कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्दै, २७ दिनमा ३२ जनाको मृत्यु

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ । कोरोनाबाट साउन १ गतेबाट २७ गतेसम्म ३२ जनाको मृत्यु भएको छ । शुक्रबार ४ हजार ७१२ कुल परीक्षणमा ७८१ जनामा संक्रमण पुष्टि हुँदा २ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्दै, २७ दिनमा ३२ जनाको मृत्यु

पछिल्लो पटक वैशाख २१ गते कोरोना संक्रमणबाट मृत्यु भएकोमा ७३ दिनपछि साउन १ गते कोरोना संक्रमणबाट १ जना संक्रमितको मृत्यु भएको थियो। साउन २६ गते सबैभन्दा धेरै ५ जनाको मृत्यु भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाल नेपालमा कोभिड १९ संक्रमणबाट मृत्यु भएका व्यक्तिहरु र्दीर्घरोगी, ज्येष्ठ नागरिक र खोप नलगाएका व्यक्ति रहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. समीरकुमार अधिकारीले मृत्यु हुने ६ जनाले मात्र खोप लगाएको पाइएको बताए । उनले भने–‘मृत्यु हुने एक जना २१ वर्षीय छन्। उनी प्रत्यारोपण गराएका व्यक्ति थिए । त्यसैगरी अरु मृत्यु हुने ५० माथिका नै छन् ।’ उनले खोप नलगाएकालाई कोभिडको उच्च जोखिममा हुने भएकाले खोप नलगाएका सबैलाई खोप लगाउन अनुरोध गरे ।

हाल कोभिड संक्रमितको अस्पताल भर्ना, स्वास्थ्य जटिलता र मृत्युको तथ्यांक हेर्दा खोप नलगाएको पाइएको छ। खोप लगाएको व्यक्तिको तुलनामा खोप नलगाएका व्यक्तिलाई कोभिडको संक्रमण भएमा सिकिस्त बिरामी हुने वा मृत्यु हुने सम्भावना १० गुणा बढी रहने मन्त्रालय बताउँछ ।

संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीका अनुसार समयमै परीक्षण गरेर अक्सिजन निगरानीमा राख्न सकिएको भए अहिले भइरहेको मृत्यु कम हुन सक्दथे । उनी भन्छन्–‘ परिवारमा रहेका ज्येष्ठ नागरिक तथा जोखिम समूहलाई जोगाउन परीक्षण आवश्यक छ । समयमै परीक्षण भए कम्तीमा अक्सिजनको निगरानीमा राख्दा त्यसले जटिलता निम्त्याउँदैन । अहिले जति मृत्यु भइरहेको छ त्यति हुँदैन थियो होला ।’

हालसम्म कुल जनसंख्याको २ करोड ९१ लाख ९२ हजार ४८० मध्ये ७५.१ प्रतिशतले एक मात्रा र ७०.७ प्रतिशतले पूर्ण मात्राको खोप लगाएका छन् । त्यसैगरी लक्षित जनसंख्या १२ वर्ष माथिका २ करोड ३३ लाख २७ हजार ६१९ मध्ये ९३.९ प्रतिशतले एक मात्रा र ८८.५ प्रतिशतले पूर्ण मात्राको खोप लगाएका छन् ।

बुस्टर मात्राको खोप भने ७४ लाख ११ हजार ८८९ जनाले लगाएका छन् । नेपालले हालसम्म कुल ६ करोड १७ लाख ७६ हजार ७७० मात्रा खोप भित्रिएको छ । खोप अभियान सुरु भएदेखि ४ करोड ९९ लाख ७५ हजार ९२९ खोप मात्रा प्रयोग भइसकेको मन्त्रालयको तथ्यांकमा छ ।

प्रकाशित : श्रावण २७, २०७९ १८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?