२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

राष्ट्रिय अर्थतन्त्रमा बल पुग्ने गरी वनको सदुपयोग हुनुपर्छ : ओली

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अर्थतन्त्रमा बल पुर्‍याउने गरी वनको सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन् । नेपालमा वनको बहुआयाम रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसको सदुपयोग गरेर मुलुकमा रोजगारीको अवसर सिर्जना गर्न सकिने, विकास र समृद्धिको अभियानलाई तीव्रताका साथ अघि बढाउन सकिने पनि स्पष्ट पारे ।

राष्ट्रिय अर्थतन्त्रमा बल पुग्ने गरी वनको सदुपयोग हुनुपर्छ : ओली

सामुदायिक वन दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालले सामुदायिक वनमार्फत विश्वलाई सकारात्मक योगदान पुर्‍याएको पनि स्पष्ट पारे । सामुदायिक वनको अवधारणाको माध्यामबाट नै नेपालमा वनको विनाश रोकिएको र त्यसैकारण कार्बन व्यापारको सम्भावनाको मार्ग पनि खुलेको अध्यक्ष ओलीले स्मरण गराए ।

‘विकासका लागि वन, समृद्धिका लागि वन, रोजगारीका लागि वन । वनका बहुआयाम छन । ती सबै आयाम कसरी प्राप्त गर्ने ? वनको सुरक्षा हुनुपर्‍यो । र, त्यसको सदुपयोग पनि हुनुपर्‍यो । वनबाट राष्ट्रिय अर्थतन्त्रमा समेत बल पुर्‍याउने कुरामा जोड दिनुपर्दछ । हाम्रो देश वनजंगलका लागि, काष्ठ, फलफूल, अन्नबालीदेखि लिएर वनस्पतिसम्मका लागि एकदमै अनुकूल छ । तिनीहरूका लागि आवश्यक सबै उचाइहरू हामीसँग छ । सामुदायिक वनमार्फत राज्यलाई पुर्‍याउने योगदान, विश्वलाई पुर्‍याउने योगदान, सिंगो मानव जातिका लागि पुर्‍याउने योगदान पृथ्वीमै पुर्‍याउने योगदान महत्त्वपूर्ण छ,’ उनले भने ।

अध्यक्ष ओलीले नेपाल वन र वनस्पतीहरूका लागि अनुकूल भूमि भएको उल्लेख गर्दै यसैको सदुपयोग गरेको अघि बढ्दा सिंगो मानवजातिकै हित हुने बताए ।

केही समयअघि वैज्ञानिक वन व्यवस्थापनको नाममा वन विनासको काम सुरु भए पनि आफू नेतृत्वको सरकारले त्यसलाई रोकेर दिगो वन व्यवस्थापनको नीति अघि सारेको उनले बताए ।

प्रकाशित : श्रावण २४, २०७९ १७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?