१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

कैदीबन्दीको सिदा र पर्व खर्च बढाइने

साउनबाटै बढेको भत्ता पाउने गरी नियमावली संशोधन गरिँदै
कान्तिपुर संवाददाता

काठमाडौँ — विभिन्न कसुरमा कैद भुक्तानरत र मुद्दाको किनारा नलागेर पुर्पक्ष थुनामा रहेका कैदी तथा बन्दीको नगद भत्ता (नगद सिदा) वृद्धि हुने भएको छ । कैदीबन्दीले पाउने दैनिक भत्ता र दसैं खर्चबापतको रकम वृद्धि गर्न गृह मन्त्रालयले कारागार नियमावली– २०२० संशोधन प्रक्रिया अघि बढाएको हो । गृह मन्त्रालयका अनुसार साउनबाटै बढेको भत्ता पाउने गरी नियमावली संशोधन गर्न लागिएको छ । 

कैदीबन्दीको सिदा र पर्व खर्च बढाइने

हाल कैदीबन्दीले दैनिक पाउँदै आएको नगद भत्ता रकम ६० रुपैयाँबाट बढाएर ८० प्रस्ताव गरिएको छ । चाडपर्व खर्चबापत प्रत्येक वर्ष कैदीबन्दीले एकमुष्ट ३ सय रुपैयाँ पाउँदै आएकामा अब १ हजार रुपैयाँ प्रस्ताव गरिएको छ । कारागार व्यवस्थापन विभागले दैनिक भत्ताबापत शतप्रतिशत अर्थात् १ सय २० रुपैयाँ र चाडपर्व खर्चबापत एक वर्षमा एकमुष्ट ५ हजार रुपैयाँ दिन विभागले प्रस्ताव गरेको थियो । तर, विभागको प्रस्ताव संशोधन गर्दै पर्व खर्च १ हजार र दैनिक भत्ता ८० कायम गर्ने गरी अर्थ मन्त्रालयले सैद्धान्तिक सहमति दिएको छ ।

दैनिक रूपमा कैदीबन्दीलाई दिइँदै आएको चामलको परिमाण भने यथावत् राख्न प्रस्ताव गरिएको छ । १८ वर्षमाथिका कैदीले दैनिक ७ सय ग्राम चामल पाउँछन् । तर, ७ महिनादेखि १ वर्षसम्मकालाई १ सय ग्राम, १ वर्षदेखि तीन वर्ष सम्मकालाई १ सय ५० ग्राम, तीन वर्षदेखि ५ वर्षसम्मकालाई २ सय ग्राम, पाँचदेखि ७ वर्षसम्मलाई २ सय ५० ग्राम, सातदेखि १२ वर्षसम्मलाई ४ सय ५० ग्राम र १२ देखि १८ वर्षसम्मकालाई ६ सय ग्राम चामल र सबैलाई दैनिक ३५ रुपैयाँ सिदा दिइँदै आएको छ ।

हालै प्रतिनिधिसभाबाट पारित कारागारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक राष्ट्रिय सभाबाट पारित भई राष्ट्रपतिले प्रमाणीकरण गरेमा त्यहीअनुसार नियमावलीमा बढाउन प्रस्ताव गरिएको गृह मन्त्रालयका एक अधिकारीले जानकारी दिए । साउन ८ मा प्रतिनिधिसभाबाट पारित विधेयक राष्ट्रिय सभामा विचाराधीन छ ।

विभागका महानिर्देशक वासुदेव घिमिरेले कैदीबन्दीका लागि पर्व खर्च र दैनिक भत्ता बढाउने गरी कारागार नियमावली संशोधनको मस्यौदा गृह मन्त्रालयमा पठाइएको बताए । प्रस्तावित मस्यौदा संशोधनका क्रममा रहेको र संशोधनपछि मात्रै यसबारे औपचारिक विवरण बाहिर ल्याइने उनको भनाइ छ ।

कारागार नियमावली २०२० को नियम २३ अनुसार थुनुवा वा कैदीलाई मोटो चामल ७ सय र दैनिक ८० रुपैयाँ तथा चाडपर्व खर्चबापत प्रत्येक वर्ष एकमुष्ट तीन सय रुपैयाँ दिइने उल्लेख छ । सोही नियममा कैदीबन्दीसँगै रहेका दूधेबच्चादेखि सुधारगृहमा रहेका नाबालक/ नाबालिकाका लागि पनि दैनिक ३५ रुपैयाँ दिइने गरेकामा यसमा पनि संशोधन गरी ३३ प्रतिशत रकम बढाउन प्रस्ताव गरिएको छ । विभागको २०७९ असार मसान्तसम्मको विवरणअनुसार हाल देशभरका कारागारमा २६ हजार २ सय ४० कैदीबन्दी र १ हजार ६४ बालबालिका सुधारगृहमा छन् ।

प्रकाशित : श्रावण २५, २०७९ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?