परराष्ट्रमन्त्रीको चीन भ्रमण

चीनले नेपाललाई १५ अर्बभन्दा बढी आर्थिक सहयोग दिने

केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्य अध्ययनका लागि अनुदान सहयोग गर्ने
निजामति कर्मचारी अस्पतालमा ब्लड क्यान्सरको उपचारको लागि कार टी सेल प्रयोगशाला स्थापना गर्ने
चीन फर्कन चाहने विद्यार्थीलाई स्वास्थ्य प्रोटोकल अनुसार भिसा प्रक्रिया अघि बढाइने
जगदीश्वर पाण्डे

काठमाडौँ — चीनले नेपाललाई विभिन्न शीर्षकमा १५ अर्ब रुपैयाँभन्दा बढी सहयोग गर्ने भएको छ । बहुचर्चित केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययनका लागि अनुदान उपलब्ध गराउने प्रतिबद्धता पनि चीनले व्यक्त गरेको छ । 

चीनले नेपाललाई १५ अर्बभन्दा बढी आर्थिक सहयोग दिने

चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री नारायण खड्कासँग बुधबार भएको भेटवार्तामा चिनियाँ समकक्षी वाङ यीले आर्थिक सहयोगको प्रतिबद्धता गरेका हुन् । उनीहरूबीच सान्तोङ प्रान्तको छिङ्ताओमा करिब दुई घण्टा द्विपक्षीय वार्ता भएको थियो । वार्तापछि बेइजिङस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा चीन र नेपालबीच एक दर्जनभन्दा बढी विषयमा सहमति भएको उल्लेख छ । सहमतिअनुसार नेपालले चीनबाट ८०० मिलियन आरएमबी (करिब १५ अर्ब १३ करोड रुपैयाँ) सहयोग सन् २०२२ मा पाउनेछ । यस्तै तीन मिलियन आरएमबी (करिब साढे ५ करोड रुपैयाँ) नेपालको विपद् व्यवस्थापनमा र दुई मिलियन आरएमबी (करिब ३ करोड ७८ लाख रुपैयाँ) मेडिकल सामग्रीका लागि चीनले सहयोग गर्नेछ ।

नेपाल–चीन नाका सञ्चालनका लागि संयुक्त संयन्त्र बनाएर काम गर्न पनि दुई मन्त्री सहमत भएका छन् । रुसुवागढी–केरुङ नाका र तातोपानी जाङ्मु नाकालाई दुईतर्फी सञ्चालनमा ल्याउने तथा हिल्सा–पुलन नाका एकतर्फी रूपमा सञ्चालन गर्न सहमति भएको दूतावासले जनाएको छ । सीमाका विषयमा द्विपक्षीय प्राविधिक समिति गठन गर्ने सहमति पनि भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार चीनको अनुदान सहयोगमा केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन हुने भएको छ । यसअघि पनि चीनकै सहयोगमा उक्त रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन भएको थियो । चिनियाँ राष्ट्रपति सी चिनफिङले सन् २०१९ मा नेपाल भ्रमण गर्दा उक्त रेलमार्गलाई अघि बढाउने सहमति भएको थियो ।

नेपाल–चीन सीमापार प्रसारण लाइनको पूर्वसम्भाव्यता अध्ययन हुने भएको छ । चैतमा चीनका विदेशमन्त्री वाङले नेपाल भ्रमण गर्दा सीमापार प्रसारण लाइन निर्माण अघि बढाउने सहमति भएको थियो । नेपाललाई रासायनिक मल उपलब्ध गराउन र नेपालमा रासायनिक मल उद्योग खोल्नका लागि सम्भाव्य अध्ययन गर्न पनि सहयोग गर्ने प्रतिबद्धता चीनले व्यक्त गरेको छ । मन्त्री वाङले नेपाललाई आवश्यक कोभिड–१९ को खोप तथा अन्य मेडिकल सामग्री उपलब्ध गराउने तथा निजामती सेवा अस्पतालमा ब्लड क्यान्सर उपचारका लागि चिमेरिक एन्टिजेन रिसेप्टर टी सेल प्रयोगशाला स्थापनामा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

चीनले आफ्नो मुलुक फर्कन चाहने नेपाली विद्यार्थीलाई स्वास्थ्य प्रोटोकलअनुसार भिसा प्रक्रिया अघि बढाउने भएको छ । चिनियाँ सहयोगमा निर्माण भइरहेका परियोजनालाई तीव्र रूपमा अघि बढाउने र विभिन्न समयमा भएका सम्झौता र सहमतिलाई कार्यान्वयन गर्न पनि दुवै पक्ष सहमत भएका छन् ।

मन्त्रालयले दुई मन्त्रीबीचको बैठक सौहार्दपूर्ण र फलदायी रहेको जनाएको छ । दुवै मन्त्री नेपाल र चीन सम्बन्धका सबै पक्ष समीक्षा गर्दै आपसी हितका क्षेत्रमा सहयोग अभिवृद्धि गर्न सहमत भएको मन्त्रालयले ट्वीटमार्फत उल्लेख गरेको छ । नेपाल–चीन सम्बन्ध र सहयोगका समग्र पक्षको समीक्षा गर्दै व्यापार, कनेक्टिभिटी, लगानी, स्वास्थ्य, पर्यटन, गरिबी निवारण, कृषि, विपद् व्यवस्थापन, शिक्षा, संस्कृति र जनतालगायत क्षेत्रमा सहयोगलाई थप प्रवर्द्धनका लागि दुई मन्त्रीले सहमति गरेको मन्त्रालयले जनाएको छ । गत चैतमा भएको वाङको नेपाल भ्रमणपछि द्विपक्षीय सहयोगका विषयमा भएको प्रगतिप्रति दुवै पक्षले सन्तुष्टि जनाएको पनि मन्त्रालयले जनाएको छ ।

एक चीन नीतिको प्रशंसा

नेपालले एक चीन नीतिमा आफ्नो धारणालाई फेरि सार्वजनिक गरेकामा चीनले प्रशंसा गरेको छ । ‘पछिल्लो समय नेपालले एक चीन नीतिलाई लिएर सार्वजनिक गरेको धारणालाई लिएर उनीहरू खुसी थिए,’ द्विपक्षीय बैठकमा सहभागी नेपाली अधिकारीले भने ।

भेटवार्तामा खड्काले एक चीन नीतिप्रति नेपालको प्रतिबद्धता दोहोर्‍याउँदै नेपाली भूमि चीनविरुद्ध कुनै पनि गतिविधिमा प्रयोग हुन नदिने आश्वासन दिएका थिए । अर्कातर्फ वाङले नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डताप्रति चीनको निरन्तर र निःसर्त समर्थन दोहोर्‍याए । उनले नेपाल सरकारको प्राथमिकताअनुसार विकास प्रयासमा सहयोग गर्ने आश्वासन पनि दिए ।

अमेरिकी सभामुखको ताइवान भ्रमणपछि चीनले नेपालसहित विभिन्न मुलुकलाई एक चीन नीतिप्रति प्रतिबद्धता जनाउन अप्रत्यक्ष रूपमा आह्वान गरेको थियो । नेपाल सरकारले परराष्ट्र मन्त्रालयमार्फत नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको टिप्पणी गरेको थियो ।

नेपाल–चीन सहमति

  • सन् २०२२ मा ८०० मिलियन आरएमबी (करिब १५ अर्ब १३ करोड रूपैयाँ) सहयोग गर्ने
  • तीन मिलियन आरएमबी (करिब साढे ५ करोड रूपैयाँ) नेपालको विपद् व्यवस्थापनका लागि सहयोग गर्ने
  • दुई मिलियन आरएमबी (करिब ३ करोड ७८ लाख रूपैयाँ) नेपालको मेडिकल सामग्रीमा सहयोग गर्ने
  • संयुक्त संयन्त्र बनाएर नाका सञ्चालनमा काम गर्ने
  • चीनको अनुदान सहयोगमा केरूङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन हुने
  • नेपाल–चीन सीमापार प्रसारण लाइनको पूर्वसम्भाव्यता अध्ययन गर्ने
  • नेपाललाई रासायनिक मल उपलब्ध गराउने र नेपालमा रासायनिक मलको उद्योग खोल्न सम्भाव्य अध्ययन गर्ने
  • कोभिड–१९ विरूद्धको आवश्यक खोप उपलब्ध गराउने
  • कोभिड–१९ उपचारमा चाहिने मेडिकल सामग्री उपलब्ध गराउने
  • निजामती अस्पतालमा ब्लड क्यान्सर उपचारका लागि चिमेरिक एन्टिजेन रिसेप्टर टी सेल प्रयोगशाला स्थापना गर्ने
  • चीन फर्कन चाहने विद्यार्थीलाई स्वास्थ्य प्रोटोकलअनुसार भिसा प्रक्रिया अघि बढाउने
  • नेपाल–चीन सीमा अध्ययनका लागि द्विपक्षीय प्राविधिक समिति गठन गर्ने
  • दुवै पक्षले चिनियाँ सहयोगमा निर्माण भइरहेका परियोजनालाई कार्यान्वयन गर्ने
  • विभिन्न समयमा दुई पक्षबीच भएका सम्झौता र सहमतिलाई कार्यान्वयन गर्ने

प्रकाशित : श्रावण २५, २०७९ २३:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?