कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आइएलएसबाट भैरहवामा जहाज अवतरण गराउन भारतको सहमति

दुई तर्फी हवाई रुट थप्ने विषयमा भारतसँग सहमति हुन सकेन
सुरज कुँवर

काठमाडौँ — भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जडित उपकरणमा आधारित अवतरण प्रणाली सञ्चालनमा रहेको ‘अवरोध’ भारतले हटाइदिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको दिल्ली भ्रमणका क्रममा जहाज अवतरण गराउँदा आवश्यक पर्ने अत्याधुनिक ‘इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम’ (आईएलएस) सञ्चालनका लागि भारतले ‘स्वीकृति’ दिएको हो ।

आइएलएसबाट भैरहवामा जहाज अवतरण गराउन भारतको सहमति

नेपालले प्राथमिकता राखेको दुईतर्फी हवाई रुट थपका विषयमा भने सहमति हुन सकेन ।

भारतीय समकक्षीसहित दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहालले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जडान गरिएको आईएलएस सञ्चालनका लागि भारतले दिएको अनुमतिको प्रशंसा गरे । ‘उडान सञ्चालनको सुरक्षा तथा दक्षता अभिवृद्धि गर्न एआईपी (एरोनटिकल इन्फरमेसन पब्लिकेसन) मा आईएलएसको कार्यविधि प्रकाशन गरेर गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिकै सीमावर्ती उडान सञ्चालनका लागि भारतले दिएको स्वीकृतिको हामी प्रशंसा गर्छौं,’ पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहालले भने ।

एक वर्षअघि बुद्ध जयन्तीका दिन उद्घाटन गरिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जडान गरिएको आईएलएस ‘एयरर्‍याक’ मा प्रकाशन नभएका कारण खराब मौसममा अन्तर्राष्ट्रिय विमान अवतरण हुन सकिरहेका थिएनन् । खराब मौसम सामना गर्न नसकेर कुवेतको जजिरा एयरवेज भैरहवा स्थगन गर्दै आफ्ना उडान काठमाडौंतर्फ मोड्न बाध्य भएको थियो भने भैरहवा जान इच्छुक अन्तर्राष्ट्रिय वायु सेवा हच्किएका थिए ।

आईएलएसभित्र पनि जहाज अवतरण गराउने ५ वटा प्रणाली छन् । भैरहवामा पहिलो नम्बरको ‘क्याट–वान’ प्रणाली रहेको छ । यो लागू भएपछि जहाजलाई ८ सय मिटरसम्मको भिजिबिलिटीमा अवतरण गराउन सकिन्छ । अहिले भैरहवामा खराब मौसम हुँदा जहाजलाई सिमरातर्फबाट अवतरण गर्न २२ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ ।

नेपालबाहिरबाट आउने जहाज सिमराबाट भरतपुरको आकाश हुँदै भैरहवा जाने हवाई मार्ग बनाइएको छ । सिमराबाट यो २० देखि २४ मिनेटको हवाई दूरीमा रहेको छ । भौगोलिक कठिनाइ र महँगो पर्ने भएकाले आईएलएस प्रणाली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रयोगमा ल्याइएको छैन । ५ महिनाअघि पोखरामा सञ्चालनमा ल्याइएको अन्तर्राष्ट्रिय विमानस्थलमा पनि आईएलएस प्रणाली जडान गरिएको छ । तर, त्यहाँ डाँडा भएकाले जहाजलाई अवतरण गर्न भैरहवाको दाँजोमा १६ सय मिटर बढी अर्थात् न्यूनतम ३८ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ ।

प्रधानमन्त्री दाहालको भारत भ्रमणमा काठमाडौंबाट महेन्द्रनगर हुँदै दिल्ली निस्किने हवाई रुट (लिमा ६२६) लाई दुईतर्फी बनाउनुपर्ने मागलाई प्राथमिकता दिइएको थियो । भ्रमणमा सहभागी एक उच्च अधिकारीका अनुसार यसमा भारतले सहमति दिइसकेको छैन । बरु ७०–९० यात्रु क्षमताका मझौला जहाजलाई क्षेत्रीय उडान गर्न दिन भारत सहमत भएको छ ।

अन्तर्राष्ट्रिय उडान नेपाल प्रवेश गर्ने सिमरा रुट अत्यधिक व्यस्त भएकाले भैरहवा र महेन्द्रनगर रुटलाई दुईतर्फी सञ्चालन गर्न नेपालले भारतको सहमति खोजेको थियो । ‘कम्तीमा महेन्द्रनगर रुटका विषयमा ब्रेक थ्रु गरौं भन्ने हाम्रो अडान थियो तर त्यसमा समझदारी हुन सकेन,’ प्रधानमन्त्री दाहालका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले दिल्लीमा कान्तिपुरसँग भने, ‘तर, लो अल्टिच्युड (१५ हजार फिटभन्दा तल) उडानका लागि भारतबाटै प्रस्ताव आएको छ, त्यो पनि सकारात्मक हो ।’ यो समझदारीअनुसार भैरहवा र नेपालगन्जबाट भारतको लखनउ र दिल्लीसम्म अन्तरदेशीय उडान गर्न सकिनेछ । खासमा अहिले प्रचार गरिए पनि सन् २०१८ मा यस्तै सहमति भएको थियो । त्यति मात्र होइन, नेपालगन्जबाट बुद्ध एयरले दिल्लीसम्मको उडानको तयारी गरेको थियो । तर, पछि भारत नै यो विषयमा पछि हटेपछि बुद्धले सीमावर्ती सहरहरूमा क्षेत्रीय उडान गर्न पाएन ।

अतिरिक्त हवाई रुटका लागि भारतसँग प्रस्ताव राखिएको प्रधानमन्त्री दाहालको भनाइ छ । ‘हाई अल्टिच्युड एयर रुटका लागि हामीले भारतसँग आग्रह गर्दै आएका छौं । यसमा उसको सकारात्मक प्रतिक्रिया छ । अझ महेन्द्रनगर रुटमा जतिसक्दो छिटो सहमति होस् भन्ने हाम्रो चाहना छ,’ उनले भने, ‘नेपाल भैरहवा र पोखरामा बनेका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका विभिन्न सहरमा नियमित उडान गर्न चाहन्छ ।’

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भने पत्रकार सम्मेलनमा उड्डयनसम्बन्धी प्रसंग उठाएनन् । हवाई रुटमा सहमति नभए पनि गौतम बुद्ध विमानस्थलबाट अब अन्तर्राष्ट्रिय उडान निर्बाध हुने बाटो खुलेको नेपाली अधिकारीहरूको भनाइ छ । गौतम बुद्ध विमानस्थलमा स्थापित आईएलएस सञ्चालनमा भारतको असहमति थियो, यसको ‘बफर–एरिया’ भारतीय वायु क्षेत्रमा परेकामा भारतीय उड्डयन अधिकारीहरूको चासो थियो । ‘अब आईएलएस चलाउने भनेर दुई पक्षबीच स्पष्ट सहमति भएको छ,’ नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले भने, ‘भैरहवामा अब कुनै पनि मौसममा सुरक्षित हवाई उडान र अवतरण गराउन अब समस्या छैन । यो ठूलो उपलब्धि हो ।’

प्रकाशित : जेष्ठ १८, २०८० २२:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?