१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सत्ता गठबन्धनमा सिट बाँडफाँट गर्न बनेको कार्यदलको पहिलो बैठक बस्दै

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्ता गठबन्धन दलबीच सिट बाँडफाँटका लागि बनेको कार्यदलको बैठक सोमबार बस्दैछ । सरकारले आगामी मंसिर ४ गतेका लागि संघ र प्रदेशको निर्वाचनको मिति घोषणा गरेलगत्तै गठबन्धन दलले चुनावमा तालमेल गरेर जाने सहमति गरेका छन् ।

सत्ता गठबन्धनमा सिट बाँडफाँट गर्न बनेको कार्यदलको पहिलो बैठक बस्दै

गठबन्धनले पाँचवटै दलका नेता सम्मिलित ११ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलको पहिलो बैठक सोमबार बस्न लागेको हो ।

दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको कार्यदलका एक सदस्यले जानकारी दिए । गठबन्धनले कार्यदललाई श्रावण मसान्तभित्र सिट बाँडफाँटको खाका तयार गरी बुझाउन भनेको छ ।

ती नेताका अनुसार सोमबार बस्ने बैठकले कार्यदलले कसरी काम गर्ने भन्नेबारे समेत टुंगो लगाउनेछ । त्यसपछि कार्यदलले काम थाल्नेछ ।

कार्यदलमा नेपाली कांग्रेसबाट महामन्त्री गगनकुमार थापा, नेता कृष्णप्रसाद सिटौला र ज्ञानेन्द्रबहादुर कार्की छन् भने माओवादी केन्द्रबाट वर्षमान पुन र जर्नादन शर्मा छन् ।

यस्तै, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।

प्रकाशित : श्रावण २३, २०७९ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?