कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सरकारले संसद् भवन निर्माणको म्याद थप्न सक्दैन : मन्त्री गुरुङ

काठमाडौँ — संघीय संसद् भवन निर्माणको ठेक्का अवधि थप्न नसकिने सहरी विकासमन्त्री सीता गुरुङले बताएकी छन् । समयमा निर्माण सम्पन्न नगरेको ठेकेदार कम्पनीले दोस्रो पटक समय थप गर्नका लागि सरकारसँग आग्रह गरेको अवस्थामा मन्त्रीको यस्तो भनाइ आएको हो ।

सरकारले संसद् भवन निर्माणको म्याद थप्न सक्दैन : मन्त्री गुरुङ

सिंहदरबारस्थित निर्माणधीन संसद् भवनको निरीक्षण एवं अवलोकनका क्रममा बिहीबार मन्त्री गुरुङले यसअघि नै सरकारले दुई पटकसम्म म्याद थपिसकेको भन्दै अब ठेक्का समय थप्न नसक्ने अवस्थामा पुगिएको बताएकी हुन् ।

२०७४ को निर्वाचनबाट आएको प्रतिनिधिसभाको अन्तिम अधिवेशन नै नयाँ संसद् भवनमा बस्ने योजना रहेको बताएका बेला नयाँ संसद् आइसकेपछि पनि भवन निर्माणको काम सकिएको छैन । भवन निर्माणको काम निक्कै सुस्त भइरहेको संसद् सचिवालयका अधिकारीले बताएका छन् । ठेकेदार कम्पनीले दुई सिफ्टमा रातदिन काम गर्ने र यसअघि थपिएकै समयमा निर्माण सम्पन्न गर्ने भनेको तर त्यसो नदेखिएको मन्त्री गुरुङको भनाइ थियो ।

‘हामी हिउँदे अधिवेशन यहीँबाट नै सुरुवात गर्नुपर्छ भन्ने पक्षमा छौँ । निरन्तर निगरानी गरिरहेको छु । निर्माणको काम सुस्त छ, यसलाई अघि बढाउन निर्देशन दिएपछि प्रगति भएको छ । जनशक्ति थोरै छ, बढाउनुपर्छ, नीतिगत निर्णय गर्न र भुक्तानी दिन हामी तयार छौँ,' उनले भनिन्, 'म्याद थप्ने होइन, समयमा नै काम सक्नुपर्छ । म्याद थप समस्याको समाधान होइन । जनशक्ति बढी लगाइयो भने काम सकिन्छ । जनशक्ति थप्नुभएको छैन, अब थप्नुपर्छ । काम तोकेको समयमा सम्पन्न गर्नुपर्छ । समय थपिसकेको छ, समय थप गर्न अब हामी सक्दैनौँ ।’

संघीय संसद् भवन निर्माणको ठेक्का ५ अर्ब ६८ करोड ३९ लाख रुपैयाँमा टुन्दी/सेक जेभीले लिएको थियो । ठेक्का सम्झौताअनुसार ०७९ असोज १६ भित्र यसको निर्माण सकिसक्नुपर्ने थियो । ठेक्का अवधि सकिएर एक पटक म्याद थपिसकिएको थियो । ६ महिनाका लागि पहिलो पटकको ठेक्का अवधि थप गरेको समय गत चैतमा नै सकिएको थियो । हालसम्म भौतिक प्रगति ६३ प्रतिशत मात्रै भएको आयोजनाका अधिकारीले बताएका छन् ।

प्रकाशित : जेष्ठ १८, २०८० १६:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?