१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

विचार मिल्ने शक्तिसँग चुनावी गठबन्धन गर्छौं : भट्टराई

कान्तिपुर संवाददाता

काठमाडौँ — पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले आगामी प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा विचार मिल्ने शक्तिसँग चुनावी तालमेल र गठबन्धन गर्नुपर्ने बताएका छन् । जनता समाजवादी पार्टीबाट अलग भएर नेपाल समाजवादी पार्टी गठन भएपछिको पहिलो केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै भट्टराईले आगामी चुनावी रणनीति तय गर्नुपर्ने बताएका हुन् । 

विचार मिल्ने शक्तिसँग चुनावी गठबन्धन गर्छौं : भट्टराई

काठमाडौंमा आयोजित नेपाल समाजवादी पार्टीको केन्द्रिय समिति बैठकमा भट्टराईले चुनावी रणनीति बनाउन लाग्नपर्नेमा जोड दिए । 'एक्लै अगाडि बढेर हुन्छ या विचार मिल्ने नजिकका शक्तिसँग मिलेर हुन्छ भन्ने विषयमा विचार विमर्श गरेर जानेछौं,' उनले भने, 'निर्वाचनका निम्ति सम्भव भएसम्मका नजिकका, विचार मिल्ने शक्तिहरूसँग चुनावी तालमेल गठबन्धनका लागि प्रयास गर्नुछ ।'

भट्टराईले नयाँ पार्टीलाई देशव्यापी बनाउनका लागि नेता र कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । स्थानीय तहसम्म नै पार्टीलाई पुर्‍याउन र नयाँ मतदातालाई आकर्षित गर्नुपर्ने उनको भनाइ थियो । निर्वाचनको मुखमा गठन भएको पार्टीले कस्तो प्रदर्शन गर्ला भन्न नसकिने धारणा राख्दै उनले सत्तामात्रै नभएर सदन र सडकबाट पनि समाज परिवर्तनका लागि लाग्न आग्रह गरे ।

त्यस्तै, भट्टराईले जनता समाजवादी पार्टी जातीवादी र क्षेत्रीय भएको बताए । उपेन्द्र यादव नेतृत्वको पार्टीले जातीय र क्षेत्रीय संकृणताबाट माथि उठेर जनताका मुद्दा उठाउन नसक्ने भट्टराईको भनाइ थियो । 'जनता समाजवादी पार्टी पनि प्रकारान्तरले पुरानै पार्टी हुन पुग्यो । नेतृत्वमा रहेका मानिसहरू क्षेत्रगत, जातीगत संकीर्णताभन्दा माथि उठेर जनताको हित गर्न सकेन । त्यो पार्टीलाई रुपान्तरण गर्ने अवस्था देखेनौं । त्यसपछि रुपान्तरणको केही सम्भावना हुन्छ कि भन्ने अन्तिम प्रयास गरियो । रुपान्तरणको कुनै संकेत देखाएनन् । पार्टीलाई विघटन र बिसर्जनको दिशातिर गएपछि, जनता समाजवादी पार्टी क्षेत्रीय दलको रूपमा पतन भएको छ, त्यसले देशको कार्यभार पूरा गर्न सक्दैन भन्ने भएपछि नेपाल समाजवादी पार्टी निर्माण गरेका छौं,' उनले भने ।

जारी केन्द्रीय समितिबाट नेपाल समाजवादी पार्टीलाई वैधानिकता दिइने र मंसिर ४ गतेका लागि तोकिएको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा कोसँग तालमेल र गठबन्धन गर्ने भन्ने तय हुने भट्टराईले बताए । समावेशिता, सुशासन, समृद्धि हासिल गर्नका लागि आफूले अगाडि सारेको राजनीतिक एजेन्डा नै महत्त्वपूर्ण रहेको उनको दाबी थियो ।

प्रकाशित : श्रावण २१, २०७९ १४:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?