कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

गोरखा क्षेत्र नम्बर २ भट्टराईलाई छाड्न सक्दैनौँ : पाण्डे

कान्तिपुर संवाददाता

गोरखा — २०७४ को निर्वाचनमा दुई ‘हेभिवेट’ नेताको प्रतिस्पर्धाले चर्चा पाएको गोरखाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा अहिले भने कांग्रेसले दाबी गरेको छ । यसअघिको निर्वाचनमा तत्कालीन नयाँ शक्ति पार्टीका नेता बाबुराम भट्टराई विजयी बनेपछिको अभिव्यक्ति र व्यवहारले कांग्रेस समर्थक र शुभचिन्तकको मन कुँडिएको कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले बताए ।

गोरखा क्षेत्र नम्बर २ भट्टराईलाई छाड्न सक्दैनौँ : पाण्डे

‘विगतको निर्वाचनमा बाबुराम भट्टराइलाई सहयोग गरेका हौँ,’ उनले भने,‘निर्वाचित गराएर पठाइसकेपछि कांग्रेस पार्टीप्रति जस्तो व्यवहार र अभिव्यक्ति आए, कांग्रेसका समर्थक, शुभचिन्तक र भोटरहरूको मन कुँडिएको अवस्था छ ।’

गठबन्धनबाट विजयी गराएर पठाएपछि सदासयता र सहिष्णुता प्राप्त गर्न नसकेको उनले बताए । ‘पटक/पटक अर्को पार्टीलाई भोट हाल्न सक्ने अवस्था नरहेकाले यदि गठबन्धन नै गर्ने हो भने पनि दुई नम्बर क्षेत्र छाड्न हुँदैन भन्ने भावना छ,’ उनले भने ।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र नम्बर २ मा तत्कालीन नयाँ शक्ति पार्टीका नेता बाबुराम भट्टराई र तत्कालीन एमाले–माओवादी गठबन्धनका नारायणकाजी श्रेष्ठबीच प्रतिस्पर्धा भएको थियो ।

कांग्रेससँगको गठबन्धनमा बाबुराम भट्टराईले जितेका थिए । तर गत निर्वाचनमा जस्तो भट्टराईलाई सहज स्वीकार्ने परिस्थिति आसन्न निर्वाचनमा नरहेको कांग्रेस नेता पाण्डेले बताए । गठबन्धन दलमध्ये अहिले गोरखामा कांग्रेस र माओवादीको मात्र अस्तित्व रहेको पाण्डेले बताए ।

माओवादी र कांग्रेसबीच भने स्थानीय तह निर्वाचनको मतका आधारमा दुई दलबीच बराबर सिट बाँडफाँडमा सहमति हुन सक्ने उनले बताए । ‘स्थानीय तह निर्वाचनको मत हेर्दा काग्रेस–माओवादीको मतमा थोरै घटीबढी हो,’ उनले भने, ‘दुई प्रतिनिधिसभा मध्ये एक/एक लिने, चार प्रदेशसभामध्ये दुई/दुई लिने गरेर गठबन्धनमा जाने प्रयत्नमा छौँ ।’

गत स्थानीय तह चुनावमा गोरखाका ११ मध्ये ९ वटा तहमा माओवादीले जितेको थियो । जनयुद्धको उद्गमथलोका रूपमा रहेको गोरखा माओवादीको पकड क्षेत्र मानिए पनि २०६४ पछि भने कमजोर बन्दै गएको थियो । तर पछिल्लो निर्वाचन परिणामले माओवादी २०६४ मै अवस्थामा फर्किएको चर्चा सुरु भएको छ । २०७४ को नतिजा उल्टाएर माओवादीले गोरखामा आफ्नो प्रभाव र उपस्थितिलाई बलियो बनाएको छ । २०७४ मा ९ पालिका प्रमुख जितेको कांग्रेस दुईमा सीमित बनेको छ, २ पालिका जितेको माओवादी ९ पालिका प्रमुख जितेर वर्चस्व जमाएको छ ।

प्रकाशित : श्रावण २६, २०७९ १५:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?