देउवा र निधि : जुगलबन्दी

निधिले गत साता दिल्लीमा भाजपा नेता र मन्त्रीसँग भेटघाट गरेदेखि नै दुई नेताबीच पुनर्मिलन बलियो बनेको कांग्रेस वृत्तमा चर्चा 
कुलचन्द्र न्यौपाने

काठमाडौँ — पार्टीको १४ औं महाधिवेशनमा ‘तपाईंकै प्रस्तावमा म सभापति बन्न चाहन्छु, मलाई सहयोग गर्नुहोस्’ भन्दा नमानेपछि उम्मेदवारी घोषणा गरेर ०७८ भदौ ४ देखि सभापति शेरबहादुर देउवासँग सम्बन्ध तोडेका कांग्रेस नेता बिमलेन्द्र निधि एक वर्ष नबित्दै मिल्ने प्रयासमा छन् । निधिले गत साता दिल्लीमा भाजपा नेता र मन्त्रीसँग भेटघाट गरेदेखि नै दुई नेताबीच पुनर्मिलन भएको चर्चा पनि कांग्रेस वृत्तमा चलिरहेको छ । 

देउवा र निधि : जुगलबन्दी

कांग्रेसका कतिपय नेता देउवा र निधिलाई मिलाउन आन्तरिक प्रयास मात्रै नभएर लैनचौर (भारतीय दूतावास) देखि दिल्लीसमेतको चासो र सदाशयता रहेको दाबी गर्छन् । बालुवाटारसँग नजिक रहेका केही नेताका अनुसार देउवा र निधि दुवैले एकअर्काको आवश्यकता बोध गरेरै सम्बन्ध बढाउन चाहेका हुन् । ‘केही व्यक्तिविशेषले चासो राखेको हुन सक्छ तर भारतीय नेताहरूले मिलाइदिन खोजेको भन्ने कुरा सत्य होइन,’ देउवानिकट एक नेताले भने ।

दिल्लीमा भएको निधिको राजनीतिक भेटवार्तालाई लिएर देउवा समूहमा ठूलै तरंग खडा भएको छ । त्यसले देउवाको उत्तराधिकारीको प्रतिस्पर्धामा रहेका उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री बालकृष्ण खाँणसहितका नेतामा कौतूहल सिर्जना भएको नेताहरू बताउँछन् । एक नेताका अनुसार देउवाले मंगलबार आफ्नो ‘कोर समूह’ भित्र यस विषयमा छलफलसमेत गरेका थिए । ‘दिल्लीमा निधिजीले गरेको राजनीतिक भेटवार्ता र कांग्रेसमा संस्थापन समूहसँगै सम्बन्ध बढाउन चाहेको विषयमा छलफल चलेको थियो, सभापतिजीले अहिल्यै पूर्ण विश्वास गरेजस्तो त हामीलाई लागेन,’ ती नेताले भने, ‘पुरानो सम्बन्ध रहेकाले कुनै पनि बेला पूर्ववत् सम्बन्धमा फर्कने सम्भावना भने छ ।’

भारतका लागि नेपाली राजदूत रहिसकेका कांग्रेस नेता दीपकुमार उपाध्याय व्यक्तिविशेषको सोचाइ भए पनि भारतीय नेताहरूले नै देउवा र निधिलाई मिलाउने काम गरेको भनाइसँग आफू सहमत हुन नसक्ने बताए । ‘दुवैले आफ्नो प्रतिकूल अवस्था देखेरै अनुकूल सम्बन्ध बनाउन चाहेको हुन सक्छ । बिमलजी हुँदा शेरबहादुरजीलाई पार्टी र सरकार सञ्चालनमा ढुक्कजस्तै थियो । कतिपय मुद्दामा राय बझाएर भए पनि शेरबहादुरजीसँग अडान राख्ने साहस गर्नुहुन्थ्यो । त्यसले शेरबहादुरजीलाई फाइदा नै पुर्‍याएको थियो,’ उनले भने, ‘अहिले शेरबहादुरजीसँग जति नेता छन्, ती सबै एस म्यान मात्रै छन् ।’

देउवामा सही सल्लाह दिँदा पुनर्विचार गर्ने बानीसमेत रहेको उपाध्याय बताउँछन् । ‘एस म्यानहरू रिसाउलान् भनेर सही सल्लाह दिन सक्दैनन् । त्यसैले पनि सरकार बारम्बार विवादमा पर्ने गरेको छ,’ उनले थपे, ‘शेरबहादुरजीलाई पनि बिमलजीको अभाव भएको हुन सक्छ । महाधिवेशनपछि बिमलजीलाई पनि शेरबहादुरजीसँगै हुँदा आफ्नो राजनीतिक उचाइ बढाउन सकिन्छ भन्ने लागेको हुन सक्छ ।’

निधिले भने देउवासँग सहकार्य गर्नकै लागि सभापतिको दोस्रो चरणको निर्वाचनमा आफूले भोट दिएको बताए । ‘बीपीकै पालादेखि पार्टीमा विभिन्न शक्ति केन्द्र रहँदै आएका छन् । पार्टीको १४ औं महाधिवेशनमा शेखर कोइराला, प्रकाशमान सिंह र म सभापतिमा चुनावै लडेका हौं । रामचन्द्र पौडेल र शशांक कोइराला चुनाव लड्नुभएन । उहाँहरू पनि एउटा शक्ति हो । म त सहयोग गर्न तयारै छु । तर सभापतिलाई सबै शक्ति मिलाएर जानुपर्छ भन्दै आएको छु ।’

महाधिवेशनमा पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा बढी मत ल्याउने देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा भएको थियो । दोस्रो चरणमा निधिले देउवालाई सहयोग गरेका थिए । त्यस बेलादेखि नै निधिले देउवासँग सम्बन्ध बढाउन खोजेका थिए । तर, देउवाले तत्काल निधिलाई विश्वासमा लिइहाल्न चाहेनन् वा सकेनन् । पार्टीको मधेस प्रदेश र जिल्ला अधिवेशनमा देउवासँगै मिलेर जाने प्रयास निधिको थियो । ‘साथीहरू मानेनन्’ भनेर देउवा निधिसँग पन्छिए । अधिवेशनमा देउवा र निधिका अलग–अलग उम्मेदवार खडा भए ।

भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिरमा मिथिलावासीका तर्फबाट राख्न खोजिएको धनुष र कालीगण्डकीको शिलाबाट मन्दिर बनाउने दुई वटा प्रस्ताव बोकेर प्राविधिक टोलीसहित साउन १३ मा गएका निधिले फर्कंदा दिल्लीमा बाक्लो राजनीतिक भेटघाट गरेका थिए । उनले मध्यप्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहान, राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) का महामन्त्री दत्तात्रेय होसबोले, भारतका सडक परिवहनमन्त्री नितिन गडकरी, सत्तारूढ भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेसहितका नेतासँग भेटघाट गरेका हुन् । सबै भेटघाटमा नेपालको आन्तरिक राजनीतिका विषयमा कुराकानी नभएको निधिको दाबी छ । ‘विशुद्ध धार्मिक एजेन्डा बोकेर प्राविधिक टोलीसहित भारत गएको हुँ । यसपटक राजनीतिक विषय मेरो प्राथमिकता नै थिएन,’ निधिले कान्तिपुरसित भने ।

बालुवाटार स्रोतका अनुसार निधि भारत जानुअघि देउवाले भारतस्थित नेपाली राजदूत शंकर शर्मालाई फोन गरेर भेटको तारतम्यमा सहयोग गरिदिन भनेका थिए । ‘निधिजीले भारत जान लागेको जानकारी गराउनासाथ प्रधानमन्त्रीले परराष्ट्रमन्त्री नारायण खड्कालाई फोन गर्नुभयो । उहाँको फोन अफ रहेछ । तत्कालै राजदूत शर्मालाई फोन गरेर सबै सहयोग गर्न निर्देशन दिनुभयो,’ बालुवाटार स्रोतले भन्यो । स्रोतका अनुसार निधिले देउवासँग आफू व्यक्तिगत तहको आलोचनामा नलागेको र सहयोग गर्न तयारै रहेको बताउँदै आएका छन् । प्रधानमन्त्री देउवा पनि सकारात्मक छन् । ‘कुनै पनि बेला उहाँहरूको सम्बन्ध पूर्ववत् अवस्थामा विकास हुन सक्छ,’ स्रोतले भन्यो ।

निधि ०५२ सालपछि देउवाको बलियो खम्बा बनेर उभिएका थिए । ०५२ सालमा एमालेको अल्पमतको सरकार ढलेपछि बनेको देउवा नेतृत्वको सरकारमा निधि सामान्य प्रशासनमन्त्री थिए । त्यस बेलासम्म देउवा कोइराला र निधि कृष्णप्रसाद भट्टराई समूहमा थिए । प्रधानमन्त्री बनेपछि कोइराला र देउवाबीच शक्ति संघर्ष सुरु भयो । अन्ततः देउवा कोइरालालाई छाडेर भट्टराई समूहमा प्रवेश गरे ।

शीर्ष नेता गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको आपसी द्वन्द्वको लाभ देउवाले उठाउँदै गए । पार्टीभित्रै वैकल्पिक नेतृत्वका रूपमा स्थापित भएका देउवालाई निधिले सधैं साथ दिए । देउवाको हरेक निर्णयमा उनी अघि सरेर प्रतिरक्षा गर्थे ।

०७४ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकार छँदा प्रहरी महानिरीक्षक बनाउने सवालमा देउवा र निधिबीच विवाद भयो । निधि त्यति बेला उपप्रधानसहित गृहमन्त्री थिए । देउवा दाहालपछिको ‘वेटिङ’ प्रधानमन्त्री ।

तत्कालीन दुई डीआईजी नवराज सिलवाल र जयबहादुर चन्दबीच कसलाई आईजीपी बनाउने विषयमा देउवा चन्दको पक्षमा र निधि सिलवालको पक्षमा थिए । अन्तिममा चन्द बढुवा भए । तर त्यस प्रकरणलाई देउवाले सल्टाए । देउवाले निधिलाई उपसभापति बनाएर विश्वासमा राख्ने काम गरे । तर, पछि महाधिवेशनमा उम्मेदवारी घोषणा गरेर निधि देउवासँग अलग्गिए ।

प्रकाशित : श्रावण २६, २०७९ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?