ठेक्का अवधि सकिँदा सडक १८ प्रतिशत मात्रै

ठेकेदार कम्पनी र आयोजनाको चरम लापरबाहीले सर्वसाधारण कष्टप्रद यात्रा गर्न बाध्य
नवीन पौडेल

परासी — पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ खण्ड । पानी पर्दा हिलाम्य हुन्छ । सडकमा भल बग्छ । वर्षायाम लागेयता केही स्थानमा सडक बगिसकेको छ । घाम लागेका दिन धूलोले अगाडिको सवारी नदेख्ने अवस्था छ । दिनहुँ सानाठूला दुर्घटना भइरहेका छन् । 

ठेक्का अवधि सकिँदा सडक १८ प्रतिशत मात्रै

१ सय १४ किलोमिटर सडक विस्तार सुरु भएको ३ वर्ष ४ महिना भएको छ । विस्तारको समयावधि आइतबार सकिएको छ । काम भने पूर्वी खण्डमा १८ प्रतिशत र पश्चिम खण्डमा २० प्रतिशतमात्र भएको छ । ठेकेदार कम्पनी र सडक विस्तार आयोजनाको चरम बेवास्ता र लापरबाहीका कारण कष्टप्रद यात्रा गर्न सर्वसाधारण बाध्य छन् ।

०७५ चैत ८ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलमा सडक विस्तारको शिलान्यास गरेका थिए । यो सडक खण्ड विस्तारका लागि चाइना स्टेट कर्पोरेसन कम्पनीले जिम्मा पाएको छ । विस्तारको काम छिटो गर्न संसदीय समितिको निर्देशनदेखि स्थानीय तवरबाट चर्को दबाब आउँदासमेत कोरोना कहर, निर्माण सामग्री अभावजस्ता बहाना बनाएर ठेकेदार कम्पनीले टारिरह्यो ।

यही सडक खण्डको दाउन्नेनजिकै दुम्कीबासमा गत साउन ११ गते बिहान हिलो र खाडलका कारण बस पल्टिँदा ३१ जना घाइते भए । चिप्लो सडकमा पल्टिएको ना५ख ५१०० नम्बरको बसमा आगलागी भयो । आगलागीबाट बस पूर्ण रूपमा नष्ट भए पनि मानवीय क्षति हुन पाएन । त्यसको केही दिनअगाडि कावासोतीस्थित हरकट्टा जंगलमा मालवाहक गाडी अनियन्त्रित भएर पल्टिएको थियो । सडकमा बनेको खाडल छल्न खोज्दा दुर्घटना भएको हो ।

पश्चिम नवलपरासीस्थित सुनवल–१२ भुमहीका स्थानीयले केही दिनअघि सडक जाम गरेर धूलोरहित बनाउन माग गरेपछि ठेकेदार कम्पनीले पानी हाल्न सुरु गरेको छ । आन्दोलन भएको केही स्थानमा कालोपत्रसमेत गरेको छ तर सम्झौताअनुसार धूलोरहित निर्माण कार्य अगाडि बढाउने सहमति ठेकेदारले कार्यान्वयन गरेको छैन । ठेकेदारलाई ताकेता गर्न र कामको गति बढाउन सम्बन्धित निकायले ध्यान नदिएको भुमहीका नवराज अधिकारीले बताए ।

सुनवलबाट भुमही जाने क्रममा केही दिनअघि घरनजिकै अधिकारीको स्कुटर दुर्घटनामा परेको थियो । धूलोका कारण सडक राम्ररी नदेखिएको र पानी जमेको खाडल सानो होला भनेर स्कुटर अगाडि बढाउँदा दुर्घटनामा परेको उनले बताए । ‘मर्मत गर्दा केही समय समस्या आउनु सामान्य हो तर वर्षौंदेखि सडकको अवस्था यस्तो हुँदासमेत सामान्य खाडल नपुर्नु र पानी नछम्किनु भनेको लापरबाहीको पराकाष्टा हो,’ अधिकारीले भने ।

‘सडकको आडैमा घर छ । धूलोले बस्न नसक्ने अवस्था छ । धूलोकै कारण रुघाखोकीको समस्या बढेको छ । निर्माणको काम अगाडि बढाउने भन्दै खाडल खनेर महिनौंसम्म नपुर्ने गर्दा पनि सबै चुपचाप छन् । सरकारले ठेकेदार कम्पनीलाई जरिवाना गर्ने र ठेक्का नै रद्द गर्न नसक्ने अनि ठेकेदारले भनेअनुसार म्याद थप गर्दै जाने हो भने अझै चार/पाँच वर्ष सडक विस्तार नहुने पक्का छ,’ उनले भने ।

खाडल, धूलो, हिलो र प्रदूषणले वाक्क भएका स्थानीयले जनप्रतिनिधिसँग गुनासो राख्दछन् तर जनप्रतिनिधिका अगाडि धूलोरहित बनाउने र निर्माणलाई तीव्रता दिने बचन दिने चिनियाँ ठेकेदार कम्पनीका प्रतिनिधि त्यसपछि सम्पर्कमा आउँदैनन् । अहिले बुटवल–नारायणगढ खण्डमा गाडी चलाउन कठिन छ । खाल्डाखुल्डी, धूलो र डाइभर्सनका कारण साना सवारी चालकले त सास्ती खेपिरहेका छन् । सडक विस्तार हुने खुसीमा रहेका आसपासका स्थानीय अहिले आजित भएका छन् । स्थानीयले आन्दोलन गरेमा केही समय पानी हाल्ने र सामान्य मर्मत गरेजस्तो गर्ने र अन्य स्थानमा सामान्य खाडलसमेत नपुर्ने परिपाटीको कारण चालक र यात्रु हैरान छन् ।

स्थानीय प्रशासनको कुरा नटेर्ने र केन्द्रले वास्ता नगर्दा समस्या थप बल्झिएको छ । विभिन्न स्थानमा पुल निर्माणका लागि बनाइएका डाइभर्सन सामान्य वर्षामा पनि बगाउँदा घण्टौंसम्म सवारी जाम हुने गरेको छ ।

एक/दुई घण्टामा पुगिने गन्तव्य ६/७ घण्टा लाग्दा थप समस्या उत्पन्न भएको छ । ‘मुख्य राजमार्ग विस्तारको काम सरकारले तदारुकताका साथ गराउन नसक्दा जनताले वर्षौंसम्म हिलो, धूलो र सास्ती भोग्नुपरेको छ,’ कावासोती–८ का रमेश मैनालीले भने, ‘पटक–पटक बहाना बनाउने कम्पनीको ठेक्का रद्द गरेर नयाँ प्रक्रियामा जाने हो भने अन्य निर्माण कम्पनीले पनि समयमा काम गर्ने र सचेत हुने थिए ।

विदेशी कम्पनी भएर होला, ठेकेदार कम्पनीले भनेअनुसार सरकार चलेको जस्तो अनुभव गरेका छौं । अब जनता सडकमा उत्रिएर आन्दोलन नगरेसम्म कामले तीव्रता लिने छाँट छैन ।’

हालसम्मको निर्माण कार्य चित्तबुझ्दो नभएको र अहिले पनि ढिलासुस्ती भइरहेको नारायणगढ–बुटवल सडक योजना पूर्वीखण्डका योजना प्रमुख रमेशकुमार दृष्टिले बताए । ‘सम्झौताअनुसार काम भएको छैन, हामीले सरकारी पक्षबाट काम तीव्र पार्न पटक–पटक सूचना गरेका छौं, काम अगाडि बढाउन सहजीकरण पनि गरेका छौं तर ठेकेदार कम्पनीले सम्झौताअनुसार काम गरेको छैन,’ उनले भने, ‘सम्झौता सकिन केही दिन मात्र बाँकी छ । ठेकेदारले म्याद थपको प्रस्ताव गरेको छ तर म्याद थप गर्ने वा नगर्ने विषय अझै पनि टुंगिएको छैन ।’

निर्माण कम्पनीलाई जरिवाना गरेर म्याद थप गर्ने वा सचेत बनाएर म्याद थप गर्ने भन्ने विषयमा सरकार अझै अन्योलमा नै छ । यस सडक खण्डमा २ सय १५ वटा कल्भर्ट र २२ साना पुल निर्माणाधीन अवस्थामा छन् । केही पुल र कल्भर्टको काम सम्पन्न भएको छ । कोरोना र निर्माण सामग्रीको बहाना बनाएको ठेकेदार कम्पनीले रूख कटान, बिजुलीको पोल सार्ने काम भइसक्दासमेत काममा ढिलासुस्ती गरेका कारण अब थप हुने समयमा पनि काम गर्नेमा सरकारी पक्ष नै आश्वस्त छैन ।

प्रकाशित : श्रावण २३, २०७९ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?