मौरी पुलमा किन गइरहेको छ दिनदिनै पहिरो ?

रमेशकुमार पौडेल

चितवन — खोलामा पानीको साटो लेदो मिसिएको पहिरो बग्न थालेपछि मौरी पुलमा सोमबारयता हरेक दिन घण्टौं बाटो बन्द हुने गरेको छ । नारायणगढ-मुग्लिन सडकमा पहिरोको समस्या नौलो भने होइन ।

मौरी पुलमा किन गइरहेको छ दिनदिनै पहिरो ?

सडक विस्तारको काम सुरु भएपछि ५-७ वर्षयता पहिरोको समस्या गम्भीर रुपमा देखापरेको हो । तर‚ मौरी खोला पुलमा भने झन्डै दुई दशकअघि गएको ठूलो पहिरो अहिले फेरि सक्रिय भएको छ । यसले लामो समय सताउने संकेत दिएको छ ।

नारायणगढदेखि मुग्लिनतर्फ २१ दशमलब ७६० किलोमिटर पर रहेको सो ठाउँमा पहिरोले दुःख दिन थालेको दुई वर्ष भयो । ‘मौरी पुलमा ७७ सालको बर्खायाममा पनि पहिरो गयो । गत वर्ष पनि पहिरोकै कारण बाटो थुनियो । अघिल्ला वर्षहरूमा अलिक सानो पहिरो थियो । यो वर्ष भने निकै ठूलो पहिरो खस्यो‚’ भरतपुरको डिभिजन सडक कार्यालयका इन्जिनियर शिव खनालले भने । पत्रे चट्टान र लेदो मिसिएको पहिरो आएर पुलमाथि थुप्रिने गरेको छ ।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी नरहरि अधिकारीका अनुसार सोमबार राति ११ बजे गएको पहिरो मंगलबार १० बजेतिर मात्रै सफा भएर गाडी चल्न सुरु भएका थिए । गाडी चलेको पाँच घण्टा नहुँदै राति दुई बजे पछाडि फेरि पहिरो खस्यो । बुधबार बिहान नौ बजेपछि पहिरो सफा भएर बल्ल गाडी चलेको डीएसपी अधिकारीले बताए । बिहीबार मध्याह्न र शुक्रबार बिहान पनि पहिरोले बाटो थुन्यो ।

वि.सं. २०६० सालको बर्खायाममा चितवनमा ठूलो बाढी-पहिरो आएको थियो । त्यति बेला भरतपुरको डिभिजन सडक कार्यालयमा इन्जिनियर थिए प्रकाश उपाध्याय । हाल अवकास जीवन बिताइरहेका उपाध्यायलाई त्यति बेला बाढीले नारायणगढ-मुग्लिन सडकको ठाउँ ठाउँमा पुर्‍याएको क्षतिको राम्रैसँग हेक्का छ । ‘माथिबाट ठूलो पहिरो आएर मौरी पुलमाथि थुप्रिएको थियो‚’ उपाध्यायले भने । अहिलेको समस्या पनि ठ्याक्कै त्यस्तै हो ।

बर्खा लागेपछि नारायणगढ-मुग्लिन सडकको पाँच-सात ठाउँमा पहिरो गएर निकै दुःख दिने गर्दछ । प्रायः सडक विस्तार या पुल बनाउनका लागि पहाड काटेको ठाउँबाट पहिरो गएको छ । मूल सडक हुँदै माथि गएका सहायक मार्गका कारण पहिरो जाने समस्या पनि एकाध ठाउँमा देखिएको छ । तर‚ मौरी खोलाको अवस्था यी दुईभन्दा फरक छ । त्यहाँ आडमा कुनै पहाड छैन । एउटा सानो खोल्सो छ ।

पुलबाट दक्षिणतिर झन्डै तीन सय मिटर पर पहाडको पाखोमा लगातारजसो पहिरो खसिरहेको हुन्छ । पानी आएको समयमा त्यहीँको पहिरो बग्दै आएर मौरी पुलमाथि थुप्रिन्छ । ‘६० सालमा पहिरो आएर पुलमा थुप्रिएपछि हामी हेर्दै हेर्दै माथिको डाँडामा पुगेका थियौं । चिरा चिरा परेर खस्न ठिक्क परेको पाखो देखेका थियौं‚’ डिभिजन सडक कार्यालयका तत्कालीन इन्जिनियर प्रकाश उपाध्यायले भने । त्यसपछि पहिरो नियन्त्रणको काम भयो ।

सडक कार्यालयको समन्वयमा जापानको दातृ निकाय जाइकाले पहिरो नियन्त्रणको काम गरेको थियो । ‘गत वर्ष हामी माथिल्लो खण्ड हेर्न गएका थियौं । ३३ वटा जति स्याबो वाल बनाएर पहिरो रोक्ने काम भएको रहेछ । ती वाल अघिल्लो वर्षसम्म बाँकी थिए । यो वर्ष सबै बग्यो‚’ इन्जिनियर शिव खानलले भने । उपाध्यायका अनुसार माथिल्लो पहाडमा रुख बिरुवा रोप्न अडिन मिल्ने ठाउँ नै छैन ।

पूरै पहाडमा घर छाउने स्लेडजस्तो पत्रे चट्टान छ । त्यसैले चेकड्यामले नै पहिरो रोकेको थियो । ‘झर्नुपर्ने भाग झरेर नसकिँदासम्म पानी परेपछि सधैँ यसरी नै पहिरो आइरहन्छ । त्यहाँको भूबनोट नै त्यस्तो छ । त्यसैले वाल बनार रोक्ने एउटा उपाय हो‚’ उपाध्यायले आफ्नो अनुभव सुनाए । तर‚ जाइकाको सहयोगमा पहिरो रोक्न १७ वर्षअघि राखेका सबै पर्खालहरू बगेपछि पहिरोको जोखिम झनै बढेर गएको छ ।

‘त्यहाँको अवस्थाका बारेमा हामीले गत वर्ष नै सडक विभागलाई जानकारी गराएका हौं । हाम्रो कार्यालयको योजना र बजेटले गर्न सक्ने काम त्यहाँ छैन । यो वर्ष समस्या झन् थपिएको छ । सडक विभागले पक्कै केही ठोस योजना ल्याउला‚’ डिभिजन सडक कार्यालयका सूचना अधिकारी इन्जिनियर शिव खनालले भने । नारायणगढ-मुग्लिन सडक राजधानी काठमाडौंको लाइफलाइन अर्थात् जीवनरेखाजस्तै हो ।

देशको पूर्वी तथा पश्चिम भेगलाई काठमाडौंसँग जोड्ने योजस्तो भरपर्दो मार्ग अरु छैन । यो सडक हुँदै साना-ठूला यात्रु बस, निजी गाडी र मालवाहक ट्रकसमेत गरेर दैनिक १० हजारभन्दा धेरै गाडी गुड्छन् । पहिरोले सडक अवरुद्ध हुँदा यात्रुलाई मात्रै अफ्ठ्यारो पर्ने होइन‚ राजधानीको आपूर्ति व्यवस्थामा पनि असर पर्दछ । तर‚ पहिरोले हरेक वर्ष दुःख दिँदा पनि नियन्त्रणका कामहरू तदारुकताका साथ हुन सकेका छैनन् ।

प्रकाशित : श्रावण २०, २०७९ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?