फेरि ‘समुदायमै’ कोरोना

महाकाली अस्पतालका ४ डाक्टर संक्रमित 
भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालका डाक्टरदेखि सरसफाइकर्मीसम्म कोरोना संक्रमित भएपछि सेवा प्रभावित भएको छ । अस्पतालका ४ डाक्टरसहित १० जनामा संक्रमण देखिएको हो ।

फेरि ‘समुदायमै’ कोरोना

निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. अर्जुन भट्टका अनुसार अन्य स्वास्थ्यकर्मीमा समेत ज्वरो र रुघा खोकीलगायत लक्षण देखिएको छ । संक्रमित स्वास्थ्यकर्मीलाई ३ देखि ५ दिन आइसोलेसनमा राखेर सेवामा फर्काउने गरिएको उनले बताए । अहिले संक्रमित सबै स्वास्थ्यकर्मी आइसोलेसनमै छन् । बिरामीको चापसमेत बढेका बेला स्वास्थ्यकर्मी संक्रमित हुँदा सेवाप्रवाहमा समस्या देखिएको छ ।

अहिले इमर्जेन्सी र ओपीडीमा दैनिक ५ सयभन्दा बढी बिरामी आउने गरेका छन् । अस्पतालका सबै बेड भरिभराउ छन् । निमोनिया, दम, रुघाखोकी र ज्वरोका बिरामी बढी आउने गरेको डा. भट्टले बताए । उनकाअनुसार अधिकांशको लक्षण कोरोनासँग मिल्दोजुल्दो छ । बिहीबार १० जनाको एन्टिजेन परीक्षण गर्दा ९ जनामा संक्रमण देखिएको थियो । ‘समुदायमा संक्रमण फैलिइसकेको छ, सबैले सतर्कता अपनाउनु आवश्यक छ,’ डा. भट्टले भने, ‘मास्क र सेनिटाइजरको प्रयोग अनिवार्य गर्नु जरुरी भइसकेको छ ।’ उनले अहिले महाकाली प्रादेशिक अस्पतालमा एन्टिजेन मात्रै परीक्षण भइरहेको र आइतबारदेखि पीसीआर परीक्षण पनि सुरु गरिने बताए ।

केही दिनयता संक्रमण तीव्र गतिमा बढ्दै गएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार बिहीबार मात्रै जिल्लामा ४३० जनाको एन्टिजेन परीक्षण गर्दा ३९ जनामा संक्रमण देखिएको थियो । जसमध्ये गड्डाचौकी हेल्थ डेस्कमा ११, भीमदत्त नगरपालिकामा १४, बेलौरी नगरपालिकामा ८, शुक्लाफाँटामा ३, कृष्णपुरमा २ र पुनर्वासमा १ जनामा संक्रमण देखिएको छ ।

शनिबार गड्डाचौकी नाकामा ३४८ को एन्टिजेन परीक्षण गर्दा १२ जनामा संक्रमण देखियो । हेल्थ डेस्ककी अनमी प्रिती बोहराका अनुसार अहिले भारतबाट घर फर्किने सबैको परीक्षण भइरहेको छ । केही दिनअघिसम्म लक्षण देखिएका, शंकास्पद र प्रभावित क्षेत्रबाट आएकाहरूको मात्रै परीक्षण हुने गरेको थियो ।

कोरोना संक्रमण बढ्दै गएपछि उपचारमा समस्या देखिएको छ । सरकारले संक्रमित गम्भीर बिरामीको उपचारका लागि सुदूरपश्चिम प्रदेशमा कैलालीको सेती प्रादेशिक अस्पताल र डडेलधुराको उपक्षेत्रीय अस्पताललाई मात्रै तोकेका कारण गम्भीर बिरामीको उपचारमा समस्या हुने भएको हो । ‘हामीकहाँ संरचना छ, जनशक्ति छ, तर सरकारले यस पटक त्यो सुविधा हामीलाई दिएन,’ मेसु भट्टले भने, ‘यहाँ आउने गम्भीर बिरामीलाई धनगढी वा डडेलधुरा पठाउनुपर्ने हुन्छ ।’ उनले महाकाली प्रदेशिक अस्पतालमा आईसीयूदेखि भेन्टिलेटर र अक्सिजन प्लान्टलगायत सबै सुविधा भएका कारण यहाँ पनि गम्भीर खालका बिरामीको उपचार गर्ने व्यवस्था मिलाउन आग्रह गरिएको बताए ।

प्रकाशित : श्रावण २२, २०७९ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?