२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७
विश्व हात्ती दिवस

नेपालमा हात्ती दोब्बर

देशभर २ सय २७ वटा रैथाने, १ सय ७६ घरपालुवा हात्ती
पर्वत पोर्तेल

झापा — देशभर अहिले हात्तीको संख्या ४ सय हाराहारी पुगेको छ । करिब १५ वर्षअघि अर्थात् सन् २००८ मा डेढ सय हाराहारीमा रहेको हात्तीको संख्या अहिले झन्डै दोब्बरभन्दा बढी पुगेको हो । मानव–द्वन्द्वका बाबजुद पनि देशमा हात्तीको संख्या वृद्धि भएको हो । यो द्वन्द्वका कारण मान्छेसँगै हात्ती पनि मारिने क्रम बढेको छ । २० वर्षमा ३९ वटा हात्ती मारिएका छन् । जसमध्ये ३४ विद्युतीय झट्काका कारण र ६ वटा हात्ती गोली प्रहारका कारण मारिएका हुन् । झापामा मात्रै विगत १५ वर्षमा १५ वटै हात्ती मारिएका छन् ।

नेपालमा हात्ती दोब्बर

संरक्षणविद् डा. अशोक रामका अनुसार देशभर करिब २ सय २७ वटा रैथाने हात्ती रहेका छन् । १ सय २० देखि १ सय ५० वटा हात्ती भारततिरबाट आउने गरेका छन् । खासगरी झापा र बर्दियामा आप्रवासी हात्ती आउने गरेका छन् । भारतको पश्चिम बंगालमा हाल करिब ६ सय हाराहारीमा हात्ती छन् । ती हात्ती खास गरी झापा आएर रैथाने हात्तीसँग मिसिने गरेको पनि पाइएको छ । ‘कतिपय यतै मिसिन्छन्, कतिपय भने फर्किन्छन्,’ हात्ती संरक्षणकर्मी शंकर लुइँटेल भन्छन् ।

नेपालमा १ सय ७६ हात्ती घरपालुवा छन् । ती हात्ती विभिन्न राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु आरक्ष क्षेत्रमा रहेका छन् । जसमध्ये ९९ वटा हात्ती सरकारी तबरबाट र ७७ हात्ती निजी रुपमा पालिएको छ ।

हात्ती विज्ञ रामले हालै भारतको वन्यजीव संस्थानबाट ‘एसियाली हात्तीको बासस्थान, जनसंख्या र मानवसँगको सम्बन्ध’ बारे विद्यावारिधी गरेका हुन् । त्यही क्रममा गरिएको एक अध्ययन अनुसार सबभन्दा बढी बाँके–बर्दिया राष्ट्रिय निकुन्ज क्षेत्रमा कोरिडरमा १ सय १३ हात्ती छन् । चितवन–पर्सा क्षेत्रमा ४५, शुक्लाफाँटामा २६, झापामा १९ र कोसीमा १६ वटा हात्ती छन् ।

देशका २० जिल्लामा जारी मानव–हात्ती द्वन्द्वको चपेटामा परेर २ सय ७४ जना सर्वसाधारणले ज्यान गुमाएका छन् । मेचीको झापादेखि महाकालीको कञ्चनपुरसम्म दुई दशकयता भएको यो अनौठो द्वन्द्वबाट ती सर्वसाधारणले अकालमा ज्यान गुमाएका हुन् ।

सबभन्दा बढी झापामा ४१ तथा कम महोत्तरी र नवलपरासीमा १–१ जनाले हात्ती आक्रमणबाट ज्यान गुमाएका छन् । हात्ती अनुसन्धाता अशोक रामका अनुसार झापापछि मध्यवर्ती क्षेत्र बर्दियामा हात्ती आक्रमणबाट ४० जनाको ज्यान गएको छ । त्यस्तै चितवनमा २६, सप्तरीमा २३, पर्सामा २१, बारामा २०, सिरहा र उदयपुर १६/१६, सुनसरीमा १५ जनाले ज्यान गुमाएका छन् । त्यस्तै सिन्धुली र धनुषा ९/९, मोरङ ८, रौतहट ७, सर्लाही, मकवानपुर र कञ्चनपुरमा ५/५ जनाको, इलाममा ४ र बाँकेमा २ को मृत्यु हात्ती आक्रमणबाट भएको छ । २० जिल्लामा १ सय बढी सर्वसाधारण अंगभंग भई घाइते भएका छन् ।

देशभरि ६ हजार ६ सय ६ जनाको अन्नबालीमा क्षति पुगेको छ । ३ हजार ७ सय ७५ जनाको भौतिक क्षति भएको छ । ‘हात्ती हामीप्रति बढी आक्रामक बन्दै जानुको कारक हामी नै हौं,’ हात्ती विज्ञ रामले भने, ‘हामीले आफनो आचरण र व्यवहार नसच्चाएसम्म मानव–हात्ती दुवैलाई बराबरी खतरा छ ।’

प्रकाशित : श्रावण २७, २०७९ १२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?