कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

धरान अशान्त छ

सहकारी र त्यसका सदस्यबीचको विवादमा राजनीतीकरण
मेयर र एमाले कार्यकर्ता आमनेसामने

सुनसरी — धरान उपमहानगर प्रमुख हर्क साम्पाङ विवादमा मुछिएका छन्, जसका कारण धरान उपमहानगरपालिका कार्यालय केही दिनयता अशान्त छ । अशान्तिको सुरुवात बराह बचत तथा ऋण सहकारी संस्थाका पीडितहरूको कुरा नगरप्रमुखले सुन्न नखोजेको भन्ने तथ्यबाट सुरु भएको हो ।

धरान अशान्त छ

तैपनि पछिल्ला दिनमा यो विवाद त्यतिमै सीमित देखिन्न । सहकारीपीडितको आन्दोलन सँगसँगै धरानमा सामाजिक सञ्जालबाट आरोपप्रत्यारोपको शृंखला लगातार चलेको छ । विवादको मूल केन्द्रमा प्रमुख साम्पाङ र गत चुनावमा प्रतिस्पर्धी एमाले नेतृ मञ्जु भण्डारी आमनेसामने देखिएका छन् ।

धरानमा रहेको बराह ग्रुप अफ कम्पनीअन्तर्गतको बराह बचत तथा ऋण सहकारी संस्थाले १३ हजार ग्राहकको निक्षेप फिर्ता गर्न नसकेपछि आन्दोलन चलिरहेको छ । यो त्यही सहकारी हो, जसले यसअघि आफ्नो १२ औं वार्षिक साधारणसभामा ३ करोड खुद मुनाफा भएको हिसाब सार्वजनिक गरेको थियो । सहकारीले पैसा भुक्तानी दिन नमानेपछि बचतकर्ता संघर्ष समिति नै बनाएर प्रदर्शनमा उत्रिएका हुन् । समिति हारगुहारका लागि उपमहानगरपालिका कार्यालयको दैलोमा पुगेको थियो ।

स्थानीय तहलाई आफ्नो क्षेत्र मातहतका सहकारी नियमनको पनि जिम्मेवारी छ । गत निर्वाचनअघि धरानका सहकारी नियमन गर्न नगरपालिकाले वडा नं. १५ का अध्यक्षलाई जिम्मेवारी तोकेको थियो । गत वैशाख ३० को निर्वाचनपछि फेरिएको नेतृत्वले सहकारी विकास समितिमा जिम्मेवारी कसैलाई पनि तोकिसकेको छैन । त्यसैले ऐननियमअनुसार नगरप्रमुख नै उक्त समितिका संयोजक हुन् । तर बराह सहकारीका पीडितले छलफल गर्न खोज्दा नगरप्रमुख साम्पाङले फ्याट्टै भनिदिए, ‘पैसा राख्ने बेलामा मलाई सोधेर दिनुभएको थियो ?’ उनको भनाइ सुनेर आक्रोशित प्रदर्शनकारीले मुर्दावादको नारा मात्र लगाएनन्, महानगरको झ्यालको सिसासमेत तोडफोड गरे । जसको नेतृत्वमा देखिएका थिए खगेन्द्र नेपाली । यो घटनालगत्तै नगरप्रमुख साम्पाङले दिएको किटानी जाहेरीका आधारमा आइतबार प्रहरीले नेपाली र अर्का प्रदर्शनकारी प्रदीप बाँस्तोलालाई पक्राउ गर्‍यो । दुवैविरुद्ध सार्वजनिक शान्ति सुरक्षाविरुद्धको कसुरमा मुद्दा चलाउन हिरासतमा राखिएको छ ।

स्थानीय तहको गत चुनावमा ‘मञ्जु भण्डारी जिताऔं अभियान’ मा सक्रिय रहेकाले पनि नेपालीको भूमिकालाई धेरैले एमालेसँग जोडेर हेरे । यही बेला नेपालीले बराह सहकारीका सञ्चालकसँगै बसेर भलाकुसारी गरेका तस्बिरहरू पनि सामाजिक सञ्जालमा सार्वजनिक भए । त्यसपछि यो घटना नगरप्रमुखविरुद्ध नियोजित त होइन भन्ने शंका मात्रै सुरु भएन, कतै एमाले स्वतन्त्र उम्मेदवारविरुद्ध नियोजित रूपमा लागेको संशय पनि पैदा भयो ।

धरानका २० वडामध्ये १० वटामा वडाध्यक्ष एमालेका छन् । कार्यपालिका सदस्यहरूमा आठ जना सबै एमालेकै चुनिएका छन् । यस अर्थमा नगरसभामा एमालेको बहुमत छ । निर्वाचनको यो हिसाबकिताबलाई एकथरीले मेयर एमाले वडाध्यक्षहरूबाट सधैं मानसिक दबाबमा रहेको र उनले यो घटनालाई त्यसविरुद्ध प्रयोग गर्न खोजेको रूपमा अर्थ्याएका छन् । अर्का थरीले एमालेले स्वतन्त्र मेयरलाई असफल पार्न खोजिरहेको रूपमा व्याख्या गरिरहेका छन् ।

यहीबीच एउटा फेसबुक स्टाटसले अझ विवाद बढाएको छ । साउन १९ गते बिहीबार एमाले नेतृ भण्डारीले लेखेको भन्दै फेसबुकमा एउटा स्टाटस आयो । जसमा मेयर साम्पाङविरुद्ध लाग्न नेतृ भण्डारीले कार्यकर्तालाई उकासेको मात्रै देखिन्न, जातीय रूपमा समेत घटनालाई हेर्न प्रेरित गरेजस्तो देखिन्छ । ३ लाख ६८ हजारभन्दा बढी फलोअर्स भएको ‘हर्क साम्पाङ अ रिभोलुसन’ नामको फेसबुक पेज चलाउने मेयरले भण्डारीको जस्तो देखिने उक्त स्टाटसमाथि प्रतिक्रिया मात्रै जनाएनन्, आफू साइबर क्राइमको मुद्दामा जाने भनेर स्टाटस लेखे । जबकि भण्डारीले लेखेको भनेर सार्वजनिक भएका स्टाटस भ्रमपूर्ण र दुराशय राखेर बनाइएको ‘फेक पोस्ट’ भन्ने नेपाल फ्याक्ट चेकले पुष्टि गरिसकेको छ । फ्याक्ट चेकले उक्त स्टाटस फेक फेसबुक पोस्ट जेनेरेटरमा फोटो र अरू सक्कली जस्तै विवरण हालेर बनाइएको हो भन्ने तथ्य बाहिर ल्याएको छ ।

फेक पोस्टलाई सत्यझैं प्रचार गरेर आफूहरूविरुद्ध झूट फैलाएको भन्दै भण्डारीले साम्पाङविरुद्ध प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराएकी छन् । धरानका नगरप्रमुख साम्पाङले अनलाइन एप्लिकेसनको प्रयोग गरेर फेक आईडी जेनेरेट गरी त्यसको तस्बिर सिर्जना गरेर जातीय द्वेष फैलिने, उत्तेजनात्मक अभिव्यक्तिसहितको फोटो सामग्री उत्पादन गरी चरित्र हत्या तथा कुप्रचार गरेको भन्दै उनले उजुरी दिएकी हुन् ।

साम्पाङको फेसबुक पेजबाट यस्तो सामग्री सार्वजनिक गरिएकाले तुरुन्त कारबाहीको माग गर्दै उजुरी दिएको भण्डारीले बताइन् । उनले भनिन्, ‘सामाजिक सञ्जालको चरम दुरुपयोग गरी बराह सहकारी संघर्ष समितिका संयोजक खगेन्द्र नेपालीसँग जोडेर नगरप्रमुख हर्कराज साम्पाङले वास्तविक पीडितहरूको आन्दोलनलाई राजनीतीकरण गरी डाइभर्ट गर्न खोजेकाले उजुरी दिएको हो ।’

सहकारीपीडितको आन्दोलनबाट सुरु भएको विवाद यतिबेला राजनीतिक र जातीय विषय पनि जोडिएको छ । यहीबीच गत आइतबार बराह ग्रुप अफ कम्पनी र सहकारी संस्थाले संयुक्त अपिल जारी गर्दै भदौ १६ सम्ममा समस्या समाधान गर्ने दाबी गरेका छन् । बराह इन्डस्ट्रिज प्रालिअन्तर्गत धरानको भानुचोकमा र धनकुटे रोडमा करोडौंको सपिङ कम्प्लेक्स छ । यसैगरी काठमाडौंको न्युरोडमा र पोखराको चिप्लेढुंगा र चितवनको नारायणगढमा पनि यसका शाखा छन् । नेपालबाहिर हङकङ, दुबईमा र बेलायतमा पनि यसका शाखा छन् । कोभिड महामारी र मौद्रिक तरलताको अभावले समग्र व्यवसायमा संकट आएको भन्दै समस्या चाँडै समाधान गर्ने सहकारी व्यवस्थापनले अपिलमा उल्लेख गरेको छ ।

कम्पनीले गत बुधबार पनि जारी विवादबारे विज्ञप्ति जारी गरेको थियो, जसमा बचत तथा लगानीकर्ताको आवश्यक रकम हरतरहले फिर्ता गर्ने प्रतिबद्धता छ । बचतकर्ताका पैसा फिर्ता दिन नसकेर सकसमा परेको बराहले २८ औं वार्षिकोत्सवका अवसरमा धरानको भोटेपुलस्थित बराह मलमा व्यवसाय विस्तार तथा बराह मुभिजको शुभारम्भ हुनेसमेत जानकारी दिएको थियो । आगामी भदौ पहिलो साता हुने वार्षिकोत्सवमा भानुचोक र भेडेटारका सपिङ सेन्टरहरूलाई थप स्तरोन्नतिसहित चाँडै सञ्चालन हुने पनि जनाइएको छ ।

‘नियमनकारी निकायमा गुहार माग्न आउनेसँग झगडा गर्ने कि मद्दत ?’ भन्ने प्रश्नमा प्रमुख साम्पाङले भने, ‘द्धन्द्व उनीहरूले निकाले, उनीहरू नै जानुन् । सहकारीको विषयमा उपमहानगरका भक्तिजी (नगरपालिकाको आर्थिक विकास महाशाखा प्रमुख भक्तिराज शर्मा) लाई सोध्नुस् । अरू म जान्दिनँ ।’ उपमहानगरपालिकाले स्थानीय तहको चुनावयता सहकारी नियमन गर्ने समिति हालसम्म नयाँ नबनाएकाले आर्थिक विकास महाशाखाकै मातहत सहकारी पनि हेर्न प्रमुख शर्माले समन्वयकारी भूमिकामा छन् । शर्मा भने बराह सहकारीको मामिलामा महानगरपालिका गम्भीर रहेको बताउँछन् । ‘विवाद समाधान गर्नका लागि मेयरको निर्णयअनुसार हामीले साउन ८ गते नै उपमहानगरपालिका, प्रदेश र संघका प्रतिनिधि राखेर चार सदस्यीय समिति बनाएका हौं,’ उनले भने, ‘समितिले बराह सहकारीका जिम्मेवार सञ्चालक जतिको भौतिक सम्पत्ति, बैंकिङ कारोबार, चल, अचल सम्पत्ति रोक्का गर्न मालपोतदेखि विभिन्न बैंकमा र सरोकारवाला संस्थामा पत्राचार गरेको छ । हालसम्म सानिमा बैंकले मात्र बराह सहकारीका अध्यक्ष मानबहादुर विश्वकर्मा र शर्मिला ताम्राकारको खाता रोक्का गरेको जानकारी दिएको छ ।’

सहकारी र कम्पनीले एकपछि अर्को विज्ञप्ति जारी गरे पनि बचतकर्ता आश्वस्त देखिँदैनन् । उनीहरूले निरन्तर प्रदर्शन जारी राखेपछि गत सोमबार उपमहानगरपालिकाको सहकारी विकास समितिले बराह कम्पनी र सहकारी संस्थाका पदाधिकारी तथा जिम्मेवार कर्मचारीहरूको चल, अचल सम्पत्ति रोक्का गर्ने प्रक्रिया सुरु गर्दै बैंक खाता रोक्का गर्नका लागि नेपाल राष्ट्र बैंक, केन्द्रीय कार्यालयलगायत ११ वटा सरोकारवाला निकायलाई पत्राचार गरेको छ ।

सहकारी विवादबाट सुरु भएको विषय पेचिलो बन्दै गएपछि गत शनिबार बस्ने भनिएको नगरपालिकाको नगर कार्यसमिति बैठक पनि स्थगित भयो । धरान–१५ का वडाध्यक्ष नरेश इवारमले सद्भाव खलल पुग्ने गतिविधि हुन थालेपछि यस्तो निर्णय गरिएको बताए । ‘समस्या समाधानको बाटो नखुली नगरपालिकाका विषयमा छलफल हुन नसक्ने भएपछि बैठक स्थगित गरिएको हो,’ उनले भने, ‘स्थगित गर्ने भनेर हामीले बैठकमा नबसेपछि बहिष्कार गरे भनेर आरोप लगाइयो । तर त्यसो होइन ।’ स्थगित कार्यपालिका बैठक बुधबार बसेको छ ।

सहकारीका एक कर्मचारीका अनुसार सहकारीमा ५ हजार सेयर सदस्य छन् । नियमानुसार सहकारी संस्थामा सेयरधनीहरूले मात्रै बचत तथा ऋणको कारोबार गर्नुपर्छ । तर यसमा १३ हजार जना हाराहारीले बचत गर्दै आएका छन् । जसमा ५ हजारदेखि २५ करोडसम्मका बचतकर्ता छन् । यसैबीच सोमबार नगरप्रमुख साम्पाङले विज्ञप्ति जारी गर्दै धरानकी पूर्वउपप्रमुख मञ्जु भण्डारीको नामको फेसबुक आईडीबाट सद्भाव भड्काउने मनसायको स्टाटसले उत्पन्न असहज परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

उनले धरान नगरवासीलाई विचलित नहुन र आवेशमा आएर कसैप्रति लक्षित गरी कुनै असामान्य प्रतिक्रिया नगर्न पनि अनुरोध गरेका छन् । नक्कली आईडी बनाएर सामाजिक सञ्जालमार्फत सद्भाव भड्काउने स्टाटस पोस्ट गर्नेमाथि छानबिन गरी कारबाही गर्न उनले सम्बद्ध निकायको ध्यानाकर्षण गराएका छन् ।

प्रकाशित : श्रावण २७, २०७९ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?