कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

गंगालालमा एक चिकित्सकको म्याद थप्न नियमावली परिवर्तनको तयारी

दुई सातादेखि मुटुको शल्यक्रिया ठप्प तर आवश्यक ‘अक्सिजेनेटर’ ल्याउन बेवास्ता
प्रशान्त माली

काठमाडौँ — सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा दुई साताअघिदेखि ‘अक्सिजेनेटर’ अभावका कारण मुटुको शल्यक्रिया ठप्प छ । अक्सिजेनेटर अत्यावश्यक भएका बिरामीलाई अस्पतालले औषधि दिएर फर्काइरहेको छ । जनस्वास्थ्यमाथिको यस्तो संवेदनशील संकटमा स्वास्थ्य मन्त्रालय भने अस्पतालका केही चिकित्सकको स्वार्थमा उमेरहद बढाउने चलखेलमा लागेको छ ।

गंगालालमा एक चिकित्सकको म्याद थप्न नियमावली परिवर्तनको तयारी

स्रोतका अनुसार प्रधानमन्त्री कार्यालयको ठाडो निर्देशनमा स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले गंगालालका एक कार्डियोलोजिस्ट डाक्टरको स्वार्थमा सम्पूर्ण कार्डियोलोजिस्टको अवकाशको उमेरहद बढाउने तयारी गरेका हुन् । यसका लागि मन्त्री खापुङले अस्पताललाई शुक्रबार पत्राचार गरी सञ्चालक समितिको बैठक बोलाएका छन् । अस्पताल सञ्चालक समितिको अध्यक्ष स्वास्थ्यमन्त्री र सदस्य सचिव गंगालालका कार्यकारी निर्देशक रहने व्यवस्था छ ।

गंगालालका कर्मचारीहरूको सेवाका सर्त र सुविधासम्बन्धी नियमावली २०५८ (छैटौं संशोधनसहित) को नियम १०.१ अनुसार कर्मचारीको उमेर ६० वर्ष पुगेपछि अनिवार्य अवकाश दिइने व्यवस्था छ । तर मन्त्रीस्तरीय निर्णयले कर्मचारीको सेवासर्तसम्बन्धी नियमावली संशोधन गर्न सक्ने प्रावधान छ । अस्पतालमा कार्यरत कार्डियोलोजिस्ट (मुटुको जाँच गर्ने) डा. रवि मल्ल साउन २३ मा अवकाश हुँदै छन् । उनको स्वार्थ पूरा गराउन उमेरहद ६० बाट बढाएर ६३ वा ६५ वर्ष पुर्‍याउने तयारी थालिएको अस्पतालका एक कर्मचारीले बताए ।

डा. मल्ल प्रधानमन्त्री शेरबहादुर देउवाका निकट रहेको स्रोत बताउँछ । अस्पतालमा मुटुको शल्य चिकित्सक १२ जना मात्र छन् । मुटुको जाँच गर्ने डाक्टर भने २५ जना छन् । त्रिभुवन विश्वविद्यालयको छात्रवृत्तिमा पनि तीन वर्षदेखि मुटुको शल्यचिकित्सा पढ्ने चिकित्सक छैनन् । यसले अगामी ५ वर्षमा मुटुको शल्य चिकित्सक अभाव हुने देखिन्छ ।

मुटुको आकस्मिक शल्यक्रिया गर्नुपर्नेलाई औषधिको भर

स्वास्थ्यमन्त्री खापुङले गंगालालमा बिरामीको उपचार अझ राम्रो बनाउनका लागि छलफल गर्न बैठक बोलाएको दाबी गरे । ‘गहन ढंगबाट छलफल गर्छौं । समग्र अस्पताल राम्रो बनाउन आवश्यक निर्णय हुन्छ,’ उनले भने, ‘अक्सिजेनेटर पनि ल्याउन पहल भइरहेको छ ।’ कार्डियोलोजिस्ट डा. मल्लले भने आफूलाई यसबारेमा केही जानकारी नभएको प्रतिक्रिया दिए । ‘यो कुरा मलाई सोध्ने होइन,’ उनले भने, ‘हामीले भन्ने कुरा होइन ।’ प्रधानमन्त्री कार्यालयका प्रवक्ता महादेव पन्थले पनि यसबारेमा आफूलाई जानकारी नभएको बताए । ‘कहाँ हामीलाई यस्तो कुरा थाहा हुन्छ,’ उनले भने ।

कार्डियोलोजिस्टहरूको अवकाशको हदम्याद बढाउन अर्का डा. अरुण मास्के पनि सक्रिय रहेको अस्पताल स्रोतको भनाइ छ । अवकाशको उमेरहद बढाउनेबारे अस्पताल प्रशासन महाशाखा, आर्थिक प्रशासन महाशाखा, नर्सिङ विभागले आपत्ति जनाएका छन् । उनीहरूले केन्द्र प्रतिष्ठान बनेको अवस्थामा भने छुट्टै ऐन तथा नियम आकर्षित हुने भएकाले त्यतिबेला विशेषज्ञ चिकित्सकको उमेरहद बढाउन उपयुक्त हुने भन्दै कार्यकारी निर्देशकमार्फत रायसुझाव नै पेस गरेका छन् । स्वास्थ्यमन्त्री भने शनिबार नै निर्णय गर्ने पक्षमा रहेको स्रोतको भनाइ छ ।

‘अक्सिजेनेटर’ अभावमा गंगालालमा रोकियो मुटु शल्यक्रिया

अस्पताल कर्मचारी संघले केही चिकित्सकको स्वार्थका लागि उमेरहद बढाए आन्दोलन गर्ने चेतावनी दिएको छ । संघले अस्पताल सञ्चालक समितिलाई पत्र लेखेर विशेषज्ञ सेवाको हकमा विद्यमान जनशक्ति मूल्यांकन गरी आवश्यकताअनुसार कार्यकारी निर्देशकले करारमा नियुक्त गर्न सक्ने व्यवस्था भए पनि उमेरहद बढाउन खोजेकामा आपत्ति जनाएको छ ।

‘विशेषज्ञ चिकित्सकतर्फको मात्र उमेरहद बढाउनुको औचित्य के हो ? अस्पतालमा कार्यरत सम्पूर्ण कर्मचारीहरूको हकमा पनि लागू हुने गरी समान व्यवहार हुने कानुन नआए चरणबद्ध रूपमा संघर्षमा उत्रिने जानकारी गराउन चाहन्छौं,’ संघका सचिव विकास खनियाँले लेखेको पत्रमा भनिएको छ । गंगालालका निमित्त कार्यकारी निर्देशक सुजीव राजभण्डारीले उमेरहदबारेमा आफूलाई केही जानकारी नभएको दाबी गरे ।

‘अक्सिजेनेटर’ सकिन थालेको जान्दाजान्दै पनि अस्पताल व्यवस्थापनले एक महिनाअघि मात्रै खरिद प्रक्रिया सुरु गरेको थियो । हस्पिटेक इन्टरप्राइजेजमार्फत इटालीको सोरिन कम्पनीबाट १ हजार ५ सय ४६ वटा ल्याउने सम्झौता भए पनि त्यो कहिले आउने हो, अझै अनिश्चित छ ।

प्रकाशित : श्रावण २१, २०७९ ०६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?