२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

प्रकाशमान सिंह भन्छन् : ‘फर्स्ट म्यान भएँ भने स्वार्थ नभएको नेता कस्तो हुन्छ देखाउँछु’

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पुनः काठमाडौं क्षेत्र नं. १ बाटै चुनाव लड्ने संकेत गरेका छन् । ०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं क्षेत्र नं. १ बाट निर्वाचित भएर प्रतिनिधिसभा सदस्य बनेका नेता सिंहले आगामी निर्वाचनमा पनि त्यही क्षेत्रबाट चुनाव लड्ने संकेत गरेका छन् ।

प्रकाशमान सिंह भन्छन् : ‘फर्स्ट म्यान भएँ भने स्वार्थ नभएको नेता कस्तो हुन्छ देखाउँछु’

‘म यो क्षेत्रको जनप्रतिनिधि हुँ, मैले आफ्नो काम गरेको छु । यसको लेखाजोखा अब यहाँको समुदाय र जनताले गर्ने बेला आएको छ । मैले जनप्रतिनिधिका रूपमा इमान्दारिताका साथ आफ्नो भूमिका निभाएको छु,’ शनिबार थापाथलीमा भएको कार्यक्रममा बोल्दै नेता सिंहले भने, ‘मैले जनप्रतिनिधिका रूपमा गर्नुपर्ने काम गरेको छु । तर, अनावश्यक प्रचार गरेर हिँडेको छैन । हुन त अहिले हाम्रो चुनावी परिणामहरू हेर्दा ‘बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन’ भन्ने उखान सावित भएजस्तो लाग्छ ।’

काठमाडौं क्षेत्र नं. १ मा नेता सिंहसँग अघिल्लो पटक तत्कालीन विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र प्रत्याशी थिए भने अहिले पनि मिश्रले नै उम्मेदवारी घोषणा गरिसकेका छन् । त्यस्तै, अर्का युवा पुकार बमले पनि यहीँबाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।

नेता सिंहले मतदाताले दुःख गरेर, पार्टीको राजनीति गरेर आएका मान्छेलाई भन्दा नयाँ मान्छेले थोरै आश्वासन दिँदैमा विश्वास गर्न थालेको गुनासो गरे । ‘पुरानो मान्छेहरू होइन, नयाँ मान्छेले यो गर्छु, त्यो गर्छु मात्रै भने पनि माथि पुर्‍याइदिएको छ । अहिलेको डिजिटल वर्ल्डले तल भएकालाई माथि-माथि भएलाई तल झार्ने रहेछ,’ उनले भने, ‘त्यसैले हामी पनि आफूले गरेको काम भन्नुपर्छ भनेर लागेका छौँ । डिजिटल प्रविधिको सदुपयोग हुनुपर्छ भन्ने लाग्छ ।’

उनले आफूले जनप्रतिनिधिका रूपमा क्षेत्र नं. १ मा सामुदायिक विद्यालयका संरचनादेखि दुःख पर्दा बस्ने किरियापुत्री भवनसम्ममा काम गरेको बताए । नेता सिंहले आफू लामो समयदेखि पार्टी र सरकारमा समेत कहिल्यै 'फर्स्ट म्यान' नभएको भन्दै मौका दिन आग्रह गरे । ‘म ग्रासरुटदेखि नम्बर टु भएर काम गरेको मान्छे हुँ । अहिलेसम्म नम्बर वान भएर काम गर्न पाएको छैन । मलाई कुनै कुराको लोभलालच छैन,’ उनले अघि भने, ‘म यदि नम्बर वान म्यान भए भने लोभलालच नभएको, कुनै स्वार्थ नभएको नेता ठाउँमा पुग्यो भने गर्न सक्छ भनेर पुष्टि गर्छु, म काम गरेर देखाउँछु ।’

उनले नेपाली जनताले जहिल्यै गलत निर्णय गर्ने र गालीचाहिँ कांग्रेसलाई गर्ने गरेको बताए । ‘मान्छेहरू कांग्रेसले गरेन भन्छन् । अवसरचाहिँ अरुलाई दिने, अनि विकास कसरी गर्नु ?,’ उनले भने, ‘कांग्रेसलाई मौका दिएर हेर्नुस् काम गरेन भने अनि औंला ठड्याउनुस् । अवसर अरुलाई दिने, अनि कांग्रेससँग गुनासो गर्ने, कांग्रेसलाई गाली गर्ने गर्नु भएन । तपाईहरूले अहिले सोच्ने बेला आएको छ ।’

नेता सिंहले नेपालमा संविधान निर्माण र कार्यान्वयनका लागि नेपाली कांग्रेसको सबैभन्दा महत्त्वपूर्ण भूमिका रहेको दाबी गरे ।

प्रकाशित : श्रावण २१, २०७९ ११:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?