२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

एमालेले प्रधानन्यायाधीशलाई जोगाउन चाहिरहेको छ : सांसद गजुरेल

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्तारुढ माओवादी केन्द्रका सांसद हरिबोल गजुरेलले प्रमुख प्रतिपक्षी एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई जोगाउन चाहिरहेको बताएका छन् । संसद्‍मा समयको कुरा देखाएर महाभियोगविरुद्ध गई प्रधानन्यायाधीशलाई जोगाउन खोजेको गजुरेलको भनाइ छ । 

एमालेले प्रधानन्यायाधीशलाई जोगाउन चाहिरहेको छ : सांसद गजुरेल

प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानन्यायाधीश जबराविरुद्ध लागेको महाभियोगमाथिको छलफलमा भाग लिँदै सांसद गजुरेलले सत्य के हो भन्नेमा केन्द्रित हुन सुझाव दिए । 'सर्वोच्च अदालतको अवस्था के थियो र त्यसलाई पार लगाउनका लागि विकल्प के थिए' भन्ने विषयमा छलफल हुनुपर्ने उनको भनाइ थियो ।

'हामी जनताका प्रतिनिधि हौं भने सत्यको पक्षमा उभिनुपर्छ कि पर्दैन ? प्रक्रिया मिल्यो, मिलेन, समय मिल्यो, मिलेन भन्ने कुरा मुख्य हो कि, गलत भएको हो कि होइन ? महाभियोग ल्याउन उपयुक्त थियो कि थिएन ? भन्ने कुरामा ध्यान जानुपर्‍यो,' उनले भने, 'प्रधानन्यायाधीशका विषयमा धेरै कुरा आइसके यहाँ व्याख्या गर्नु उचित छैन । अब सत्ता र प्रतिपक्ष एक ठाउँमा आएर यसलाई छिटो निकास दिनुपर्छ । दुई तिहाइ नभए पारित हुँदैन, प्रतिपक्षले सहयोग नगरी पारित हुँदैन । प्रतिपक्ष अगाडि आउन पर्‍यो नि । तर प्रतिपक्ष जिब्रो चपाएर कुरा गरिरहेको छ । यहाँ सोझै बोल्न गाह्रो छ । प्रतिपक्षी जोगाउन चाहिरहेको छ ।'

महाभियोगको विपक्षमा बोलेमा प्रतिपक्षको साख जनताको नजरमा गिर्ने बुझेर नै समयको कुरा मुख्य बनाइएको गजुरेलको भनाइ थियो । उनले व्यवस्था बदलिए पनि राजनीतिक चरित्र परिवर्तन हुन नसकेको समेत बताए ।

'महाभियोगमा उल्लेख प्रधानन्यायाधीश जबराका समग्र गतिविधि र त्यसका परिणाम राष्ट्रले भोगेको छ, देखेको छ । आम जनता त्यसमा स्पष्ट छ । तर संसद्‍ भित्र भएका राजनीतिक दलहरू यस्तो विषयमा पनि प्रष्ट रूपमा नआउने, जिब्रो चपाएर कुरा गर्ने ?' उनले प्रश्न गरे ।

प्रकाशित : श्रावण २२, २०७९ १४:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?