२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

चिनियाँ विदेश मन्त्रालयले गर्‍यो परराष्ट्रमन्त्री खड्काको भ्रमणतालिका सार्वजनिक

दुई देशका विदेशमन्त्रीहरूले एक वर्षभन्दा कम अवधिमा भ्रमण आदानप्रदान गरेका छन्, जसले चीन र नेपालबीचको आपसी विश्वास र मित्रतालाई झल्काउँछ : चिनियाँ विदेश मन्त्रालय
लक्ष्मी लम्साल

बेइजिङ — परराष्ट्रमन्त्री नारायण खड्काले चीनको भ्रमण गर्ने कुरा बेइजिङले पुष्टि गरेको छ। शुक्रबार बेइजिङमा पत्रकार सम्मेलन गरी चिनियाँ परराष्ट्र मन्त्रालयकी प्रवक्ता ह्वा छुन् यिङले अगस्ट ८ देखि १० तारिखसम्म नेपालका परराष्ट्रमन्त्री खड्काले चीनको भ्रमण गर्न लागेको पुष्टि गरेकी हुन्।

चिनियाँ विदेश मन्त्रालयले गर्‍यो परराष्ट्रमन्त्री खड्काको भ्रमणतालिका सार्वजनिक

पत्रकार सम्मेलनमा प्रवक्ता ह्वाले नेपाल र चीन असल छिमेकी तथा साझेदार भएको बताउँदै नेपाली परराष्ट्रमन्त्री खड्काको यो भ्रमण चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीको गत मार्चमा भएको नेपाल भ्रमणको आदानप्रदान भएको बताइन्।

‘एक वर्षभित्रमा दुवै देशबाट मन्त्रीस्तरीय आउजाउले नेपाल र चीनबीचको विश्वासलाई प्रगाढ बनाएको छ’, प्रवक्ता ह्वाले भनिन्, ‘दुई देशका विदेशमन्त्रीहरूले एक वर्षभन्दा कम अवधिमा भ्रमण आदानप्रदान गरेका छन्, जसले चीन र नेपालबीचको आपसी विश्वास र मित्रतालाई झल्काउँछ।’

प्रवक्ता ह्वाका अनुसार चिनियाँ पक्षले यस भ्रमणबाट नेपाली पक्षसँग रणनीतिक सम्पर्कलाई थप सुदृढ गर्ने, एकअर्कालाई दृढताका साथ सहयोग गर्न र विकास तथा समृद्धिका लागि दीर्घकालीन रणनीतिक साझेदारीलाई अगाडि बढाउन सघाउने अपेक्षा गरेको छ।

चिनियाँ परराष्ट्रमन्त्री वाङले नेपाल र दक्षिण कोरियाली विदेशमन्त्रीलाई एकैसाथ शानतोङ प्रान्तको छिङ्ताओमा स्वागत गर्ने कार्यक्रम छ। विश्वचर्चित छिङ्ताओ बियर महोत्सवको ३२औं संस्करण समापन भएको भोलिपल्ट सो स्थलमा यो भेटघाट तय भएको छ। त्यसअघि अगस्ट ६ देखि ८ तारिखसम्म चिनियाँ विदेशमन्त्री वाङ यीले बांग्लादेश र मंगोलियाको भ्रमण गर्ने र त्यो भ्रमण सकिएपछि छिङ्ताओमा नेपाली तथा दक्षिण कोरियाली समकक्षीलाई स्वागत गर्ने कार्यक्रम रहेको चिनियाँ सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

मंगोलिया र बंगलादेश भ्रमणका क्रममा वाङ यीले आपसी सम्बन्ध र साझा सरोकारका अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दाहरूमा विचार आदानप्रदान गर्ने जनाइएको छ। दक्षिण कोरियामा नयाँ सरकार बनेयता कुनै पनि उच्चस्तरीय प्रतिनिधिमण्डलले चीन भ्रमण गर्न लागेको यो पहिलो पटक हुनेछ। त्यसैगरी नेपाली परराष्ट्रमन्त्री खड्काको पनि यो पहिलो चीन भ्रमण हुनेछ।

प्रकाशित : श्रावण २०, २०७९ १७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?