मिटरब्याजमा फस्दै निमुखा र निरक्षर

अवधेशकुमार झा

राजविराज — मिटरब्याजको जालो सप्तरीमा पनि फैलिएको छ । सदरमुकाम राजविराजमा पछिल्लो साता हरेक दिनजसो मिटरब्याजपीडितहरूले आन्दोलन गरिरहेका छन् । खडक नगरपालिका–७ घर भई धरान नगरपालिका–१९ बस्दै आएका रामदेव साह तेलीले घर खर्च प्रयोजनमा लिएको कर्जा मिटरब्याजमा असुली गरेको उनीहरूको आरोप छ ।

मिटरब्याजमा फस्दै निमुखा र निरक्षर

९ जना निवेदकले प्रहरीमा रामदेवविरुद्ध उजुरी दिएका छन् । १ करोड १७ लाख ४२ हजार २ सय ५६ रुपैयाँ ऋण लिएको र त्यसको ब्याजसमेत तिरिसक्दा पनि झुक्याई धितोबापत मालपोत कार्यालयमा लिखत पास गरिएको जग्गा फिर्ता गर्न नमानेको उजुरीमा उल्लेख छ । प्रहरीले रामदेवविरुद्ध ठगी तथा आपराधिक विश्वासघात मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाइएको छ । साहविरुद्ध जिल्ला प्रहरी कार्यालयले पक्राउ पुर्जी पनि जारी गरिसकेको छ । रामदेवका छोरा नन्दकिशोरलाई धरानबाट र छोरी अनुराधालाई काठमाडौंबाट पक्राउ गरे पनि रामदेव फरार छन् । छोराछोरी जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि राजविराज कारागारमा छन् । सप्तरीका प्रहरी उपरीक्षक अविनारायण काफ्लेले रामदेवको खोजी भइरहेको बताए ।

मिटरब्याजकै कारण छिन्नमस्ता गाउँपालिका–१ बरही वीरपुरका ३५ वर्षीय सञ्जीव मिश्रले आत्महत्या नै गरेका थिए । गत मंसिर २ गते राति राजविराजको एक होटलमा उनले विष सेवन गरेका थिए । विद्युतीय सामग्रीको कारोबार गर्ने भान्जालाई मिटरब्याजमा लगाउनेहरूले दैनिक फोनमार्फत धम्काउन थालेपछि आत्महत्याको बाटो रोजेको उनका मामा विदुर झा बताउँछन् ।

प्रकाशित : श्रावण २७, २०७९ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?