कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका महर्जन पक्राउ

काठमाडौँ — नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान रचिएको अपराधमा संलग्नमध्येका थप एक जना पक्राउ परेका छन् । भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अघि बढेपछि फरार रहेका हरिभक्त महर्जनलाई प्रहरीले बिहीबार काठमाडौंबाट पक्राउ गरेको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका महर्जन पक्राउ

शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित ३० जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले राष्ट्रहित प्रतिकूल, संगठित अपराध, ठगी र किर्तेका दफा लगाएर बिगो, कैद र जरिवानाको मागदाबीसहित मुद्दा दायर गरेको थियो । आरोपितविरुद्ध २८ करोड ८१ लाख रुपैयाँ बिगो कायम गरिएको छ ।

मुद्दा चलाइएकामध्ये १६ जना पक्राउ र १४ जना फरार थिए । फरार मध्येका एक लक्ष्मी महर्जन केही दिनअघि पक्राउ परेकी थिइन् । सोही अभियोगमा प्रतिवादी बनाइएका हरिभक्त बिहीबार काठमाडौंबाटै पक्राउ परेका हुन् ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले महर्जनलाई काठमाडौंबाटै पक्राउ गरिएको बताए । ‘उनी प्रहरी अनुसन्धान छलेर फरार थिए, फरार महर्जनलाई बिहीबार पक्राउ गरी अदालतको जिम्मा लगाएका छौं ।’ यो प्रकरणमा फरार अन्य अभियुक्तको पनि खोजीकार्य जारी रहेको एसएसपी कार्कीले बताए ।

काठमाडौं प्रहरीले यो प्रकरणमा संलग्नविरुद्ध राज्य विरुद्धको अपराधसहितका कसुरमा प्रतिवादी बनाएर ३० जना विरुद्ध अनुसन्धान टुंग्याएर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको थियो । त्यसपछि जेठ १० मा सरकारी वकिल कार्यालयले आरोपित ३० जना विरुद्ध अदालतमा मुद्दा दायर गरेको थियो ।

यो प्रकरणमा आरोपित बनाइएकामध्ये तत्कालीन गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक र थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईका छोरा निरजसहित १२ जना फरार छन् । हरिभक्त लक्ष्मी महर्जनका श्रीमान हुन् । लक्ष्मी नेपाल प्रहरी अस्पताल महाराजगन्जमा सई पदमा कार्यरत नर्स हुन् । हरिभक्तले भुटानी शरणार्थी बनाउने भन्दै सर्वसाधारणबाट असुलेको रकम लक्ष्मीको खातामा राखेको खुलेपछि लक्ष्मी पनि प्रतिवदाीको सूचीमा समेटिएकी थिइन् ।

अहिले जिल्ला अदालत काठमाडौंमा मुद्दा चलाइएकामध्ये पक्राउ परेकामाथि बयान जारी राखेको छ । बयान सकेर थुनछेक बहस थाल्ने अदालतको तयारी छ ।

प्रकाशित : जेष्ठ १८, २०८० १८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?