सत्ता गठबन्धनमा जोडिन साना दलको जोडबल

देउवा सकारात्मक‚ अन्य दल अनिच्छुक
प्रकाश धौलाकोटी

काठमाडौँ — सत्ता गठबन्धन दलबीच चुनावी तालमेल गर्ने समझदारी भएपनि सिट बाँडफाँटको टुंगो लागिसकेको छैन । पाँच दलको बीचमै सिट बाँडफाँट गर्न सकस परिरहेका साना दलहरू पनि गठबन्धनमा जोडिन जोडबल गरिरहेका छन् । गठबन्धनको ठूलो दल नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा पनि स-साना शक्तिहरूलाई चुनावी गठबन्धनमा जोड्न सकारात्मक देखिएका छन् ।

सत्ता गठबन्धनमा जोडिन साना दलको जोडबल

हाल गठबन्धनमा कांग्रेससहित नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा छन् । स्रोतका अनुसार प्रधानमन्त्री देउवाले नै अन्य दललाई गठबन्धनमा सामेल गराउन प्रत्यक्ष/अप्रत्यक्ष रुपमा संवाद गरिरहेका छन् ।

चुनावपछिको सम्भावित समीकरणमा आफूलाई सहज वातावरण सिर्जना गर्न र चुनावमै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई एक्ल्याउन स-साना दललाई समेत गठबन्धनमा जोड्ने देउवाको रणनीति छ । तीमध्ये गठबन्धनकै एक घटक जनता समाजवादी पार्टी फुटेर बनेका महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी मुख्य हुन् ।

गठबन्धन दलभित्रै माओवादी केन्द्र र एकीकृत समाजवादीसहित दलबीच साझा वाममोर्चा बनाउने छलफल समेत चलिरहेकै छ । वाम दलहरूलाई एकता गर्ने अभियानमा रहेका नेता वामदेव गौतम पनि त्यही मोर्चामा बाँधिएर सत्ता गठबन्धनमा जोडिने प्रयासमा छन् । लोकतान्त्रिक गणतन्त्र र परिवर्तनका पक्षधर अन्य स-साना शक्तिहरूसँग समेत चुनावी तालमेल हुन सक्ने नेताहरूको तर्क छ ।

नेपाली कांग्रेसका सचेतक मीन विश्वकर्माले सरकारले चुनावको मिति घोषणा गरेपछि विभिन्न दलहरूले का‌ंग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनमा जोडिन चाहेको बताउँछन् । उनले प्रधानमन्त्री देउवाले पनि चुनावमार्फत अहिलेको लोकतान्त्रिक गणतन्त्र, संविधानको रक्षा, विकास र समृद्धि चाहने शक्तिहरूलाई जोडेर मुलुकलाई अघि बढाउन चाहेको बताए ।

‘सरकारले चुनावको मिति तोकेपछि कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनमा धेरै दल र नेताहरूले जोडिन चाहनुभएको छ । अहिले हामी पाँच दल छौँ । गठबन्धनमा कति दल हुने भन्दा पनि अहिलेको संविधान र गणतन्त्रका पक्षधरहरू, परिवर्तन चाहनेहरू एकढिक्का हुने कुरा मुख्य हो,’ सचेतक विश्वकर्माले इकान्तिपुरसँग भने, ‘परिवर्तनका पक्षधरहरू एकढिक्का हुँदा सिट बाँडफाँटमा कुनै समस्या हुँदैन; जसको जस्तो हैसियत छ, त्यहीअनुसार हिस्सा पाउने हो ।’

स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन दलले गठबन्धनमा रहेका दलभित्र मात्रै चुनावी तालमेल गर्न पाउने नियम नै बनाएका थिए । हाल गठबन्धनमा अन्य दललाई भित्राउने वा नभित्र्याउने भन्नेबारे दलहरूबीच छलफल भएको छैन । तर, गठबन्धनमा जोडिन चाहेका साना दलले भने गठबन्धनका शीर्ष नेताहरूसँग भेटेर भिन्नभिन्न छलफल गरिरहेका छन् ।

जसपा फुटेर बनेका लोसपाका अध्यक्ष महन्थ ठाकुर र नेसपाका अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री देउवालाई भेटेरै त्यसबारे छलफल गरेका छन् । तर, जसपा नै पहिल्यैदेखि गठबन्धनमा रहेकाले उनीहरू सामेल हुने वा नहुने भन्नेमा अझै अन्यौल छ । जसपाका अध्यक्ष उपेन्द्र यादवसँग समझदारीमै नयाँ पार्टी खोलेका भट्टराई अहिले पनि जसपाकै सांसद् हुन् । उनले सरकारले चुनावको मिति घोषणापछि नेपाल समाजवादी पार्टी गठन गरेका हुन् ।

नयाँ पार्टी गठनपछि भट्टराई अर्का अध्यक्ष महेन्द्र राय यादवलाई साथ लिएर गत मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । भेटमा अध्यक्ष भट्टराईले सत्ता गठबन्धनमा आफू विगतदेखि नै रहेको भन्दै आफू नेतृत्वको पार्टीलाई पनि चुनावी गठबन्धनमा समावेश गर्न माग गरे ।

जवाफमा प्रधानमन्त्री देउवाले गठबन्धनका अन्य दलहरूसँग सल्लाह गरेर खबर गर्ने आश्वासन दिएका छन् । ‘मैले पनि तपाईंहरूलाई गठबन्धनमा सहभागी गराउनुपर्छ भनेर सोचिरहेको थिएँ; म त सकारत्मक छु; एक पटक गठबन्धनका अन्य दलसँग सल्लाह गर्छु र खबर गर्छु,’ भेटमा देउवाले भनेका थिए ।

त्यसअघि आइतबारमात्रै मधेशको अर्को शक्ति लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री देउवालाई भेटेका थिए । देउवा–ठाकुरबीचमा पनि त्यस्तै समझदारी छ । ठाकुर नेतृत्वको लोसपामा हाल १३ सांसद छन् । एक वर्षअघि सरकारमा सामेल नभएरै ठाकुरले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका थिए भने त्यसयता ठाकुर निरन्तर देउवासँग संवादमा छन् । नेताहरूका अनुसार प्रधानमन्त्री देउवा ठाकुरलाई चिढ्याउने पक्षमा छैनन् । ठाकुरले विगतदेखि राख्दै आएका नागरिकता विधेयकलगायत केही मागहरू सरकारले पूरा गरिसकेको छ । भट्टराईको नवगठित पार्टीमा भने अध्यक्षद्वय भट्टराई र यादवमात्रै सांसद छन् ।

लोसपाका नेताहरू भने प्रधानमन्त्री देउवाले नै गठबन्धनमा सामेल हुन प्रस्ताव गरेको बताउँछन् । लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्रीसँगको भेटमा प्रधानमन्त्रीबाट गठबन्धनमा सामेल हुन प्रस्ताव आएको बताउँछन् । ‘गठबन्धन र चुनावका विषयमा प्रधानमन्त्री देउवाजीसँग छलफल भएको हो । प्रधानमन्त्रीजीले नै गठबन्धनमा सहभागी हुन प्रस्ताव गर्नुभएको छ । हाम्रा मागहरू पूरा हुन्छ भने लोसपा गठबन्धन वा चुनावी तालमेलका लागि सकारात्मक रहेको जवाफ दियौँ,’ वरिष्ठ नेता महतोले भने ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भने अहिले गठबन्धनमा अन्य दल सामेल हुने भन्नेबारे कुनै छलफल नभएको बताए । ‘अहिले गठबन्धनको बैठक बसेको छैन । सायद अब बस्ने बैठकमा प्रधानमन्त्रीजीले त्यो कुरा राख्नुहोला,’ उनले भने, ‘यो विषयमा हामी खुला छौँ । उहाँहरू आए पनि, नआए पनि हामीलाई कुनै अप्ठ्यारो छैन । अहिले त यो विषय प्रस्तावमै नरहेकाले मलाई धेरै केही भन्नुछैन ।’ तर, गठबन्धनकै केही नेताहरू भने जसपा, लोसपा र नेसपा एउटै गठबन्धनमा नरहनेसमेत अनुमान गर्छन् ।

गठबन्धनमा जति धेरै दल, त्यति भाग लगाउनुपर्ने हुन्छ । तर, गठबन्धनका नेताहरू भने गठबन्धनमा दल थपिने विषयमा विभाजित छन् । कांग्रेसभित्र त गठबन्धनमा दल थपिँदा सिट संख्या घट्ने भन्दै नेताहरूले विरोध समेत गरिरहेका छन् । कांग्रेस नेता रमेश लेखकले गठबन्धनमा अन्य दलहरू समेत थपिँदा सिटको बाँडफाँट थप चुनौतीपूर्ण हुन सक्ने बताए । ‘हाम्रो पार्टीभित्रै धेरै नेताहरू हुनुहुन्छ, त्यसै पनि सिटको बाँडफाँट असहज छ । गठबन्धनमा धेरै दल हुनु भनेको धेरै भाग लगाउनु पनि हो, त्यसैले त्यो सहज हुन्छ भन्ने लाग्दैन,’ उनले भने ।

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भने गठबन्धनमा पाँच दलबाहेकलाई सहभागी गराउने भन्ने विषयमा कुनै छलफल नभएको बताए । ‘सत्ता गठबन्धनमा अहिले पाँच वटा दलमात्रै छौँ । अहिले पाँच दलबीच चुनावी तालमेल गर्ने निर्णय भएको हो,’ उनले भने, ‘त्यसबाहेक अन्य दलहरू सहभागी हुने भन्ने विषयमा कुनै औपचारिक छलफल भएको छैन, हाम्रो पार्टीमा पनि छलफल भएको छैन । प्रधानमन्त्रीले कसलाई कस्तो आश्वासन दिनुभयो ? त्यो उहाँको कुरा हो । गठबन्धनमा अरु दल थपिएर हामीलाई समस्या छैन ।’

अर्का कांग्रेस नेता नैनसिंह महरले भने गठबन्धनमा दल थप्नेभन्दा पनि त्यसको न्यूनतम साझा कार्यक्रम र गठबन्धनको भविष्य कहिलेसम्म हुने भन्ने प्रश्न महत्त्वपूर्ण रहेको बताए । ‘चुनावमा गठबन्धन गर्ने कुरा ठीक छ । तर, घोषणापत्र एउटै नहुने भएपछि न्यूनतम साझा कार्यक्रम के हुन् ? गठबन्धनको भविष्य कहिलेसम्म हो ? भन्ने प्रश्न जटिल छन् । अहिलेको जनमत भनेको पाँच वर्षका लागि प्रस्तुत हुने हो । त्यो गठबन्धनमा रहेका दलले सुनिश्चित गर्ने कि नगर्ने ?,’ नेता महर भन्छन्, ‘नेपाली कांग्रेसले गठबन्धन गर्नुपर्छ भनेर सहमति गरेको नाउँमा सबै चिज गुमाएर गठबन्धन गरिरहनुपर्छ भन्ने पनि छैन । कांग्रेसले गठबन्धनमा सबैलाई समेटेर अभिभावकको भूमिका लिनु ठीक हो । तर, भुइँको टिप्दा खल्तीको पोखिन सक्छ, त्यो कुरा नेतृत्वले भुल्नुहुदैन ।’

०७४ को निर्वाचनमा कांग्रेसले २३ सिट जितेको थियो भने एमालेसँग वाम गठबन्धन गरेको माओवादी केन्द्रले ३६ सिट जितेको थियो । एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादीमा प्रत्यक्षतर्फ निर्वाचित १२ सांसद् छन् भने जनता समाजवादी पार्टीमा ९ सांसद् छन् । स्थानीय तह निर्वाचन ०७९ मा भने कांग्रेस पहिलो दल बनेको छ ।

प्रकाशित : श्रावण २६, २०७९ २०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?