सीके राउत उपेन्द्र यादवको क्षेत्र सप्तरी-२ बाट उठ्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — जनमत पार्टीका अध्यक्ष सीके राउत आगामी प्रतिनिधिसभामा सप्तरी क्षेत्र नम्बर २ बाट उठ्ने भएका छन् । बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकमा अध्यक्ष राउतले सप्तरी क्षेत्र नम्बर २ बाट उठ्ने घोषणा गरेका हुन् । सप्तरी-२ जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको क्षेत्रसमेत हो । 

सीके राउत उपेन्द्र यादवको क्षेत्र सप्तरी-२ बाट उठ्ने

सरकारले मंसिर ४ गते प्रदेशसभा र प्रतिनिधिसभा चुनावको मिति तोकेसँगै राउतले उम्मेदवारी दिने घोषणा गरेका हुन् । पार्टीका महासचिव चन्दनकुमार सिंहका अनुसार अध्यक्षबाट उम्मेदवारी घोषणा सुरु भएको हो । उनले भने, 'हिजोको भर्चुअल बैठकमा अध्यक्षले उम्मेदवारी दिने घोषणा गर्नुभयो । बिस्तारै अरु नेताले पनि उम्मेदवारीको घोषणा गर्नुहुनेछ ।' महासचिव सिंह भने लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरको क्षेत्र महोत्तरी-३ बाट उठ्ने भएका छन् ।

हिंसात्मक गतिविधिबाट शान्तिपूर्ण राजनीतिमा आएको जनमत पार्टीको आधार क्षेत्र सप्तरी मानिन्छ, जुन अध्यक्ष राउतको गृहजिल्लासमेत हो । गृहजिल्ला र गृहनगर पनि भएकाले सप्तरी-२ रोजिएको महासचिव सिंहले जानकारी दिए ।

राउतको घर महादेवा गाउँपालिका वडा नम्बर २ मा पर्छ । गत स्थानीय चुनावमा महादेवा-२ मा जनमत पार्टीका जागेश्वरप्रसाद ईसरसहितको प्यानल विजयी भएको थियो । त्यस्तै सप्तरीका २ वटा स्थानीय तहमा समेत जनमत पार्टी विजयी भएको थियो । हनुमाननगर कंकालिनी नगरपालिकाको मेयरमा वीरेन्द्र माझी र वलान बिहुन गाउँपालिकाको अध्यक्षमा खेमचन्द्र यादव विजयी भएका थिए ।

यसअघि २०७४ सालको चुनावमा सप्तरी २ मा उपेन्द्र यादवले माओवादी केन्द्रका उमेशकुमार यादवलाई हराएका थिए । उपेन्द्रले २१ हजार ६सय २० मत ल्याउँदा उमेशले ११ हजार ५ सय ८० मत ल्याएका थिए । त्यस्तै स्वतन्त्र उम्मेदवार जयप्रकाश ठाकुरले ९ हजार ४ सय ५८ मत ल्याएका थिए । यस पटकको चुनावमा उपेन्द्र कहाँबाट उठ्ने भन्ने टुंगो लागिसकेको छैन ।

उनी निर्वाचन क्षेत्र परिवर्तन गरिरहने नेतामा पर्छन् । पहिलो संविधानसभा चुनावमा उनी मोरङ-५ र सुनसरी-५ बाट उठेका थिए । त्यतिबेला दुवै क्षेत्रबाट जितेका थिए। २०७० को दोस्रो संविधानसभा चुनावमा पनि उनले त्यही क्षेत्र दोहोर्‍याए तर सुनसरीमा जिते, मोरङमा हारे । यस्तोमा सप्तरी-२ बाटै यस पटक उपेन्द्रले उम्मेदवारी दिएमा प्रतिस्पर्धा रोचक हुने सम्भावना रहेको छ ।

प्रकाशित : श्रावण २०, २०७९ ११:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?