विदेशबाट फर्केर ट्याक्सी लहर

कम्पनीका म्यानेजरलाई फोन गरेर ‘अब म फर्कन्नँ’ भन्नेहरु यहीं खर्च कटाएर महिनाकै लाख रूपैयाँ बचाइरहेका छन् 
वीरेन्द्र केसी

अर्घाखाँची — अर्घाका कमल भुसाल २०७४ वैशाखमा दुबईबाट चारमहिने छुट्टीमा घर फर्किए । टोलैपिच्छे बनेका कच्ची सडकमा छिटफुट ट्याक्सी गुडेको देखे । त्यसपछि उनको मन फेरियो । केही दिनमै एउटा ट्याक्सी किनिहाले । भरिभराउ यात्रु पाउन थालेपछि दुबईमा आफूले काम गर्ने कम्पनीका म्यानेजरलाई खबर गरे– अब म फर्किन्नँ । अहिले उनलाई पहाडका गाउँबस्तीदेखि काठमाडौं, बुटवल, पोखरा, दाङलगायत ठूला सहर र छिमेकी जिल्लामा ट्याक्सी दौडाउन भ्याइनभ्याइ छ ।

विदेशबाट फर्केर ट्याक्सी लहर

‘दुबईमा १३ वर्ष काम गरें, केही कमाइ पनि भयो । त्यहाँभन्दा बेग्लै आनन्द र रमाइलो त आफ्नै ठाउँमा लागिरहेको छ,’ उनले भने, ‘डाँडाकाँडा र सहरमा यात्रु बोकेर घुम्न पाइएको छ । म हाँसेरै मीठो बोलिदिन्छु, एकपटक बोकेका यात्रुले फेरि सम्पर्क गर्छन्, सबैले कमल भाइ/दाइ भनेर माया गर्छन् ।’ उनले सन्धिखर्क अस्पतालनजिकै घर बनाएका छन् । खाली समय श्रीमतीले सुरु गरेको कपडा व्यवसायमा सघाउँछन् ।

‘जिल्लाभित्र र बाहिर कतिबेला कहाँ यात्रु बोकेर दौडिनुपर्छ, टुंगो हुँदैन,’ भुसालले भने, ‘रातदिन यात्रु बोक्छु । गाडीको किस्ता, तेल, मर्मत खर्च सबै कटाएर महिनाको १ लाख रुपैयाँ बचत गरेको छु ।’ दुबईमा कमाएको पैसाले ट्याक्सी किनेका उनले अब विदेश जाने सोच नै त्यागिसकेका छन् । ‘यही व्यवसायबाट जीविका धानेर पैसा बचत भएको छ,’ भन्छन्, ‘किन जानु विदेश ?’ दुबई र मलेसियामा ६ वर्ष बिताएका नुवाकोट च्युरामाटीका राम गैरे पनि यहीं ट्याक्सी चलाउँछन् ।

आठ वर्षअघि ट्याक्सी किनेर व्यवसाय सुरु गरेका उनले पहिलो महिनामै डेढ लाख रुपैयाँ कमाए । सदरमुकामस्थित चुत्राबेंसीमा उनका बाबुले घडेरी किनिदिएका थिए । ट्याक्सीकै कमाइले एकतले घर ठड्याए । ‘सामान्य लेखपढ गर्न जानेको छु, मलेसिया र दुबईमा ६ वर्ष बस्दा दुःख पाएँ,’ उनले भने, ‘०७१ मा गाडी किनेर चलाउँदा सुरुकै महिनाबाट डेढ लाख बचत हुन थाल्यो ।’ उनी गाउँदेखि ठूला सहरसम्म यात्रु बोक्छन् । ‘अधिकांश यात्रु मेरा घनिष्ठ हुन पुग्छन्,’ उनले भने, ‘गाउँमा सामान्य किसानदेखि नेता, कर्मचारी, ठूला व्यापारी, जनप्रतिनिधिसम्म चिनजान र सम्बन्ध हुँदो रहेछ । यो व्यवसायले म उत्साहित छु ।’ उनीजस्ता धेरै युवा यो पेसाबाट खुसी छन् । ‘गाउँ छिमेकीसित दैनिक भेटघाट हुन्छ, परिवारसँगै बसेर व्यवसाय गर्न पाइएको छ,’ उनले भने, ‘विदेशमा अरूको अन्डरमा काम गर्नुपर्थ्यो । यहाँ स्वतन्त्र व्यवसाय गर्न पाएको छु ।’ ट्याक्सीको कमाइले घर खर्च, छोराछोरीको पढाइ खर्च राम्रोसँग पुगेको उनले सुनाए ।

ट्याक्सी व्यवसाय धेरै मान्छेसित परिचय हुने माध्यम बनेको बताउँछन्, सन्धिखर्कका चन्द्र थापा । ‘फोन गरेर बोलाएपछि जान्छु, खाली बस्नु पर्दैन,’ मलेसियाबाट फर्केर ६ वर्षदेखि ट्याक्सी चलाएका उनले भने । बाल्यकालमा घण्टौं हिँड्नुपरेको गाउँका बाटोमा आफैं ट्याक्सी लिएर छिनभरमै आउजाउ गर्दा विकासमा आमूल परिवर्तन भएको महसुस गरेको उनले सुनाए । ‘छिटो र सहज यात्रा भनेर ट्याक्सी खोज्ने यात्रु धेरै छन्,’ थापाले भने, ‘पहिला थोरै गाडी हुँदा दौडधुप धेरै हुन्थ्यो, अहिले धेरै छन् । सडक भएकै कारण ट्याक्सी गुडाएर जीविका धान्ने माध्यम बन्यो ।’ सडकले विदेश जाने आफ्नो सोच बदलिदिएको उनी बताउँछन् ।

अर्घाखाँचीका सबैजसो कच्ची सडकमा ट्याक्सी चल्छन् । बर्खामा बाढीले सामान्य खाल्डाखुल्डी परेका ठाउँमा चालक आफैं बाटो मर्मत गर्छन् । यात्रु र स्थानीयले पनि बाटो बनाउन सहयोग गर्छन् । गाउँको वडास्तरीय सडक सरकारको बजेटले तथा टोलबस्ती र घरआँगनसम्म पुग्ने धेरै सडक व्यक्तिगत लगानी, रेमिट्यान्स, चन्दा र सामुदायिक वनको आम्दानीले बनेका छन् । अर्घाखाँची ट्याक्सी व्यवसायी समितिका अध्यक्ष महेन्द्र कुँवरले जिल्लामा १ सय १० वटा कालो प्लेट, डेढ सय रातो प्लेटका ट्याक्सी चलिरहेको बताए । ‘०७० मा मैले ट्याक्सी लिएर संस्था दर्ता गरें, ०७४ बाट व्यावसायिक रूप लियो,’ उनले भने, ‘जिल्लामा भएका ट्याक्सीमध्ये ७५ प्रतिशत वैदेशिक रोजगारीबाट फर्किएका युवा छन् ।’ १० प्रतिशतले मात्रै ट्याक्सीमा चालक राखेका छन् । ५/६ लाख रुपैयाँ लगानी गरेर विदेश जानेले मासिक २० देखि ५० हजार कमाउने गरे पनि यहाँ गाडीबाट एक लाख प्रायःले कमाइ गरिरहेको उनले सुनाए ।

गुल्मी सदरमुकाम तम्घासमा २० वटा ट्याक्सी, १ सयजति कार, ५० जति डबल क्याप (जिप) गाडीले यात्रु बोक्छन् । हिउँदमा प्रायः सबै गाउँ आउजाउ गर्छन् । हिउँदमा त ८० हजारसम्म कमाइ हुने तम्घासका व्यवसायी राजु श्रेष्ठले बताए । ‘गाडीमा चार यात्रु अट्छन् । गाउँका अग्ला बस्ती र ठूला सहरसम्म यात्रु बोकेर हिँड्छु,’ १० वर्षदेखि ट्याक्सी चलाइरहेका उनले भने । कच्ची सडक पनि क्रमशः ग्राभेल र कालोपत्र हुँदै गएका छन्, जसले यात्रालाई सहज बनाएको छ । उनका अनुसार दशकअघि गाउँमा कार जाँदैनथे । कच्ची सडक पनि कार हिँड्न लायक छन् ।

‘विदेशबाट पैसा कमाएर फर्केका र बैंक किस्तामा गाडी किनेर जीविका धान्ने धेरै युवा छन्,’ श्रेष्ठले भने, ‘परिवारसँगै बसेर व्यावसायिक सेवा दिन पाउँदा मन खुसी छ । गाडी व्यवसायबाट धेरै युवा विदेश जान छाडेका छन् ।’

प्रकाशित : श्रावण २१, २०७९ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?