१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

एमालेका दुई चुनावी विकल्प : एक्लै लड्ने वा सत्ताइत्तरको गठबन्धन बनाउने

स्थानीय तहको चुनावी परिणामलाई केलाउने हो भने सत्ता गठबन्धनसँग एक्लै लड्नुपर्दा एमालेले ठूलो क्षति व्यहोर्ने संभावना छ । तर अन्य पार्टी र समूहलाई मिलाएर अर्को गठबन्धन निर्माण गर्नसके संभावित क्षति पूर्ति हुनसक्छ ।
मणि दाहाल

काठमाडौँ — सत्तारुढ पाँच दलबीच आसन्न आमनिर्वाचनमा तालमेल गर्ने औपचारिक निर्णय गरेसँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अब कसरी प्रतिस्पर्धामा उत्रन्छ चासो चुलिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान भएको सत्तारुढ गठबन्धनको बैठकले सीट बाँडफाँटको खाका साउन मसान्तसम्म बनाइसक्ने निर्णय गरेको छ ।

एमालेका दुई चुनावी विकल्प : एक्लै लड्ने वा सत्ताइत्तरको गठबन्धन बनाउने

जसका लागि नेपाली कांग्रेसबाट ३ र अन्य बाँकी दलबाट २-२ जना सदस्य रहने गरी ११ सदस्यीय कार्यदलसमेत निर्माण गरिएको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक प्रतिनिधिसभा विघटनपछि औपचारिकरुपमा कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा गठबन्धन भएको थियो । एमाले विभाजन भएपछि गठबन्धनमा एकीकृत समाजवादी थपिएको हो ।

सत्तारुढ गठबन्धनबीच स्थानीय तह चुनावमा समेत आंशिक तालमेल गरेका थिए । स्थानीय तह चुनाव कांग्रेस ३ सय २९, एमाले २ सय ६, माओवादी केन्द्रले १ सय २१, जसपा ३०, एकीकृत समाजवादीले २०, लोकतान्त्रिक समाजवादीले १६ स्थानीत तह प्रमुख जितेको छ ।

वैशाख ३० मा भएको स्थानीय चुनावमा महानगरसहित केही स्थानीय तहमा मात्रै सत्तारुढ गठबन्धन तालमेल प्रभावकारी देखिए पनि अन्यत्र भएन । चुनावपछि सबै दलले गरेको समीक्षा अर्को दलले धोका दिएको निष्कर्ष निकालेका थिए । तर पनि उनीहरु अबको निर्वाचनमा गठबन्धन कायम नै राखेर जाने निर्णयमा पुगेपछि यसको सबैभन्दा ठूलो दबाब एमालेमाथि परेको छ ।

सत्तारुढ गठबन्धन चुनावी तालमेल गर्ने एकमत देखिएपछि विपक्षी दल एमालेलागि थोरै मात्र विकल्प बाँकी देखिन्छ । अब एमालेसँग एक्लै लड्ने वा सत्ता गठबन्धन इतर स-साना दल र समूहलाई साथमा लिएर तालमेल गर्ने । यस्ता दलहरुलाई साथमा लिएर एमाले चुनावमा जानसक्ने भएपनि त्यस विषयमा छलफल अघि बढ्न सकेको छैन ।

एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले अहिलेसम्म तयारी पार्टी एक्लै चुनाव लड्ने गरी तयारीमा रहेको बताउँछन् । 'परिस्थिति कसरी विकास हुन्छ त्यो हेर्दै जाउँ । अहिले हामीले गरेको तयारी भनेको एक्लै प्रतिस्पर्धाको हो' गुरुङले ईकान्तिपुरसँग भने, 'अहिलेसम्म अनौपचारिक छलफल भैरहेको छ ।' गुरुङ वामपन्थी गठबन्धन बनाउनुपर्छ भन्ने विषयमा छलफलहरु भएपनि त्यसले मूर्त रुप नलिएको बताउँछन् । 'वामपन्थीहरु दलहरुबीच गठबन्धन हुनुपर्छ' उनले भने । यसअघि एक अन्तर्वार्तामा नेकपा माओवादी केन्द्र नेता वर्षमान पुनले वामपन्थी गठबन्धन हुने ठोकुवा गरेका थिए ।

स्थानीय तहको चुनावी परिणामलाई केलाउने हो भने गठबन्धनसँग एक्लै लड्नुपर्दा एमालेले ठूलो क्षति व्यहोर्ने संभावना छ । स्थानीय चुनावको वडाध्यक्षले प्राप्त गरेको मतको आधारमा कान्तिपुरले एक तथ्या‌ंक विश्लेषण गरेर पहिचान गरेका संसदीय चुनावका सम्भावित ९ परिदृश्य मध्ये एउटा परिदृश्य सत्ता गठबन्धनविरुद्ध एमाले एक्लै प्रतिस्पर्धामा उत्रिए प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचन प्रणालीको १ सय ६५ स्थान मध्ये एमालेले ९ स्थान मात्रै जित्न सक्ने भन्ने थियो । अर्को परिदृश्य यदी राप्रपा र लोसपासँग मात्र एमालेले तालमेल गरेमा २० सिट ल्याउन सक्ने भन्ने छ ।

प्रमुख राजनीतिक दलहरुले सरकार स‌ंचालनमा सहज हुने भएकाले अन्य सहयोगी दलहरुको साथमा गठबन्धन बनाउने विषयमा जोड दिँदै आएको छन् । त्यही अनुसार गत चुनावमा हालको सत्तागठबन्धनबीच तालमेल भएको थियो । २०७४ सालको चुनावमा भने एमाले,माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन भएको थियो । उक्त चुनावमा गठबन्धनले प्रतिनिधिसभामा करिब दुई तिहाई स्थान जितेको थियो । त्यसैगरी ७ मध्ये ६ प्रदेशमा स्पष्ट बहुमत ल्याएको थियो । आर्थिक समृद्धि र स्थिरताको नारा दिएर चुनावमा गएका एमाले र माओवादी केन्द्रबीच यो ५ वर्षभित्र पार्टी एकीकरण भएर विभाजनको अवस्थामा पुग्यो । एमाले पनि विभाजित भयो ।

राजनीतिक विश्लेषक तुलानारायण साह अहिले नै गठबन्धन के हुन्छ भनेर टिप्पणी गर्नु हतारो हुने बताउँछन् । 'अहिले हेर्दा एमालेसँग विकल्प साँघुरिएको देखिन्छ । तर यस्तै हुन्छ भनेरअनुमान गर्न छिटो हुन्छ । किनभने अहिले चुनाव घोषणा मात्रै भएको छ । गठबन्धनको खास प्रारुप मनोनयनको एक साताअघि बन्ने हो । त्यस समयमा गएर मात्रै कसरी गठबन्धन बन्छ भनेर भन्न सकिन्छ' साहले भने, 'त्यही साताभित्र सिटहरु फाइनल हुने । कसले कति पाउने त्यसै समयमा हुन्छ । एमाले एक्लै चुनावमा जान्छ भन्ने लाग्दैन ।'

मंसिरमा हुने चुनावअघि कुनै राजनीतिक उलटफेर नहुने हो भने एमालेका लागि गठबन्धन बाहिर रहेका केही दलहरुसँग मात्रै गठबन्धन गर्नुको विकल्प बाँकी रहन्छ । देशभर प्रभाव रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र मधेश प्रदेशमा बढी प्रभाव रहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) यसमा प्रमुख हुन् । मधेशको केही क्षेत्रमा प्रभाव रहेको सिके राउत नेतृत्वको जनमत पार्टी र सुदूर पश्चिमको तराईमा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीको प्रभाव देखिएको छ । त्यसैगरी जसपाबाट बाहिरएका बाबुराम भट्टराईसहितका नेताहरुले अघि बढाउन खोजेको नेपाल समाजवादी पार्टी (नेसपा) रहेको छ । तर भट्टराईसँग माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल निरन्तर संवादमा रहेका छन् । भट्टराईले गठबन्धन नछाड्ने दाहालले बताउँदै आएका छन् ।

मंसिरमा हुने चुनावमा वामपन्थी मतलाई ध्रुवीकरण गर्ने बताउँने एमालेका लागि राजेन्द्र लिङ्देन नेतृत्वमा रहेको राप्रपासँग तालमेल गर्दा वैचारिक विषयले केही समस्या हुन सक्ला कि भन्ने टिप्पणी पनि हुने गर्छ । २०६२-०६३ को जनआन्दोलन र मधेश आन्दोलनका प्रमुख उपलब्धीहरुको रुपमा रहेको संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रको पक्षमा राप्रपा रहेको छैन ।

तर स्थानीय तहको चुनावमा एमालेले भरतपुर महानगरपालिकामा राप्रपासँग तालमेल गरिसकेको छ । सत्ता गठबन्धन इतर रहेका दलहरु मध्ये तुलनात्मक रुपमा देशभर राप्रपाको मत राम्रो छ । राप्रपासँग हुने तालमेलले चुनावी परिणाममा एमालेले लाभ लिन सक्छ । तर एमालेको एउटा कोणमा समान वैचारिक धारसँग मात्र गठबन्धन हुनुपर्ने सुसुप्त धारणा छ ।

एमाले अहिले वैचारिक रुपमा अब दुई धारको राजनीतिक मत विभाजित होस भन्ने चाहन्छ । एमालेका महासचिव शंकर पोखरेल लगायतले पुँजीवादी र समाजवादी खेमाबीच मुख्य राजनीतिक प्रतिस्पर्धामा हुनुपर्ने भन्दै निरन्तर यसको वकालत गर्दै आएका छन् । एमाले कांग्रेसले पुँजीवादी कित्ताको नेतृत्व गर्ने र माओवादी केन्द्र र एकीकृत समाजवादी त्यसको पुच्छर भएको आरोप लगाउँदै आएको छ । समाजवादी कित्ता नेतृत्व गर्ने बताउँदै आएका एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्र र एकीकृत समाजवादी वामपन्थी दल नभएको बताउँदै आएका छन् ।

एमालेसँग संभावित गठबन्धनका लागि बाँकी रहेको दल लोसपा हो । तर प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि उसको कुराकानी भइरहेको छ । 'लोसपा हिजोसम्म सरकार जान्छ भन्ने थियो । सरकारमा अहिलेसम्म लगेको छैन । चुनावमा पनि मिलेर जाने भन्ने छ । सबै घटनाक्रम हेर्दा लोसपा कांग्रेसकै गठबन्धन जानुपर्ने हो' साहले भने, 'लोसपा सत्ता गठबन्धनमा यो भने उपेन्द्र यादवजी कसरी त्यसमा रहनु होला ?'

साहले पछिल्लो समयमा यादव र ओलीबीच बढ्दो निकटता र छलफललाई पनि हेर्नुपर्ने बताउँछन् । 'मधेसमा माओवादी कमजोर देखिएको छ । जसपा र माओवादी मिल्दा खासै परिणाम दिने देखिदैन । त्यसैले एमाले र जसपा पनि एकै ठाउँमा आउन सक्छन्' साहले भने, 'उपेन्द्रजीलाई वीरगञ्ज महानगरपालिका मेयर जितेको खुसी भन्दा बढी दु:ख विराटनगर महानगरपालिकमा उपमेयरमा छोराले हार्दा भएको छ । कांग्रेसले धोका दिएको निष्कर्ष रहेको छ ।'

चुनावी तालमोलका लागि लोसपा अझै पनि आफ्नो प्रभाव क्षेत्र मधेशमा संगठन विस्तार गर्न सकेको छैन । जसपाबाट विभाजित भएपछि कमजोर बनेको लोसपा स्थानीय चुनावको परिणाम कमजोर रह्यो । पृथकतावादी राजनीतिक त्यागेर मूलधारको राजनीतिमा आएका सिके राउत नेतृत्वको जनमत पार्टीको पनि स्थानीय तह चुनावमा प्रदर्शन कमजोर रहेको देखियो । यस्तो राजनीतिक माहोलबीच चुनावी परिणाम हात पार्न एमालेले अब कस्तो रणानीति तय गर्छ चासोको विषय बनेको छ ।

प्रकाशित : श्रावण २०, २०७९ १९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?