१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

कांग्रेसले बोलायो स्थानीय जनप्रतिनिधिको भेला

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्तारुढ नेपाली कांग्रेसले स्थानीय तहका जनप्रतिनिधिको भेला बोलाएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मिति घोषणा भएलगत्तै कांग्रेसले देशभर गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा कांग्रेसबाट निर्वाचित भएका जनप्रतिनिधिहरूको भेला बोलाएको हो ।

कांग्रेसले बोलायो स्थानीय जनप्रतिनिधिको भेला

सोमबार बसेको पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकमा महामन्त्री गगन थापाले स्थानीय तहका जनप्रतिनिधिको भेला बोलाउने र अभिमुखीकरण गर्ने प्रस्ताव पेश गरेका थिए ।

बैठकले साउन ३० र ३१ गते काठमाडौंमा स्थानीय तहका जनप्रतिनिधिको भेला गर्ने निर्णय गरेको छ । महामन्त्री थापाले स्थानीय तहका जनप्रतिनिधिहरूलाई स्थानीय सरकार सञ्चालनका विविध विषयमा अभिमुखीकरण गर्ने उद्देश्यले भेला बोलाइएको बताए ।

स्थानीय तह निर्वाचनमा घोषणा पत्र तयारी समितिको संयोजककोरुपमा काम गरेका थापाले त्यसबेलै घोषणा पत्रबारे स्थानीय तहका जनप्रतिनिधिहरूलाई काठमाडौंमा बोलाएर अभिमुखीकरण गर्ने र त्यसको कार्यान्वयनका लागि प्रतिबद्धता लिने बताएका थिए ।

कांग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सत्ता गठबन्धन दलसँग चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरिसकेको छ । नेताहरूले गठबन्धनमा सिट बाँडफाँटको छलफल चलिरहेका बेला स्थानीय तहका जनप्रतिनिधिको भेला हुँदा त्यहाँ कहाँ कुन दलको कस्तो अवस्था छ भन्नेबारे छलफल हुनुलाई स्वभाविक भनेका छन् ।

यसपटक नेपाली कांग्रेसले ३२९ पालिकामा प्रमुख पदमा जितेको छ भने ३०१ पालिकामा उपप्रमुख जितेको छ ।

बैठकले भदौ २ गतेदेखि २४ गतेसम्म देशव्यापी चुनावलक्षित अभियानसमेत चलाउने भएको छ । नेताहरुले अभियानकालागि केन्द्रबाट प्रतिनिधि खटाउने निर्णय गरेका छन् ।

प्रकाशित : श्रावण २४, २०७९ ११:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?