कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

७७ ठाउँमा सीमा अतिक्रमण भयो, सरकारले भारतसँग छलफल गर्नुपर्छ : भीम रावल

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमालेका नेता भीम रावलले सरकारले संविधानमा उल्लिखित कानुनलाई बेवास्ता गरेर देशप्रति बेइमानी गर्न लागिपरेको आरोप लगाएका छन् । नागरिकता विधेयकको सन्दर्भमा सांसद रावलले यस्तो बताएका हुन् ।

७७ ठाउँमा सीमा अतिक्रमण भयो, सरकारले भारतसँग छलफल गर्नुपर्छ : भीम रावल

यस क्रममा सांसद रावलले विभिन्न ७७ ठाउँका सीमा अतिक्रमणमा परेको भन्दै उक्त समस्या समाधानका लागि सरकारले भारतसँग छलफल गर्नुपर्ने बताएका छन् ।

नागरिकता विधेयकको प्रसंग निकाल्दै नेपाली पुरुषसँग विवाह गर्ने महिलालाई तत्काल नागरिकता दिने कुरा नेपालको हीतमा नरहेको उनले बताएका थिए । जुन संविधान विपरीत भएको रावलको दाबी छ ।

बुधबार काठमाडौंमा नेपाली चलचित्र 'काँडेतार'को बारेमा जानकारी दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले हरेक देशमा विवाह हुने बित्तिकै कोही पनि विदेशी नागरिकलाई देशको नागरिकता दिने प्रावधान नरहेको र नागरिकता प्राप्तिका लागि केही समय कुर्नुपर्ने स्थिति रहेको स्मरण गराएका थिए ।

यस्तै संशोधित नागरिकता विधेयकले देशकै नागरिकलाई अल्पमतमा पार्ने पनि उनको जिकिर थियो । ‘हामीले नागरिकताका बारेमा बारम्बार भनेका छौँ । देशभक्त नेपालीले नागरिकता पाउनुपर्छ । तर विवाह गरेर आउनेबित्तिकै नागरिकता दिने भन्ने कुरा छ, त्यो हुनु हुँदैन । नागरिकता लिनलाई नेपालीसँग विवाह गर्ने महिलाले ७ वर्ष कुर्नुपर्छ भन्दा भारतविरोधी काम भयो भन्न मिल्छ ? अनुहारको आधारमा नागरिकता रोक्न खोजेको भन्नेहरू देशलाई विखण्डन गर्ने तत्व हुन् । नागरिकताको बारेमा संविधानमा उल्लेखित गर्दा दिएको वचनबाट पछि हट्नु भनेको देशप्रतिको बेइमानी हो । संसारमा कुनै पनि देशले नागरिकतालाई खुकुलो बनाउँदैन । तर नेपाल यति धेरै ठूलो जनसंख्या भएका देशका बीचमा बसेर खुकुलो बनाइरहेको छ,’ नेता रावलले भने ।

यस्तै रावलले सरकारले देशका सिमाना नियमन गर्न आवश्यक रहेको पनि बताए । उनले नेपालीहरुले अन्तर्राष्ट्रिय कानुन अनुसार भारतसँग सुमधुर सम्बन्ध कायम राख्न सीमाको व्यवस्थापन गर्न जरुरी रहेको बताए । सुस्ता, कालापानी, सन्दुकपुर लगायत देशका ७७ ठाउँमा सीमा अतिक्रमणमा परेको भन्दै बहुमतको बलियो सरकारले सीमा समस्याको समाधानका लागि भारतसँग छलफल गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

प्रकाशित : श्रावण २५, २०७९ १७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?