वैदेशिक रोजगारीमा मनोसामाजिक परामर्शको खाँचो

वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिट्यान्सले परिवारको जीवनशैली सहज बनाए पनि बढ्दो मनोसामाजिक समस्याले पारिवारिक तथा सामाजिक पाटो झन्–झन् जोखिम र चुनौतीपूर्ण बन्दै
विद्या राई

काठमाडौँ — काठमाडौंको तारकेश्वर–२ पदमसालमा बस्दै आएका गोरखाका ४१ वर्षीय दिनेश पाण्डे दम्पतीबीचको खटपटले बीभत्स हत्या र आत्महत्याको रूप लियो । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार पाण्डेले धारिलो हतियार प्रयोग गरी आफ्नी पत्नी, दुई नाबालक सन्तानको हत्या गरे, अनि आत्महत्याको बाटो रोजे ।

वैदेशिक रोजगारीमा मनोसामाजिक परामर्शको खाँचो

यही सोमबार बिहान घटनास्थलमा प्रहरीले फेला पारेको सुसाइड नोटका अनुसार पाण्डेले पत्नी सुनीतासँग सम्बन्ध बिग्रिएको, माइती पक्षसँग मिलेर सम्पत्ति हडप्न खोजेको, आफूलाई घरेलु हिंसाको आरोपमा प्रहरीमा थुनाएको लगायत उल्लेख गरेका छन् । यसअघि उनीहरूको घरझगडा तीन पटक बालाजु प्रहरी र एक पटक महाराजगन्ज वृत्तसम्म पुगेको खुलेको छ । वैदेशिक रोजगारीमा १२ वर्ष कुवेत बसेर पाण्डे केहीअघि मात्रै फर्किएका थिए । पारिवारिक बेमेल र झगडा अनि सम्पत्तिसँग जोडिएको यो बीभत्स घटनाले पति–पत्नीबीचको विवाद व्यवस्थापन र समाधान नहुँदा क्रूर अपराधमा पुगेको काठमाडौं उपत्यका अपराध अनुसन्धानका अधिकारी बताउँछन् ।

चितवनमा यही साउन ८ मा ४३ वर्षीय कृष्ण आचार्यले पत्नी रुष्मा घिमिरेको धारिलो हतियार प्रयोग गरी हत्या गरे । पत्नीको हत्या गरेर घरको तीन तलामाथिबाट हाम फालेका आचार्यको पनि मृत्यु भयो । चितवनका डीएसपी नरहरि अधिकारीका अनुसार पति वैदेशिक रोजगारीमा रहेकै बेलादेखिको विवाद चर्कंदै जाँदा उनीहरू सम्बन्धविच्छेदको प्रक्रियामा समेत थिए । ‘यहाँ (प्रहरी कार्यालयमा) उहाँहरूबीच पटकपटक छलफल पनि भएको हो, श्रीमान् विदेशबाट आएकै दिनदेखि कुटपिट गर्न थालेको भनी श्रीमतीको उजुरी आएको थियो,’ उनले भने, ‘मिलापत्र गरेर बस्नै नसक्ने भएपछि सम्बन्धविच्छेदका लागि अदालत जाने भनेर उहाँहरू जानुभएको थियो ।’ आचार्य एक महिनाअघि मात्रै कतारबाट फर्किएका थिए ।

वैदेशिक रोजगारी जोडिएको पारिवारिक संकटको यो प्रतिनिधिमूलक घटना मात्रै हो । श्रम तथा रोजगारविज्ञ सरु जोशी दम्पतीका यस्ता खटपटले निम्तिने आपराधिक घटनाले ‘पारिवारिक संकट’ लाई उजागर गरेको बताउँछिन् । ‘परिवार संकटमा छ, अरूको देखासिकीमा भड्किलो, खर्चिलो जीवनशैली बाँच्ने ट्रेन्ड छ । परिवार जेसुकै होस् वैदेशिक रोजगारीमा जानुपर्छ, पैसा नभई हुँदैन भन्ने मानसिकता समाजमा व्याप्त छ,’ उनी भन्छिन्, ‘वैदेशिक रोजगारीका नाममा श्रीमान् ८ देखि १३ चोटि विदेश गएका छन् । श्रीमान्–श्रीमती र परिवारबीच सम्पर्क पातलो भयो, अविश्वास बढ्यो, नसोचिएका घटनाहरूमा परिणत भइरहेको छ ।’ वैदेशिक रोजगारीले पति–पत्नीबीचको सम्बन्धमा मात्रै क्षति पुगेको छैन, अनाहकमा सन्तानले ज्यान गुमाउनुपरेको छ । बालबालिकाहरूमा मनोसामाजिक समस्या बढेर पढाइमा कमजोर हुने, अतिरिक्त कामको बोझ बढ्ने, यौन हिंसाको जोखिम, बालश्रम, बालविवाहको जोखिम हुने, कुलतमा फस्ने गर्छन् । जोशीले नेतृत्व गरेको ‘वैदेशिक रोजगारीले बालबालिकामा परेको प्रभावसम्बन्धी अध्ययन प्रतिवेदन–२०७६’ ले वैदेशिक रोजगारीबाट भित्रिने रेमिट्यान्सले पहिलेको तुलनामा धेरै परिवारको जीवनशैली सहज बनाउने भए पनि बढ्दो मनोसामाजिक समस्याले पारिवारिक तथा सामाजिक पाटो झन्झन् जोखिम र चुनौतीपूर्ण बन्दै गएको देखाएको छ ।

वैदेशिक रोजगारीमा गएको पतिले बेवास्ता गरेको, परस्त्रीसँग सम्बन्ध राखेको, खानलाउन नदिएको, परिवारले अपहेलना गरेको भन्दै महिलाहरू राष्ट्रिय महिला आयोगमा उजुरी दिन आइपुग्छन् । आयोगमा सूचना प्रविधि अधिकृत रामसुन्दर सापकोटाका अनुसार गत वर्ष यस्ता ८१ वटा उजुरी दर्ता भएका छन् । जसमध्ये ४२ वटा उजुरीको राष्ट्रिय महिला आयोग र १० वटा उजुरीमाथि कानुनी सहयोग तथा परामर्श केन्द्र (ल्याक) ले कानुनी परामर्श गराए । अरू पाँचवटाको आयोगले मिलापत्र गरायो । एक उजुरीमा सम्बन्धविच्छेदको अदालती प्रक्रियाका लागि ल्याकमा रिफर गरिएको थियो । आयोगकी प्रवक्ता चमिला भट्टराईका अनुसार वैदेशिक रोजगारीमा भएको पतिले दुःख दिएको भनेर महिलाहरू मात्रै उजुरी गर्न आउँदैनन्, पुरुषहरूसमेत न्याय चाहियो भन्दै आउँछन् । उनीहरूलाई राष्ट्रिय मानवअधिकार आयोगमा पठाउने गरेको उनले बताइन् ।

सांसद गंगा चौधरीले पनि गत वर्ष वैदेशिक रोजगारीमा गएका पुरुषहरू आफ्ना पत्नीबाटै पीडित हुने गरेको भनाइ राख्दा निकै चर्चा भएको थियो । ‘पुरुषहरू विदेशबाट आएर राम्रो लाऊँला, राम्रो खाऊँला, परिवारलाई दिऊँला भनेर विदेशिएका हुन्छन्, यता श्रीमती अर्कै केटोसँग घुम्ने, भएभरको सम्पत्ति कुम्ल्याएको छ, अनि तिनीहरू कहाँ न्याय पाउने ? हामी सबै महिला ठीक भनेर हुँदैन, महिलाभन्दा पुरुष धेरै पीडित छन्, भन्न मात्रै नसकेको हो,’ गतवर्ष प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिमा राष्ट्रिय महिला आयोगको प्रतिवेदनमाथि छलफलको क्रममा सांसद चौधरीले भनेकी थिइन् ।

वैदेशिक रोजगारी आयआर्जनको प्रमुख विकल्प बनेको अवस्थामा केही घटनालाई लिएर सामान्यीकरण गर्न नहुने श्रम तथा रोजगारविज्ञ जोशी बताउँछिन् । ‘महिलाहरू अब आफ्नो जीवन बाँच्न चाहन्छ, समाजको परम्परागतभन्दा पनि नयाँ ट्रेन्डसँग कसरी मिलाएर जाने, परिवार र सरकारले सोच्नुपर्‍यो । गतवर्ष एउटा स्थानीय तहले दुई वर्षमुनिको बच्चा छोडेर आमालाई विदेश जान नदिने उर्दी जारी गर्‍यो, सन्तानप्रति आमालाई जिम्मेवारी गराउँदा बाउलाई पनि गराइनुपर्छ,’ उनले भनिन्, ‘कति ठाउँमा श्रीमान्ले श्रीमती र श्रीमतीले श्रीमान् छोडेको छ, यसमा अध्ययन हुनुपर्‍यो । युट्युबमा हेरेको भरमा मानसिकता बनाउन हुँदैन, यो बेथिति अरूमा पनि छ ।’ जीविका चलाउन वैदेशिक रोजगार नभई नहुने स्थितिमा सरकारले अभिभावकत्व लिनुपर्ने, मानसिक स्वास्थ्यमा अध्ययन गर्नुपर्ने, स्थानीय सरकारले मनोसामाजिक तथा पुनः एकीकरणका कार्यक्रम गर्नुपर्ने र सुरक्षित वैदेशिक रोजगारीका लागि परराष्ट्र मन्त्रालय र सम्बन्धित देशका राजदूतसँग समन्वय गर्नुपर्ने बताइन् ।

सुरक्षित वैदेशिक रोजगारीका लागि सहायता दिँदै आएको सुरक्षित आप्रवासन परियोजना (सामी) का कर्मचारी पनि महिलालाई लाञ्छना लगाउने सामाजिक संरचनाले गर्दा पारिवारिक विखण्डन बढ्ने गरेको बताउँछन् । उनीहरूका सम्पर्कमा आउनेहरूबाट श्रीमान्–श्रीमती दुवै समस्यामा परेका घटना छन् ।

वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले श्रम स्वीकृति लिएर जाने नेपालीको शारीरिक र मानसिक स्वास्थ्यमा बोर्ड संवेदनशील रहँदै आएको बताए । ‘सकारात्मक पक्ष सीपयुक्त जनशक्ति र रेमिट्यान्स आउँछ भन्ने हो, नकारात्मक अंगभंग भएकाहरू, तनावमा परेकाहरूलाई पनि ल्याउनुपरेको छ र शव भित्र्याउनुपरेको छ,’ उनले भने, ‘सबैमा भन्न मिल्दैन केहीमा श्रीमान्–श्रीमतीबीच शंकाले गर्दा विग्रह आउने देखिएको छ । यस वर्षदेखि विदेशमा भएका शारीरिक र मानसिक समस्यामा रहेकालाई फोन, इन्टरनेटमार्फत परामर्श दिने, स्वदेशमा रहेका परिवारलाई परामर्श सेवा विस्तार गर्दै जाने, विदेशबाट फर्केकालाई पुनः एकीकरण र मनोसामाजिक परामर्श दिने कार्यक्रम छ ।’ उनका अनुसार विदेश जानुअघि तनाव व्यवस्थापनको परामर्श दिइँदै आएको थियो । तर पर्याप्त नहुने देखिएकाले यो कार्यक्रम ल्याइएको उनले बताए । हाल वैदेशिक रोजगारीका कारण उत्पन्न सबै समस्याहरू समाधानका लागि सहयोग गर्ने गरी सामी परियोजना सञ्चालनमा रहेको उनी बताउँछन् । परियोजनाले वैदेशिक रोजगारीमा गएका व्यक्तिको परिवारका सदस्य, विदेशबाट फर्केकालाई वित्तीय साक्षरता (रेमिट्यान्सको सदुपयोग) र मनोसामाजिक परामर्श गराउने गर्छ ।

सन् २०११ मा दुई जिल्लामा सुरु भएको यो परियोजना हाल ३९ जिल्लाका १ सय ५६ पालिकामा सञ्चालनमा छ । यसमा पाँच हजारभन्दा बढी युवाहरूले वैदेशिक रोजगारीको श्रम स्वीकृति लिएका जिल्लाहरू छनोटमा छन् । यसबाट लाभान्वितहरूमा महिलाको संख्या बढी छ । पछिल्लो चार वर्षमा ३१ हजार ६ सय ६ जनाले वित्तीय साक्षरता र मनोसामाजिक परामर्श लिएका छन् । जसमा पुरुष ४ सय २५ मात्रै छन् । व्यक्तिगत रूपमा ६ हजार ३ सय ५६ जनाले मनोसामाजिक परामर्श लिए । जसमा पुरुष ६ सय ९ जना छन् । ‘पुरुषहरू नै वैदेशिक रोजगारीमा धेरै हुन्छन्, महिला एकदमै थोरै भएकाले लाभान्वितमा महिलाकै बढी देखिएको हो । सुरुमा सामूहिक रूपमा परामर्श दिने, आवश्यकता अनुसार गोपनीयतालाई ख्याल गर्दै घरैमा मनोसामाजिक परामर्श गराइन्छ, किनकि अझै पनि मानसिक स्वास्थ्यलाई हेयको दृष्टिले हेर्ने चलन छ,’ परियोजनाकी एक कर्मचारीले बताइन् । सामी परियोजना लागू भएका पालिकामा वैदेशिक रोजगारीले विवाद उत्पन्न भए प्रहरीमा परेका उजुरी पनि रेफर भएर आउँछन् । चार वर्षका लागि २०७५/७६ देखि सुरु भएको परियोजनाको अवधि आगामी दुई वर्षका लागि थप भएको छ ।

प्रकाशित : श्रावण २३, २०७९ १०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?