२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

दाहालको गलत दाबी : सिन्जो आबे नेपाल आउँदा २/३ पटक कुरा भएको थियो

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ५ दिने जापान भ्रमणका क्रममा शनिबार बिहान टोकियो पुगेका छन् । नरिता अन्तर्राष्ट्रिय विमानस्थलमा दाहाललाई स्वागत गर्न जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीलगायतका दूतावासका अधिकारी पुगेका थिए । त्यस्तै जनप्रगतिशील मञ्च, जापानका पदाधिकारीसहित प्रवासी नेपाली पनि उनको स्वागतमा पुगेका थिए । 

दाहालको गलत दाबी : सिन्जो आबे नेपाल आउँदा २/३ पटक कुरा भएको थियो

विमानस्थलका सञ्चारकर्मीसँगको कुराकानीमा दाहालले उच्चस्तरीय भ्रमणले दुई देशबीचको सम्बन्धमा विशेष सहयोग पुग्ने बताए । उनले नेपाल र जापानको सम्बन्ध धेरै पुरानो भएको पनि बताए । त्यस्तै युद्धबाट तवाह भएको जापानबाट आफ्नै मेहनतले कसरी समृद्ध बन्न सकिन्छ भन्ने कुरा पनि सिक्न सकिने उनको भनाइ थियो ।

दाहाल शुक्रबार राति पाँचदिने भ्रमणका लागि जापान गएका हुन् । दाहाल नेपाली जनप्रगतिशील मञ्च जापानको निमन्त्रणामा त्यसतर्फ गएका हुन् । उनीसँगै स्वकीय सचिव रमेश मल्ल, छोरी गंगा दाहाल, सूर्य किरण रहेका छन् । दाहालले शनिबार जापानको फुकुओकामा आयोजना हुने नेपाल फेस्टिभलको उद्घाटन गर्नेछन् ।

दाहालको गलत दाबी

सञ्चारकर्मीसँगकै कुराकानीमा उनले जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेलाई भेट्ने इच्छा पूरा नभएको बताए । गत जुलाई ८ मा चुनावी सभालाई सम्बोधन गरिरहेकै बेला एक बन्दुकधारीले गोली हानेर आबेको हत्या गरेका थिए । आबे माग र मूल्य बढाएर घरेलु अर्थतन्त्रलाई प्रबर्द्धन गर्ने अर्थनीतिमा सफल भएका थिए । त्यस्तै दोस्रो विश्वयुद्धपछि जापानले गुमाएको सैन्य विरासत फिर्ता गराउन रणनीतिक गठबन्धन र परमाणु हतियारको पक्षमा वकालत गर्दै उनले आक्रामक राष्ट्रवादी नेताको छवि बनाएका थिए ।

‘आबेनोमिक्स’ का प्रणेताको हत्या

दाहालले आबेसँग आफ्नो सम्बन्ध राम्रो भएको पनि दाबी गरे । त्यस्तै पूर्वप्रधानमन्त्रीका रूपमा सिन्जो आबे नेपाल भ्रमणमा आउँदा आफूसँग २/३ पटक कुराकानी भएको पनि उनले दाबी गरे। दाहालले आबेलाई भेट्ने इच्छा पूरा नभएको उल्लेख गर्दै भने, 'म जापान आउने तय भएसँगै पूर्वप्रधानमन्त्री सिन्जो आबेसँग भेट्नका लागि समय मिलाउन खोजेको थिएँ । जापानका राजदूतसँग पनि कुरा भएको थियो । उहाँ पूर्वप्रधानमन्त्रीका रूपमा नेपाल भ्रमण गर्दा मसँग २/३ पटक कुराकानी भएको थियो । र, असाध्यै राम्रो सम्बन्ध भएको थियो हाम्रो । एक अर्काप्रति राम्रो इन्टर्‍याक्सन भएको थियो । उहाँलाई भेटेर नेपाल र जापानको सम्बन्धलाई एउटा अर्को हाइटमा कसरी लैजाने भन्ने कुरा गर्ने इच्छा थियो । त्योचाहिँ पूरा भएन । बडो दुर्भाग्यपूर्ण घटना भयो । जापानको लागि त यो विरलै हुने घटना हो । यसको विश्वव्यापी पनि इम्प्याक्ट परेको छ । म उहाँप्रति विशेष सम्मान पनि भन्न चाहन्छु । शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना छ ।'

उनको दाबी भने गलत रहेको छ । दुई पटक जापानका प्रधानमन्त्री भएका आबे नेपाल भ्रमणमा भने आएका छैनन् । नेपालस्थित जापानी दूतावासका अनुसार अहिलेसम्म जापानबाट एक पटक बहालवाला प्रधानमन्त्री नेपाल भ्रमणमा आएका छन् । सन् २००० मा जापानका तत्कालीन प्रधानमन्त्री योसिरो मोरी नेपाल भ्रमणमा आएका थिए । आबे प्रधानमन्त्री वा पूर्वप्रधानमन्त्रीका रुपमा नेपाल भ्रमणमा नआएको पूर्वपरराष्ट्र सचिव मदनकुमार भट्टराईले पुष्टि गरे । जापानका लागि पूर्वराजदूतसमेत रहेका उनले भने, 'सिन्जो आबेले नेपाल भ्रमण गर्नु भएको छैन । उहाँका हजुरबुवा र भाइ भने नेपाल आउनु भएको हो ।' आबे २६ सेप्टेम्बर २००६- २६ सेप्टेम्बर २००७ र २६ डिसेम्बर २०१२- १६ सेप्टेम्बर २०२० गरी दुई कार्यकाल प्रधानमन्त्री भएका थिए ।

पूर्वपरराष्ट्र सचिव भट्टराईका अनुसार आबेका मावली हजुरबुवा नोबुसुके किसी भने पूर्वप्रधानमन्त्रीका रूपमा नेपाल भ्रमणमा आएका थिए । उनी सन् १९५७ देखि १९६० सम्म जापानको प्रधानमन्त्री भएका थिए । सन् १९८७ मा उनको निधन भएको थियो । त्यस्तै किसीका भाइ एइसाको सातो पनि सन् १९६४ देखि १९७२ सम्म प्रधानमन्त्री भएका थिए । परमाणु निशस्त्रीकरणसम्बन्धी महत्त्वपूर्ण कदम चालेका कारण उनलाई सन् १९७४ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो । सातोकै कार्यकालमा जापानले परमाणु अप्रसार सन्धिमा हस्ताक्षर गरेको भट्टराई बताउँछन् ।

त्यस्तै आबेका बुवा सिनतारो आबे लामो समय जापानका विदेशमन्त्री भएका थिए । उनका भाइ पनि नोबुओ किसी अहिले जापानका रक्षामन्त्री रहेका छन् । सन् २०१६ मा विदेश तथा रक्षा राज्यमन्त्रीका रूपमा उनले नेपाल भ्रमण गरेको भट्टराईले बताए ।

नेपाल र जापानबीच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । त्यसयता दुवै देशबाट उच्चस्तरीय भ्रमण हुने गरेका छन् । सन् १९९८ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले जापान भ्रमण गरेका थिए । त्यतिबेला जापानमा केइजो ओबुची प्रधानमन्त्री थिए । त्यसको दुई वर्षपछि जापानी प्रधानमन्त्री मोरी नेपाल भ्रमणमा आएका थिए । उनको भ्रमण नै जापानी प्रधानमन्त्रीको पहिलो औपचारिक नेपाल भ्रमण थियो । त्यसपछि जापानका विदेशमन्त्रीहरू कोइचिरो गेम्बा र तारो कोनो नेपाल भ्रमणमा आएका थिए ।

नेपालका तर्फबाट भने तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सन् २०१८ मा ५ दिने औपचारिक भ्रमणमा जापान गएका थिए । त्यस्तै राष्ट्रपति विद्यादेवी भण्डारी सम्राट नारुहितोको गद्दी आरोहणका क्रममा सन् २०१९ मा जापान भ्रमणमा गएकी थिइन् । त्यतिबेला उनलाई तत्कालीन प्रधानमन्त्री आबेले समेत भेटेका थिए ।

प्रकाशित : श्रावण २१, २०७९ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?