१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२
नेकपा एस

गठबन्धनभित्रैको डर, गठबन्धनकै भर

मणि दाहाल

काठमाडौँ — स्थानीय चुनावको परिणाम आएलगत्तै नेकपा एकीकृत समाजवादीका विभिन्न कमिटीहरुका बैठकले गठबन्धनबाट धोका भएको निष्कर्ष निकालेका थिए ।सुरुमा सचिवालय त्यसपछिका क्रमश: स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी हुँदै केन्द्रीय परिषद् बैठकहरुले गरेको समीक्षामा स्थानीय चुनावमा कम स्थान आउनुको प्रमुख कारणमध्ये एउटा गठबन्धनभित्रका दलहरुको असहयोग भन्ने थियो । 

गठबन्धनभित्रैको डर, गठबन्धनकै भर

गठबन्धनका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबाट अपेक्षाकृत सहयोग नभएको र दुवै दलले ‘उपगठबन्धन’ निर्माण गरेर विभिन्न स्थानमा धोका दिएको निष्कर्ष थियो ।

स्थानीय चुनावको यसरी समीक्षा गरेको दल एकीकृत समाजवादी मंसिर ४ मा हुने आमचुनावमा कांग्रेस र माओवादी केन्द्रको गठबन्धनसँगै चुनावमा जाँदैछ । एकीकृत समाजवादी महासचिव वेदुराम भुसालले स्थानीय तहको चुनावमा भएको कमजोरीको विषयको समीक्षा आगामी दिनमा गठबन्धनभित्र समस्या नआओस् भनेर मात्र गरिएको बताए ।

‘स्थानीय चुनावको कुरा त्यसबाटै सकियो । त्यसबाट भएको गल्तीलाई समीक्षा गर्ने र दोहोरिन नदिने भन्ने कुरा हो । संसदीय चुनावमा त्यस्तै नहोस भन्ने हो’ भुसालले ईकान्तिपुरसँग भने ।

पार्टी गठन भएपछि एकीकृत समाजवादी पहिलो पटक भाग लिएको स्थानीय चुनावमा २० स्थानीय तह प्रमुखमात्रै जितेको थियो । त्यो संख्या नेताहरुले जित्ने भनेर दाबी गर्दै आएको भन्दा निकै कम थियो । अन्य दलहरु भने एकीकृत समाजवादीले आफ्नो हैसियतभन्दा बढी दाबी गर्ने गरेको बताउँछन् । केन्द्रमा निर्णय भए पनि कार्यान्वयन गर्ने तहमा उदासिनता देखिएको एकीकृत समाजवादीको समीक्षा थियो ।

चुनावलगत्तै सो दलका नेताहरुले धोका भएको भन्दै एक्लै चुनाव लड्ने चेतावनीयुक्त भाषण गर्ने गरेका थिए । गठबन्धनको विषयमा निर्मम समीक्षा गर्नुपर्ने धारणामा राख्ने नेताहरुमा अग्रपंक्तिमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल रहेका थिए । तर अहिले खनालले त्यस विषयलाई उठाउन छाडेका छन् भने पार्टीका सबै कमिटीहरुको औपचारिक निर्णय भने अहिलेको गठबन्धनलाई कायम राख्ने भन्नेछ ।

त्रिभुवन विश्वविद्यालयको राजनीतिशास्त्र विभागका प्रमुख रामकृष्ण तिवारीले एकीकृत समाजवादीलाई अहिलेको जति शक्ति कायम गर्नका लागि पनि गठबन्धन बाहिर जाने सक्ने कुनै विकल्प नभएको बताउँछन् ।

‘एकीकृत समाजवादीले आफूलाई राष्ट्रिय राजनीतिमा सान्दर्भिक बनाइराख्न आमनिर्वाचनमा कस्तो प्रदर्शन गर्छ त्यसमा निर्भर हुन्छ । अहिलेकै हैसियत बनाइराख्ने हो भने पनि स्थानीय चुनावमा गरेको प्रदर्शन भन्दा अझै राम्रो गर्नुपर्छ’ तिवारीले भने, ‘अहिलेको अवस्थामा अन्य दलहरुको साथ नलिई त्यसो दलले अहिले भैरहेको शक्ति पनि बचाउन सक्छ जस्तो देखिदैँन । त्यसैले उ गठबन्धनमा भर पर्नुपरेको छ ।’

एमालेबाट विभाजन हुँदा २३ जना सांसदहरु यो पार्टीमा संलग्न भए । जसमा प्रत्यक्षबाट निर्वाचित १३ जना रहेका छन् । त्यसैगरी अहिले २ प्रदेश सरकारको नेतृत्व गर्ने अवसर प्राप्त गरेको छ । सुदूर पश्चिम प्रदेशसभामा सबैभन्दा ठूलो दलको हैसियतमा समेत रहेको छ ।

तर अब यही हैसियतमा बसिराख्न नेकपा एसलाई चुनौतीपूर्ण छ । अध्यादेशमार्फत् राजनीतिक दल सम्बन्धी कानुन संशोधन गरेर २० प्रतिशत केन्द्रीय सदस्यको समर्थनमा राजनीतिक दलको मान्यता पाए पनि अब चुनावपछि राष्ट्रिय पार्टी बन्न प्रत्यक्षतर्फ एक सिट र सदर मतको ३ प्रतिशत हासिल गर्नुपर्ने हुन्छ ।

कान्तिपुरले देशभरका वडाध्यक्षहरुले प्राप्त गरेको मतलाई विश्लेषण तयार पारेको तथ्याकं अनुसार एकीकृत समाजवादी एक्लै चुनाव जित्ने क्षेत्र एक मात्रै रहेको देखिन्छ । अध्यक्ष माधवकुमार नेपालको गृहनगर रौतहट १ मा मात्रै एकीकृत समाजवादी अघि रहेको छ । एक्लाएक्लै चुनाव लड्दा माओवादी केन्द्रले ८ स्थान मात्रै जित्छ । तर एमाले वा कांग्रेससँग माओवादी केन्द्रले तर्फ मिल्दा त्यसले जितहारमा ठूलो उलटफेर ल्याउन सक्छ ।

‘कतिपय अवस्थामा शीर्ष नेताहरु पनि चुनाव हारेको इतिहास पनि छ । त्यसैले कसैले रिस्क लिन चाहँदैन’ तिवारीले भने, ‘अहिलेका लागि माधवकुमार नेपालको पार्टीको एमालेबाट विभाजित भएर आउँदा जे जति शक्ति थियो त्यसलाई कायम राख्ने चुनौती रहेको छ ।’

आवश्यकता पर्दा एक्लै चुनाव लड्ने र वामपन्थी शक्तिबीच ध्रुवीकरण गराउने निर्णय गरेपनि अहिले गठबन्धनमै भर परेको छ । ‘कम्युनिष्ट आन्दोलनलाई एकता बनाउने विषय हो । तर त्यसमा ठोस केही भएको छैन । धारणा राख्ने पहल नै नगर्ने भन्ने कुरा हुँदैन’ महासचिव भुसालले भने, ‘पहल मात्रै हो । त्यसमा ठोस रुपमा केही भएको छैन ।’

सो दलले पनि स्थानीय तह तथा राष्ट्रियसभा चुनावजस्तै सम्बन्धित दलले जितेको निर्वाचन क्षेत्र लिने र एमालेले जितेको सिट बाँडफाँट गर्न चाहेको छ । कांग्रेस बाहेकका अन्य दलहरु त्यसमा सकारात्मक रहेको महासचिव भुसाल बताउँछन् ।

माओवादी केन्द्र र एकिकृत समाजवादीका नेताहरु दुई तिहाई रहेको वामपन्थी मत र बहुमतको सरकार छाडेर आएको अवस्थामा गठबन्धन बनाएर हासिल गरेको उपलब्धीको विषयलाई उठाउने गरेका छन् ।

एकीकृत समाजवादी र माओवादी केन्द्रबीच एकता हुने वा एउटै चुनाव चिन्हबाट प्रतिस्पर्धामा जाने चर्चा पनि राजनीतिक वृत्तमा चलिरहेको छ । तर एउटै चुनाव चिह्नबाट लड्दा धेरै जटिलता रहेको कारणले त्यस विषयमा छलफल नै नभएको महासचिव भुसालले जानकारी दिए ।

‘सो केही साना दल ठूलो चुनाव चिन्हबाट प्रतिस्पर्धा गर्ने भन्ने विषयमात्रै हो । देशभर संगठन भएका र समानुपातिकको मत सहितको विषयमा रहेको जटिलाहरुको कारण संभव छैन ’ भुसालले भने, ‘ छलफलमै नभएको कुरा बाहिर आएको छ । कसैले एउटा चुनाव चिह्न हुँदा राम्रो हुन्छ भन्ने लाग्यो होला । मनोगत कुरा भयो । यस विषयमा गठबन्धनभित्र छलफल पनि भएको छैन ।’

२०७४ सालको चुनावमा हृदयेश त्रिपाठी र वृजेशकुमार गुप्तासहितका केही नेताहरुले एमालेको चुनाव चिह्न बाट प्रतिस्पर्धा गरेर जितेका थिए ।

प्रकाशित : श्रावण २५, २०७९ २०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?