३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सत्ता गठबन्धन कार्यदलको बैठक बालुवाटारमा जारी

कान्तिपुर संवाददाता

काठमाडौँ — पाँच दलीय सत्ता गठबन्धन कार्यदलको दोस्रो बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बैठकमा आगामी आमनिर्वाचनमा गठबन्धनमा रहेका दलहरुबीच चुनावी तालमेलको खाका बनाउनेलगायत विषयमा छलफल भइरहेको नेताहरुले बताएका छन् ।

सत्ता गठबन्धन कार्यदलको बैठक बालुवाटारमा जारी

'हामी केही दिनभित्रै सिट बाँडफाँटको काम सम्पन्न गर्ने गरी गृहकार्य गरिरहेका छौं । साउनभित्रै हामीलाई दिएको जिम्मेवारी पूरा गर्छौं । अहिले खुलस्त रूपमै नेताहरुले कुरा राख्नुभएको छ,' कार्यदल सदस्य सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने । उनका अनुसार बैठकमा संविधान कार्यान्वयन र जनजीविकाका विषय सम्बोधनमा समेत कार्य गर्ने गरी अघि बढाउनुपर्नेलगायत विषयमा छलफल हुनेछ ।

कार्यदलले निर्वाचनमा सिट बाँडफाँटको खाका बनाएर गठबन्धनका शीर्षनेताहरूलाई बुझाउन साउन मसान्तसम्मको समय पाएको छ । यसअघि बसेको गठबन्धनका शीर्ष नेताको बैठकले पाँचै दलका नेता सम्मिलित ११ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलमा कांग्रेसबाट महामन्त्री गगनकुमार थापा, नेता कृष्णप्रसाद सिटौला र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं पार्टीका नेता ज्ञानेन्द्रबहादुर कार्की छन् भने नेकपा (माओवादी केन्द्र)बाट नेताहरू वर्षमान पुन र देव गुरुङ छन् ।

यसैगरी नेकपा (एकीकृत समाजवादी)बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट नेताहरू रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा कार्यदल सदस्य छन् ।

यही साउन २३ गते बसेको पहिलो बैठकले कार्यदलको संयोजकमा कांग्रेसका पूर्वमहामन्त्री सिटौलालाई चयन गरेको थियो ।

प्रकाशित : श्रावण २६, २०७९ १५:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?