नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध आवश्यक परे सडकबाट प्रतिवाद गर्छौं : रास्वपा

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रपति रामचन्द्र पौडेलले संसद्लाई छलेर असंवैधानिक रूपमा प्रमाणीकरण गरेको नागरिकता विधेयकविरुद्ध आवश्यक परेमा सडकबाट प्रतिवाद गर्ने चेतावनी दिएको छ । 

नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध आवश्यक परे सडकबाट प्रतिवाद गर्छौं : रास्वपा

रास्वापका महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले बिहीबार विज्ञप्ति जारी गर्दै राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयकविरुद्ध सदन र आवश्यक परे सडकबाट सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन् । 'लोकतान्त्रिक पद्धति नाघेर प्रमाणीकरण भएको यो नागरिकता विधेयकको हामी सदन र आवश्यक परे सडकबाट समेत सशक्त प्रतिवाद गर्ने चेतावनी दिन चाहन्छौं,' विज्ञप्तिमा उल्लेख छ ।

अघिल्लो संसद्बाट दुई पटक पास भएर तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको विधेयक राष्ट्रपति पौडेलले बुधबार प्रमाणीकरण गरेका थिए । संविधानले दुई पटक संसद्बाट पारित भएको विधेयक १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने व्यवस्था गरेकोमा तत्कालीन राष्ट्रपति भण्डारीले निर्णय गरेकी थिइनन् । त्यो १५ दिनभित्र प्रमाणीकरण नभए के गर्ने भन्ने संवैधानिक व्यवस्था नै नहुँदा भने राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को निर्णयलाई आधार मानेर प्रमाणीकरण गरेका हुन् ।

त्यसरी विधेयक प्रमाणीकरण गरेकोमा रास्वपाले आपत्ति जनाएको छ । संसद्मा छलफल नगरी 'राष्ट्रपतिबाट विवादास्पद नागरिकता विधेयक प्रमाणीकरण गरिएको' रास्वपाको भनाइ छ ।

'संविधानको धारा ११३ अनुसार १५ दिनभित्र राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण नभएपछि पनि उक्त विधेयक जीवित रहने भन्ने कुनै संवैधानिक व्यवस्था नभएको अवस्था र चुनावबाट नयाँ जनप्रतिनिधिहरू संसद्मा आइसकेको सन्दर्भमा सोही विधेयकलाई पुनः प्रमाणीकरणका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने मन्त्रीपरिषद्को निर्णय गैर संवैधानिक मात्र नभई नवगठित प्रतिनिधिसभाको कानुन निर्माण गर्ने कार्यक्षेत्रमा समेत ठाडो हस्तक्षेप हो,' रास्वपाले भनेको छ ।

प्रकाशित : जेष्ठ १८, २०८० १८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?