गठबन्धन कार्यदल बैठक : सिट बाँडफाँट गर्ने चार आधार तोकिए

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्तारुढ गठबन्धनको कार्यदलले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सिट बाँडफाँटका लागि चार आधार तय गरेको छ । बिहीबार बालुवाटारमा बसेको कांग्रेस नेता कृ्ष्णप्रसाद सिटौला नेतृत्वको ११ सदस्यीय कार्यदलले गठबन्धन दलबीच सिट बाँडफाँडका लागि चार आधार तय गरेको हो । 

गठबन्धन कार्यदल बैठक : सिट बाँडफाँट गर्ने चार आधार तोकिए

कार्यदलले सिट बाँडफाँडका लागि तय गरेका चार आधार हुन्- पहिलो- २०७४ को निर्वाचनको प्रत्यक्षतर्फ जितेको सिट, दोस्रो- त्यतिबेला समानुपातिक पद्धतितर्फ पाएको मत, तेस्रो- २०७९ सालको स्थानीय तहको चुनावको परिणाम र चौथो- आ-आफ्नो पार्टीको संवेदनशीलता ।

कार्यदलमा सहभागी एक नेताका अनुसार अब ती आधारहरूमाथि सबैले आ-आफ्नो पार्टीभित्र छलफल गरेर आगामी बैठकमा सबै दलको धारणा लिएर प्रस्तुत हुने सहमति छ । कार्यदलको अर्को बैठक आगामी ३० साउनमा बस्ने छ ।

'हामीबीच पनि धेरै छलफल हुन पाएको रहेनछ । हामीले खुलेर कुरा राख्न सकेनौँ । त्यसकारण आगामी बैठकसम्म हामीबीचमा पनि वृहत् छलफल हुनु आवश्यक ठानेका छौँ,' कार्यदलका ती सदस्यले भने,'यसरी कार्यदलमा होइन, म्यान टु म्यान कुराकानीले सहज हुने हाम्रो बुझाइ छ ।' कार्यदलले गठबन्धन दलकै प्रभावशाली नेताबीचको प्रतिस्पर्धालाई पार्टीको संवेदनशीलतामा राखेर छलफल गर्ने समझदारी गरेका छन् ।

आधार तय गर्ने सन्दर्भमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरूले २०७४ को निर्वाचनको आधारमा सिट बाँडफाँड गर्नुपर्ने प्रस्ताव गरेका थिए भने कांग्रेस नेताहरूले २०७९ को स्थानीय तहको निर्वाचन परिणामलाई आधार मान्नुपर्ने तर्क गरेका थिए ।

बैठकमा विभिन्न मोडालिटीबारे छलफल भएको माओवादी केन्द्रका नेता देव गुरुङले बताए । गठबन्धनका शीर्ष नेताहरुले साउन मसान्तसम्मको समयावधि दिएर कार्यदललाई सिट बाँडफाँटको मोडालिटी तय गर्न जिम्मेवारी दिएका छन् । भदौ पहिलो साता सिट बाँडफाँटको टुंगो लगाउने गठबन्धनको सहमति छ ।

प्रकाशित : श्रावण २६, २०७९ १९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?