१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कहिले चल्छ नारायणीमा पानीजहाज ?

भारतबाट आएका इन्जिनियरहरूले काब्रेघाटमा नै क्रुज तयार गरेका थिए । पानीजहाजकै झल्को दिने क्रुजले सुरु-सुरुमा निकै ठूलो चर्चा बटुलेको थियो । अहिले भने सुनसान किनारमा नदीको भेलको धक्का सहँदै एक्लै परेको छ क्रुज ।
रमेशकुमार पौडेल

चितवन — तीन वर्षअघि दशैंका बेलामा नै चलाउने तयारीका साथ निर्माण सुरु भएको क्रुजसिप (पर्यटक राखेर नदीमा चलाइने सानो पानी जहाज) अहिलेसम्म सञ्चालनमा आएको छैन । क्रुज तयार छ । तर चलाउने सुरसार देखिएको छैन । ०७६ माघमा उपराष्ट्रपति नन्दबहादुर पुनसमेत उक्त क्रुजमा चढेर नारायणीमा आधा घण्टा जति टहलिएका थिए । तर सर्वसाधरणलाई बोकेर हिँड्ने मेसो अहिलेसम्म आएको छैन ।

कहिले चल्छ नारायणीमा पानीजहाज ?

नारायणगढदेखि झन्डै ६ किलोमिटर पश्चिम भरतपुर महानगरपालिका–१६ मंगलपुरको काब्रेघाटमा स्टेसन रहेको क्रुज दुई तलाको छ । क्रुजमा एक पटकमा दुई सय जना बस्न मिल्छ । राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले १५ करोड रुपैयाँ खर्च गरेर क्रुज बनाएको हो । प्रालिले ०७६ सालको साउनमा आयोजना गरेको पत्रकार सम्मेलनमा कम्पनीका प्रवन्ध निर्देशक रामचन्द्र कँडेलले त्यो वर्षको दशैंमै क्रुज चलाउने बताएका थिए ।

तर समयमै क्रुज तयार नभएपछि चलाउने कुरै भएन । ०७६ सालको पुसमा परीक्षणका रूपमा नारायणीमा चलाउन सुरु भयो । त्यो बेला अंग्रेजी नयाँ वर्षको सन्दर्भ पारेर क्रुजलाई व्यावसायिक रुपमा नै चलाउने भनिएको थियो । तर साजसज्जाका काम बाँकी नै रहेकाले विशिष्ट व्यक्तिहरूलाई राखेर केही बेर नारायणीमा डुलाउनेबाहेक अरु गतिविधि भएन । ०७७ सालको नयाँ वर्षबाट चलाउने योजना त बन्यो तर कोरोना सुरु भयो ।

कोरोना कालपछि अन्य पर्यटकीय गतिविधि सुरु भए । तर क्रुज चल्ने संकेत अझै देखिएको छैन । कुनै बेला बन्दै गरेको क्रुज हेर्न नै सर्वसाधरण झुम्मिने गर्दथे । फोटो खिचाउनेहरु प्रशस्तै हुन्थे । ज्ञानेश्वर सामुदायिक वनको आडमा क्रुजको स्टेसन रहेको छ । गैंडाको राम्रो बासस्थल रहेको ज्ञानेश्वर वनमा घुम्न र पिकनिक खान जानेहरूको भीडभाड हुन्छ । ज्ञानेश्वर पुगेकाहरू क्रुज हेर्न पनि जाने गर्दथे र कहिले चल्छ भन्ने जिज्ञासा राख्थे । ‘ज्ञानेश्वर वनले दिएको एक हेक्टर जमिनमा नै क्रुजको स्टेसन छ । हाम्रो वनमा पर्यापर्यटनको राम्रो विकास भएको थियो । क्रुज आए झनै नयाँ खाले पर्यटकीय गतिविधि सुरु हुन्छ भन्ने लागेर स्टेसन राख्न जग्गा दियौं,’ ज्ञानेश्वर सामुदायिक वनका पुर्व अध्यक्ष तथा मंगलपुरका बासिन्दा सुरबिर पोखरेलले भने । क्रुज आउने भयो भनेपछि वरपर राम्रा राम्रा होटल रेस्टुरेन्टहरू धमाधम खुले । जग्गाको भाउ पनि बढ्यो ।

‘तर मान्छेहरु अहिले अलि निरास छन् । चल्छ वा चल्दैन दुविधामा छन् । खै के भएछ र नचलेको,’ सामुदायिक वनका पूर्वअध्यक्ष पोखरेलले भने । कुनै बेला चहलपहल हुने काब्रेघाट क्षेत्र अहिले सुनसान छ । नदी किनारमा क्रुज बेबारिसे जस्तै भएर बसेको छ । कम्पनीले रेखदेख गर्न एकजना सुरक्षा गार्ड राखेको छ । मालसामान दिएकाहरू बाँकी उठाउन भन्दै आउँछन् । तर सुरक्षा गार्डबाहेक अरु त्यहाँ कोही भेटिँदैनन् ।

एक वर्षअघि लगेको एसीको भुक्तानी नपाएपछि नारायणगढका विष्णुप्रसाद कँडेलले जडान गरेको एसी सेट नै झिकेर लगे । कम्पनीले ६० हजार रुपैयाँ पर्ने एसीको भुक्तानी नदिएको फिर्ता ल्याएको उनको भनाइ छ । कम्पनीका कार्यकारी निर्देशक दीपक ढुंगेलले क्रुजको व्यावसायिक सञ्चालन चाँडै नै हुने बताए । ‘यो वर्षा सकिएलगत्तै सेम्टेम्बरबाट हामी क्रुज चलाउँछौँ, कसैलाई दुविधा नहोस,’ ढुंगेलले भने ।

क्रुज तयार भए पनि केही नीतिगत कुराहरुले गर्दा नचलाएको उनले बताए । ‘क्रुजको लाइसेन्स, बिमाजस्ता विषयहरु थिए । यी कामहरू पूरा गर्न समय लागेको हो । अब यी नीतिगत कुराहरू पनि टुङ्गिएका छन् । नदीमा भेल आउन छाडेपछि हामीले व्यावसायिक रूपमा क्रुज चलाउन सुरु गर्दछौं,’ ढुंगेलले सुनाए । क्रुज झन्डै १३० टनको छ ।

काब्रेघाटबाट देवघाट पुगेर फर्कने गरेर पर्यटकलाई घुमाउने योजना कम्पनीले बनाएको थियो । निश्चित रकम तिरेर क्रुजमा चढेपछि पर्यटकहरू तीन घण्टासम्म डुल्न पाउने छन् । ब्रेकफास्टदेखि लञ्चसम्म क्रुजमै उपलब्ध हुने योजना कम्पनीले अगाडि सारेको थियो । भारतबाट आएका इन्जिनियरहरूले काब्रेघाटमा नै क्रुज तयार गरेका थिए । पानीजहाजकै झल्को दिने क्रुजले सुरु-सुरुमा निकै ठूलो चर्चा बटुलेको थियो । अहिले भने सुनसान किनारमा नदीको भेलको धक्का सहँदै एक्लै परेको छ क्रुज ।

प्रकाशित : श्रावण २४, २०७९ ११:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?