फोहोर ओसार्ने गाडीमा तोडफोड, काठमाडौंको फोहोर तत्काल नउठ्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — बन्चरे डाँडा ल्यान्डफिल क्षेत्रमा फोहोर बोकेर गएका गाडीहरू सोमबार राति तोडफोड गरिएको छ । धादिङ र नुवाकोटको सिमाना नजिकै पार्किङ गरेर राखिएको फोहोर बोकेका १४ वटा टिपर सोमबार राति तोडफोड भएको काठमाडौं महानगरपालिकाले जनाएको छ । 

फोहोर ओसार्ने गाडीमा तोडफोड, काठमाडौंको फोहोर तत्काल नउठ्ने

महानगरपालिकाका इन्जिनियर सरकारदिप श्रेष्ठका अनुसार दुई वटा डोजर, एउटा स्काभेटर र १४ वटा टिपरको सिसा राति अज्ञात समूहले फुटाएको हो ।

नुवाकोट र धादिङको सिमाना नजिकैको कोल्पु खोला अगाडि पार्किङ गरिएका ती सवारी राति ८ बजे ५० मिनेटमा तोडफोड भएको प्रहरीले जनाएको छ । तोडफोड भएका सवारी साधानहरु फोहोर मैला व्यवस्थापन गर्ने कम्पनी र निजी क्षेत्रका हुन् ।

सोमबार दिउँसो काठमाडौं महानगरपालिकाले बल प्रयोग गरेर बन्चरे डाँडामा ४० टिपर फोहोर विसर्जन गराएको थियो । राति अबेर भएपछि फोहोर बोकेका टिपर सशस्त्र प्रहरीको बेस क्याम्प नजिकै रहेको क्षेत्रमा पार्किङ गरेर राखिएका थिए । तोडफोड भएपछि घट्नास्थलमा प्रहरी मध्यरात १२ बजे पुगेको थियो ।

यसैबीच, टिपर चालकहरूले सिसडोलमा मंगलबार बिहान नाराबाजी गरेका छन् । सशस्त्र प्रहरी पोस्ट नजिकै पार्किङ गरेर राखिएको गाडीलाई समेत सुरक्षा दिन नसकेको भन्दै उनीहरुले केही बेर नाराबाजी गरेका थिए ।

काठमाडौं महानगरले सिसडोलको सडक मर्मत गरेपछि फोहोर विसर्जन सहज हुने अनुमान थियो । नुवाकोट र धादिङका स्थानीयले फोहोर बोकेको गाडीबाट धेरै धुलो उड्यो भन्दै गाडी आवातजावतमा रोक लगाउन खोजेका थिए । उनीहरुले ढुवानीमा अवरोध गर्न खोजेपछि सोमबार काठमाडौंबाटै प्रहरी झिकाएर फोहोर विसर्जन गराइएको थियो । त्यहाँ कार्यरत एकजना सुरक्षाकर्मीले कान्तिपुरसँगको फोन कुराकानीमा भने,' हिजो फोहोर विसर्जन गर्दासम्म सबै शान्त थिए । आन्दोलनकारीहरुले कुनै प्रतिक्रिया पनि दिएनन् । राति पानी परेको थियो, कति बजे कसले फुटायो थाहा भएन । हामीले थाहा पाउँदा ९ बज्‍न लागेको थियो।'

महानगरपालिकाका इन्जिनियर श्रेष्ठले घटनाबारे अनुसन्धान भइरहेको बताए । 'यस्तो अवस्था छ अब फोहोर कसरी विसर्जन गर्नु ?' उनले भने ।

प्रकाशित : श्रावण २४, २०७९ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?