई पेप्सीकोला र चौधरीलाई कुलेश्वरबाट पक्राउ गरेको हो । उनीहरुलाई पक्राउ गरी अनुसन्धानका क्रममा भारतबाट राजस्व छली गरी ल्याएको सुर्तीजन्य कच्चा पदार्थ अग्रवाल र पोख्रेलले सञ्चालन गर्ने ललितपुर महानगर–२१ खोकनास्थित न्यू शुभ लक्ष्मी सुर्ती उद्योग तथा विभिन्न स्थानमा भण्डारण गरेको सूर्तीजन्य पदार्थ बरामद गरेको छ ।

राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर तथा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले नख्खुस्थित फुलबारी मार्ग, भैंसेपाटीस्थित पञ्चकन्या मार्गमा रहेको २ वटा गोदाम र अफिस तथा खोकनामा रहेको श्री न्यू शुभ लक्ष्मी सुर्ती उद्योगको गोदाममा सिल गरेको छ । सुर्ती उद्योग सञ्चालक समेतलाई पक्राउ गरी अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : श्रावण २०, २०७९ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?