२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

क्रान्तिकारी माओवादी र नेकपा बहुमतबीच एकता गर्ने सहमति

कान्तिपुर संवाददाता

काठमाडौँ — तत्कालीन नेकपा माओवादीमा रहेका दुई कम्युनिस्ट घटकबीच एकता हुने भएको छ । धर्मेन्द्र बास्तोला संयोजक रहेको नेकपा बहुमत र मोहन वैद्य महासचिव रहेको नेकपा (क्रान्तिकारी माओवादी) बीच पार्टी एकता हुने भएको हो । 

क्रान्तिकारी माओवादी र नेकपा बहुमतबीच एकता गर्ने सहमति

शुक्रबार दुवै पार्टीका शीर्ष नेतृत्व सहभागी बैठकमा पार्टी एकता गर्ने सहमति भएको हो । बैठकपछि महासचिव वैद्य र संयोजक बास्तोलाले संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन् । विज्ञप्तिमा पार्टी एकताका लागि संयोजन समिति गठन गरिएको जनाइएको छ । नेकपा बहुमतका संयोजक बास्तोलाले दुवै पार्टीबाट ६-६ जना गरी १२ जनाको संयोजन समिति बनाएको जानकारी दिए । समितिमा क्रान्तिकारी माओवादीका तर्फबाट महासचिव वैद्यसहित सीपी गजुरेल, हरिभक्त कँडेल, परी थापा, इन्द्रमोहन सिग्देल र रामसिंह श्रीश रहेका छन् ।

नेकपा बहुमतबाट समितिमा संयोजक बास्तोलासहित हेमन्तप्रकाश वली, दीपक चलाउने, गुणराज लोहनी, कृष्ण धमला र देवकला अधिकारी सदस्य रहेका छन् । बास्तोलाले सम्पूर्ण 'देशभक्त क्रान्तिकारी'हरू एकता प्रक्रियामा जोडिन सक्ने बताएका छन् । उनले पूर्वमाओवादीहरू फेरि एक ठाउँमा आउन सक्ने सम्भावना रहेको बताए । कान्तिपुरसँगको संक्षिप्त कुराकानीमा उनले भने, 'अहिलेलाई किरणजी नेतृत्वको क्रान्तिकारी माओवादीसँग एकता हुन्छ । पछि अरुसँग पनि एकता हुन सक्छ ।'

पहिलो संविधानसभा चुनावमा सबैभन्दा ठूलो शक्तिका रूपमा उदाएको तत्काली नेकपा माओवादी विभिन्न फुटको शृखंलाबाट गुज्रिएको छ । पहिलो पटक वैद्य समूह २०६९ साल असार ४ मा विभाजित भएको थियो । शान्ति र संविधानको बाटो कि जनविद्रोहमा जाने भन्ने विषयले माओवादीमा विभाजन शृंखला सुरु भएको थियो ।

त्यसपछि २०७२ असोज ३ गते संविधान जारी भएलगत्तै बाबुराम भट्टराईले माओवादी छाड्दै नयाँ शक्ति गठन गरे । त्यसपछि रामबहादुर थापा, देव गुरुङ, पम्फा भुसाल, मातृका यादवलगायतका नेता पार्टीमा फर्किए । तीमध्ये थापाबाहेक अरु नेता माओवादी केन्द्रमै छन् । थापा भने नेकपा एमालेमा रहेका छन् । वैद्य समूहमा पनि पटक-पटक विभाजन भयो ।

वैद्य समूहबाट नेत्रविक्रम चन्दलगायतका प्रभावशाली नेताहरू छुट्टिएर नेकपा गठन गरेका थिए । केही समय भूमिगत भएर हिंसात्मक गतिविधि मच्चाएको उक्त समूह सरकारसँगको शान्ति प्रक्रियामा आएपछि पुन: विभाजित भयो । चन्द संसद्‌वादमा फसेको भन्दै असन्तुष्ट पक्षका नेताहरूले नयाँ पार्टी गठन गरेका हुन् ।

प्रकाशित : श्रावण २०, २०७९ ११:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?