कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उपत्यकामा बाढी : दर्जनौं बस्तीमा डुबान, साढे तीन सय जनाको उद्धार

कान्तिपुर संवाददाता

काठमाडौँ — मंगलबार राति आएको वर्षा र बाढीले काठमाडौं उपत्यकाका दर्जनौँ ठाउँमा क्षति पुर्‍याएको छ । वर्षापछि मनोहरा खोलामा बाढी आउँदा आसपासका दर्जनौँ बस्ती डुबानमा परेका हुन् । प्रहरीका अनुसार अहिलेसम्म कुनै मानवीय क्षति भएको जानकारी छैन । तर, बाढीले ठूलो मात्रामा पशुचौपाया, लत्ताकपडा, खाद्यान्नका सामाग्री बगाएको छ भने भौतिक संरचनामा समेत क्षति पुर्‍याएको छ । 

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सन्तोषसिंह राठोरले मनोहरा नदीमा आएको बाढीका कारण आसपासका दर्जनौँ बस्तीहरु डुबानमा परेको बताए ।

उनका अनुसार प्रहरीले डुबानमा परेका र सम्भावित जोखिममा रहेका करिब साढे तीन सय जनालाई प्रहरीले मंगलबार राति उद्धार गरेको छ । जडीबुटी क्षेत्रको सुकुम्बासी बस्तीका तीन सय जनालाई उद्धार गरी कोटेश्वर बहुमुखी क्याम्पसमा राखिएको छ ।

त्यस्तै, शंखरापुर नगरपालिका–६ र ९ तथा कागेश्वरी मनोहरा नगरपाकिा–४ बाट १७ जनालाई उद्धार गरिएको छ । महादेव खोलामा आएको बाढीले विद्युत्‌‌का पोलमा क्षति पुर्‍याएका कारण यहाँ विद्युत अवरुद्ध छ ।

त्यस्तै, पेप्सीकोला क्षेत्रबाट १५ जनालाई उद्धार गरी सुरक्षित ठाउँमा राखिएको प्रवक्ता राठोरले जानकारी दिए । ‘वर्षाले नदीमा पानीको मात्रा बढेपछि किनारामा कटान गरेको छ, आसपासका बस्तीहरु डुबेका छन् भने सुकुम्बासी बस्तीमा बाढी पसेको छ,’ प्रवक्ता राठोरले भने, ‘मानवीय क्षति छैन । तर, ठूलो मात्रामा पशुचौपाया, खाद्यान्न, लत्ताकपडालगायत सामाग्रीहरु बगाएको छ । क्षतिको विवरण यकिन भइसकेको छैन ।’

बाढीले मनोहरा आसपासका सुकुम्बासी बस्तीमा करिब एक सय घर डुबाएको छ भने काँडाघारी प्रहरी प्रभागसहित आसपासका करिब दुई सय घर डुबाएको छ । दुवाकोट बेंशीमा पनि २० वटा सुकुम्बासीका छाप्रोमा पानी पसेको छ । मध्यपुरथिमि नगरपालिका–१ मा माटोको ढिस्को खोलामा पस्दा खोलाले धार नै परिवर्तन गरी बस्तीमा पसेको छ ।

उपत्यका प्रहरी कार्यालयका प्रवक्ता राठोरले अहिले डुबान भएको क्षेत्रमा क्रमश: पानीको सतह घटेको जानकारी दिए ।

‘अहिले पानीको सतह घटेको छ । तर, सम्भावित जोखिमलाई ध्यानमा राखेर हामीले मानिसहरुलाई बस्तीमा फर्किन दिएका छैनौँ,’ उनले भने, ‘क्षतिको विवरण यकिन भइरहेको छ । काठमाडौं, ललितपुर र भक्तपुरमा सम्भावित जोखिमलाई हेरेर १५–१५ जनाको टोली उद्धारका लागि तयारी अवस्थामा छ ।’

यो पनि :

मंगलबार साँझको वर्षाले काँडाघारी क्षेत्रमा डुबान, प्रहरी प्रभागको किचनसहित दुई घर बगायो

मनोहराको सुकुम्बासी बस्ती डुबानमा

प्रकाशित : श्रावण २५, २०७९ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?