कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

गठबन्धनमा सामेल हुन लोसपालाई देउवाको प्रस्ताव

मधु शाही

काठमाडौँ — प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई सत्ता गठबन्धनमा सामेल हुन प्रस्ताव राखेका छन् । प्रधानमन्त्री देउवालाई भेट्न आइतबार बालुवाटार पुगेका लोसपाका शीर्ष नेताहरुलाई उक्त प्रस्ताव राखिएको वरिष्ठ नेता राजेन्द्र महतोले जानकारी दिए ।

गठबन्धनमा सामेल हुन लोसपालाई देउवाको प्रस्ताव

आफूहरुले पनि बाँकी माग पूरा भए गठबन्धनमा बस्ने विषयमा सकारात्मक रहेको बताएका नेता महतोले कान्तिपुरलाई जानकारी दिए ।

'गठबन्धन र चुनावका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाजीसँग भेटवार्ता भयो । गठबन्धनमा सहभागी हुन प्रधानमन्त्रीजीले प्रस्ताव गर्नुभयो । हाम्रा मागहरु पूरा हुन्छ भने लोसपा गठबन्धन वा चुनावी तालमेलका लागि सकारात्मक रहेको जवाफ दियौं,' नेता महतोले भने ।

लोसपाले तराईका नागरिकको नागरिकताको समस्या समाधान गर्नुपर्ने, विभिन्न आन्दोलनका क्रममा झुट्टा मुद्दा लागेका कार्यकर्तालाई रिहा गर्नुपर्नेलगायतका माग राख्दै आएको छ । ती मागमध्ये नागरिकता विधेयक संसद्‌बाट पारित भइसकेको छ ।

नेता महतोले भने, 'नागरिकता विधेयक त प्रतिनिधिसभाबाट पारित भइसकेको छ । हाम्रा नेता, कार्यकर्तामाथि लागेका मुद्दा फिर्ताबारे पनि प्रधानमन्त्रीजी सकारात्मक देखिनुभएको छ ।' सत्तामा सहभागी नभए पनि लोसपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गरेको छ ।

सत्तारुढ गठबन्धनमा अहिले कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा छन् । जसपाबाट फुटेर बनेको लोसपा र भर्खरै पुनर्गठन भएको बाबुराम भट्टराई र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीलाई पनि गठबन्धनमा सामेल गराउने सत्ता पक्षको प्रयास देखिन्छ ।

स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धन तालमेलसहित नेकपा एमाले-राप्रपाको गठबन्धनसँग प्रतिस्पर्धामा उत्रिएको थियो । आउँदो मंसिर ४ गतेका लागि घोषणा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि तालमेल गरेर चुनाव लड्ने गठबन्धनले निर्णय गरिसकेको छ ।

प्रकाशित : श्रावण २२, २०७९ १८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?