१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

राष्ट्रिय परिचयपत्र लिन रातभर ‘जाग्राम’

नगेन्द्र अधिकारी

काभ्रे — यसअघि २–३ पटक जाँदा पनि राष्ट्रिय परिचयपत्र बनाउनका लागि पालो नपाएपछि नमोबुद्ध–१ का प्रकाश विक राति ११ बजे नै जिल्ला प्रशासन कार्यालयअगाडि लाम बस्न पुगे । उनी पुगेको केही समयमा त्यहाँ अरु ४/५ जना पनि पुगे । राति २ घण्टा ठूलो पानी पर्‍यो । २ घण्टा ओत लागेपछि निरन्तर ६ घण्टा लाम बसेर बिहान ७ बजे उनको पहिलो नम्बरमा नाम टिपिएपछि मात्रै उनी राष्ट्रिय परिचयपत्र बन्ने भयो भन्दै केही खुसी भए । 

राष्ट्रिय परिचयपत्र लिन रातभर ‘जाग्राम’

‘पालो नपाएर २/३ पटक फर्किनु परेकोले रातभर नै बसेका हौं, राष्ट्रिय परिचयपत्र बनाउने अभियान त गाउँमा पनि गएको थियो, त्यो बेला यसको महत्त्व बुझिएन,’ प्रकाशले भने, ‘अहिले राहदानीमा राष्ट्रिय परिचयपत्रको नम्बर अनिवार्य गरेपछि रातभर जाग्राम बसेर भए पनि नाम दर्ता गर्न आएका हौं ।’

राहदानी (पासपोर्ट) नवीकरण गर्नका लागि राष्ट्रिय परिचयपत्रको नम्बर अनिवार्य गरेपछि तेमालकी ६६ वर्षीय माला लामा २ बजे नै आएर जिल्ला प्रशासन कार्यालयअघि आएर लाम बसिन् । ‘१ बजे काठमाडौंबाट हिँडेको, २ बजे आइपुगेका थियौं, रातभर लाम बस्दा सुत्न नपाएकोले आँखाको गेडी नै बाहिर निस्कन लागिसक्यो,’ ७ बजे जिल्ला प्रशासन कार्यालयको गेट बाहिर भेटिएकी लामाले भनिन्, ‘अस्ति आउँदा सय जनाभन्दा बढी भयो भनेर फर्काएपछि आज राति नै आएका थियौं, यो पटक पनि छुट्यो भने अर्को हप्ता मात्रै बन्छ भनेर रातभर चिसोमा उभिरह्यौं ।’

पढाइ वा रोजगारीका सिलसिलामा विदेश जानका लागि पासपोर्टमा राष्ट्रिय परिचयपत्रको नम्बर अनिवार्य गरेपछि जिल्लामा राष्ट्रिय परिचयपत्र बनाउने भीड छ । कार्यालयमा फोटो खिच्नका लागि राखिएको दुई वटा स्टेसनले मात्रै त्यसको चाप धान्न सकेको छैन । चाप व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यायलले बारअनुसार स्थानीय तहको आलोपालो प्रणाली सुरु गरे पनि जनशक्ति कम हुँदा धेरै सेवाग्राहीले सास्ती बेहोर्ने गरेका छन् । दैनिक ८० जनाको क्षमता भए पनि १ सय देखि १ सय २० जनासम्मको राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गर्ने गरिएको छ ।

परिचय बनाउनका लागि अघिल्लो दिन रातिबाट सेवाग्राही लाम लाग्ने गरेका छन् । काठमाडौंको बौद्धमा बस्दै आएका तेमालका जमिन तामाङ राष्ट्रिय परिचयपत्र बनाउन राति २ बजे आइपुग्दा पनि ३० नम्बरमा पालो आएको बताए । राष्ट्रिय परिचयपत्र बनाउनै दुई पटक धाएका नमोबुद्ध–५ का कलम लामाले जनशक्ति थपेर सहज बनाइदिन अनुरोध गरे ।

काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारका अनुसार,राष्ट्रिय परिचयपत्रका लागि फोटो खिच्नका लागि २ वटा मात्रै स्टेसन छन् । उपलब्ध जनशक्तिले बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म बसेर काम गरिरहेका छन् । फाराम भर्नेलगायतका कामका लागि नेपाली सेनाका २ जना र निस्ट कलेज बनेपाबाट विद्यार्थीहरु स्वयंसेवी खटिएका छन् । सेवाग्राही र स्वंयमसेवकसमेतले भरेको फर्म रुजु गरेर एक जनाले कम्प्युटरमा दाखिला गरेपछि पुन: प्रशासकीय अधिकृतबाट रुजु गराउनुपर्ने हुन्छ । नागरिकता, राहदानीलगायतका अन्य प्रशासनिक चाप हुने जिल्लामा प्रशासकीय अधिकृत ३ जना मात्रै छन् । रुजु भएपछि पुन: फोटो खिच्ने, स्क्यान गर्ने, औठा छाप लिनेलगायतका काम गर्नका लागिसमेत जनशक्ति अभाव छ ।

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले कम जनशक्तिका कारण समस्या भएको स्विकारिन् । उनले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा थप स्टेसन र जनशक्तिका लागि ताकेता गरिरहेको र केही दिनमा व्यवस्थापन गर्ने वचन पाएको बताइन् । ‘सेवाग्राहीको चाप यहाँको जनशक्तिले धान्न नसकेको सत्य हो, थप जनशक्ति र उपकरणका लागि विभागमा ताकेता गरिरहेका छौं, एक सातामा थप जनशक्ति र उपकरण पठाउने प्रतिबद्धता आएको छ,’ उनले भनिन्, ‘अन्य संस्थाको सहयोग लिएर भए पनि सकेको व्यवस्थापन गरिरहेका छौं, सेवा अवधि बढाएर पनि सेवाग्राहीलाई फर्काउने गरेका छेनौं ।’

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले २०७७ फाल्गुन ६ बाट जिल्लामा दर्ता अभियान अभियान सञ्चालन गर्दा १३ वटै पालिकामा २ लाख ८ हजार ८ सय २९ जनाले विवरण दर्ता गराएका थिए । २०७४ सालको मतदातालाई आधार बनाएर १ लाख ९० हजार ८ सय ८८ जनाले विवरण दर्ता गराउने लक्ष्य राखिएकोमा १ सय ९ प्रतिशत लक्ष्य प्राप्ती भएको थियो । मतदाता संख्याका आधारमा सबैभन्दा धेरै बनेपामा १ सय २५ प्रतिशत र सबैभन्दा कम चौरीदेउरालीमा ६४ प्रतिशत लक्ष्य प्राप्त भएको थियो ।

अभियानअन्तर्गत ९९ कम्प्युटर अपरेटर, १ सय ६७ फर्म भर्ने सहयोगी र १ सय ५७ जना रुजु अधिकारी परिचालित थिए । रोजगारी वा अन्य कारणले सहरमा रहेकाहरुले भने अभियानको बेलामा विवरण दर्ता गराएका थिएनन् । जिल्ला प्रशासन कार्यालय मा नै आर्थिक वर्ष २०७७/७८ मा ६ हजार ४ जना, २०७८/७९ मा १३ हजार ९ सय ८४ जना र चालु आर्थिक बर्षको हालसम्मको अवधीमा ८ हजार ६ सय ६९ जनाले विवरण दर्ता गराएका छन् ।

प्रकाशित : श्रावण २७, २०७९ १७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?