२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

आत्मदाह प्रयास गरेकी निहारिका त्रिवि शिक्षण अस्पताल भर्ना

मातृका दाहाल

काठमाडौँ — पेट्रोल छर्केर राष्ट्रपति भवन शीतल निवास अगाडि आत्मदाह प्रयास गरेकी महोत्तरीकी निहारिका राजपुतका रूपमा चिनिएकी सोनालीकुमारी सिंहलाई प्रहरीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरेको छ । 

आत्मदाह प्रयास गरेकी निहारिका त्रिवि शिक्षण अस्पताल भर्ना

आफूलाई नशालु पदार्थ सेवन गराएर बलात्कार गर्ने व्यक्तिलाई कारबाही नभएको भन्दै निहारिकाले शुक्रबार दिउँसो राष्ट्रपति भवन अगाडिको मूल सडकमै पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी थिइन् । निहारिकाले शरीरमा पेट्रोल छर्केको देखेपछि तत्कालै प्रहरीको टोलीले नियन्त्रणमा लिएका कारण अप्रिय घटना हुन पाएको थिएन ।

त्यसपछि प्रहरी वृत्त महाराजगञ्जमा राखेर केही बेरमा उनको स्वास्थ्य जाँचका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो । स्वास्थ्य जाँचपछि निहारिकालाई अस्पताल भर्ना गरिएको महाराजगञ्ज बृत्त प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) अंगुर जिसीले बताए । ‘घटनास्थलबाट उठाएर उहाँलाई केहीबेर प्रहरी वृत्तमा राखेका थियौं, त्यसपछि स्वास्थ्य जाँच गर्न अस्पताल लगिएकोमा चिकित्सकसँगको परामर्शपछि हाललाई अस्पताल भर्ना गरिएको छ,’ डीएसपी जिसीले भने ।

महोत्तरीको जलेश्वर नगरपालिका-९ की निहारिकाले आफूलाई शिवराम श्रेष्ठ भन्ने व्यक्तिले नशालु पदार्थ सेवन गराएर बलात्कार गरेको दाबी गर्दै आरोपितलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरेर २०७९ जेठ २७ देखि धर्ना र अनसन बसेकी थिइन् । उनका एक छोरा छन् ।

५ बुँदे सहमतिपछि निहारिकाले ताेडिन् अनशन

काठमाडौंको माइतीघर र वसन्तपुरमा अनसन बसेकी उनीसँग असार ३ मा उनका माग पूरा गर्ने प्रतिबद्धतासहित गृहमन्त्री वालकृष्ण खाँणले नै अनसन तोडाएका थिए ।अनसन तोड्ने सहमति गर्दा गृह मन्त्रालयका सहसचिव शिवराम पोखरेल र उपसचिव वसन्त भट्टराई, अनशनरत निहारिका राजपुत भनिने (सोनालीकुमारी सिंह), सिंहको तर्फबाट बाराकी सावित्रा सुवेदी र रामेछापकी सुनिता गौतम तथा पत्रकार लोक्सरी कुँवरले सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।

सहमतिपत्रमा आरोपित व्यक्ति र आफ्ना छोराको डीएनए परीक्षणका लागि कानुनी प्रक्रिया अघि बढाउन पहल गर्ने, निहारिका र उनका छोराको सुरक्षा, आवास व्यवस्थापनका लागि गृह मन्त्रालय र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमार्फत पहल गर्ने, न्याय प्राप्तिका लागि राज्यका सम्पूर्ण निकाय पीडित मैत्री बनाउन पहल गर्ने, अनसनकर्ताको आर्थिक सहायताका लागि गृह मन्त्रालयमार्फत पहल गर्ने र अन्तिममा गृहमन्त्री खाँणबाट जुस पिएर अनशन तोड्ने गरी ५ बुँदे सहमति भएको थियो । उक्त सम्झौतापछि अनसन तोडेकी निहारिकाले माग पूरा नभएपछि पुन आन्दोलन सुरु गरिन् ।

पछिल्लो पटक साउन २० मा सिंहदरबार दक्षिण ढोकाअघि आमरण अनशनमा बस्ने प्रयास गरेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यसको अर्को साता शुक्रबार वसन्तपुरबाट ट्याक्सी चढेर छोरासहित महाराजगञ्ज पुगेकी निहारिका ट्याक्सीबाट ओर्लिएलगत्तै हातमा बोकेको बोतलबाट शरीरमा पेट्रोल छर्केकी थिइन् । त्यसपछि तत्कालै शीतल निवास अगाडि रहेका प्रहरीले उनलाई अप्रिय घटना हुन नपाउँदै नियन्त्रणमा लिएर महाराजगञ्ज वृत्त पुर्‍याएको थियो ।

त्यसपछि स्वास्थ्य जाँच गर्न अस्पताल लगिएकी निहारिकाले आफूसँग सरकारले गरेको सहमति कार्यान्वयन नभएकोले आत्मदाहको बाटो रोजेको बताएकी छन् ।

‘मैले न्याय पाइनँ, सरकारले गरेको ५ बुँदे सम्झौतामा उल्लेख भएअनुसार मेरो छोरा र आरोपितको डीएनए परीक्षण पनि भएन, आरोपित व्यक्तिलाई पनि पक्राउ गरिएन त्यसैले मर्नलाई शरीरमा पेट्रोल छर्केको हो ।’ उनले आत्मदाह प्रयास गरेलगत्तै प्रहरीले गृह मन्त्रालयमा पनि त्यसबारे जानकारी गराएको छ ।

सम्बन्धित समाचार

प्रकाशित : श्रावण २७, २०७९ १९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?